प्रचण्ड एक ‘डाइनामिक’ नेता, यसकारण देशलाई अझै आवश्यक छ

नेता आफैँ बन्दैन । यो इतिहासले निर्माण गर्छ । नेपालमा पनि यस्तै भएको छ । अहिले प्रतिस्पर्धी दलको काम माओवादीको ईर्ष्या, डाहा र आलोचना मात्र भएको छ । उनीहरू खाली माओवादी केन्द्र र यसका प्रमुख नेता प्रचण्डको आलोचना गरेर कुरा सुरु गर्छन्, अनि आलोचना गरेरै टुङ्ग्याउँछन् ।

Sep 26, 2024 - 13:01
 0
प्रचण्ड एक ‘डाइनामिक’ नेता, यसकारण देशलाई अझै आवश्यक छ

यतिबेला विश्वका नेताहरू अमेरिकाको न्यूयोर्कमा जुटिरहेका छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन विश्वका नेताहरू त्यहाँ पुगेका हुन् ।

गत वर्ष (सन् २०२३) सेप्टेम्बर १७ देखि २१ सम्म तत्कालिन प्रधानमन्त्रीकारुपमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको प्रतिनिधि मण्डलले राष्ट्रसङ्घको ७८ औं महासभामा सहभागिता जनाएको थियो । सो क्रममा प्रचण्डबाट विभिन्न फोरमहरूमा ओजपूर्ण सम्बोधनका साथै अन्तिममा सेप्टेम्बर २१ मा आयोजित संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय सत्रलाई सम्बोधन गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय सत्रलाई सम्बोधन गरिरहँदा विश्वभरबाट सभामा जुटेका विभिन्न देशका सरकार प्रमुखले प्रचण्डलाई नेपालको विकास र समृद्धिका लागि दृढ इच्छाशक्ति र भिजन भएका एक राजनेताका रूपमा बुझिसकेका थिए । त्यसो त उक्त सत्रलाई सम्बोधन गर्दासम्म विश्वका धेरैजसो प्रमुख नेतासँग प्रचण्डको नजिकको सम्बन्ध स्थापित भइसकेको थियो ।

माओवादी जनयुद्धका सर्वोच्च कमाण्डरका रूपमा नेपालमा १० वर्ष जनयुद्धको नेतृत्व गरेका अध्यक्ष प्रचण्डको शान्ति सम्झौतापछि संविधानसभा चुनावबाट सबैभन्दा ठूलो दलको नेता बनेपछि सन् २००८ मा गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको हैसियत बन्यो ।

यसपछि सन् २०१६ मा दोस्रो र सन् २०२२ को अन्तिममा तेस्रोपटक नेपालको प्रधानमन्त्री बन्दासम्म प्रचण्डलाई नचिन्ने सायद विश्वका कुनै नेता थिएनन् । क्रान्ति र शान्तिको नेतृत्व गर्दै नेपालमा सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना सम्भव तुल्याएका प्रचण्डले गत वर्ष नेपालको प्रधानमन्त्रीका रूपमा जसरी विश्व मञ्चमा अतिकम विकसित राष्ट्रहरूको अध्यक्षका रूपमा विकसित राष्ट्रहरूले विश्वभरि गरिरहेको अत्याचारविरुद्ध आवाज उठाए, त्यसले सिङ्गो विश्वको ध्यान मात्रै तानेन, प्रचण्डलाई विश्वकै दुर्लभ भिजनरी नेताका रूपमा उभ्यायो ।

यसको पुष्टि त प्रचण्डले महासभामा गरेको सम्बोधनको एक महिनामै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आएर प्रचण्डले उठाएका विषयको दृढ समर्थन गर्दै विश्वकै भिजनरी नेताका रूपमा स्वीकार गरेबाट स्पष्ट हुन्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव नेपाल आएर अध्यक्ष प्रचण्डसँगै सगरमाथा क्षेत्रको भ्रमण गरी जलवायु परिवर्तनको असरबाट नेपाललाई पुगेको क्षतिबारे विश्वलाई दिएको जानकारी एवम् बुद्ध जन्मस्थल लुम्बिनीबाट सँगै दिएको विश्व शान्तिको सन्देश नेपालका लागि धेरै दूरगामी महत्त्वको छ ।

नेपालका तत्कालीन प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले नेपालबाट संयुक्त रूपमा दिएको सन्देश विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट सार्वजनिक भएपछि नेपालस्थित विभिन्न देशका राजदूतहरूबीच चर्चासमेत भएछ— देश गरिब भए पनि नेपालले नेता भने साँच्चिकै धेरै उचाइको पाएको छ ।

धेरै राष्ट्रका राजदूतहरूले अध्यक्ष प्रचण्डलाई दक्षिण एसियाकै सबैभन्दा ‘डाइनामिक’ नेताको रूपमा चित्रण गरेको कुरा कुटनीतिक वृत्तमा व्यापक चर्चाको विषय नै बनेको थियो ।

नेपाली राजनीतिको अहिलेको वास्तविकता भनेको अध्यक्ष प्रचण्डको अनिवार्यता हो । प्रचण्डको अगुवाइमा जनयुद्ध नभएको भए देशमा अहिलेसम्म लोकतान्त्रिक गणतन्त्र सम्भव नै थिएन । अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जन्मदाता अध्यक्ष प्रचण्ड नै हुन् ।

आफ्नै नेतृत्वमा स्थापित भएको यो व्यवस्थाको प्रचण्डलाई जत्तिको माया अरु कसैलाई हुन सक्दैन । यो यथार्थलाई माओवादीका कट्टर विरोधी राजावादीदेखि राजतन्त्रात्मक संविधान र व्यवस्था नै ठीक हो भन्ने संसद्वादी दलसम्म सबैले बुझेका छन् । कतिपयले त जसले गणतन्त्र ल्याउन भूमिका खेल्यो, त्यसैलाई पाखा लगाउन सकियो भने फेरि पुरानै व्यवस्था फर्काउन सकिन्छ भन्ने सपना पनि बुनेका छन् । तर, त्यो पूरै असम्भव छ ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका रूपमा पहिलो र दोस्रो कार्यकालमा नौ–नौ महिना र तेस्रो कार्यकालमा १८ महिनाको कार्यलाई हेर्ने हो भने छोटै अवधिमा पनि देशका लागि धेरै महत्त्वपूर्ण काम भएका छन् । अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा देश चरम आर्थिक सङ्कटमा थियो । नेपाल छिट्टै श्रीलंका जस्तै बन्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो । प्रचण्डले प्रधानमन्त्रीका रूपमा सबै समस्यालाई समाधान गरेर सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा काफी सुधार गरे । सधैँ घाटामा गएका सार्वजनिक संस्थान पनि व्यवस्थापनमा सुधारपछि नाफामा गए । त्यस अवधिमा नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम जस्ता सार्वजनिक संस्थान नाफामा गएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, अवैध सुन बरामद प्रकरणलगायतका भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कानूनी कठघरामा उभ्याइयो । तेरो र मेरो नभनी धमाधम भ्रष्टाचारका फाइलहरू खोलियो ।

विदेशमा रहेका नेपाली र देशभित्रको अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरियो । विद्यार्थीले धेरै वर्षदेखि समयमै पाठयपुस्तक नपाउने समस्या बेहोर्दै आएका थिए, तर, प्रचण्डका पालामा देशभरिका ५५ लाख विद्यार्थीका लागि समयअगावै पाठ्यपुस्तक हातमा पुग्यो । किसानका लागि समयमै रासायनिक मलको प्रबन्ध भयो । सरकारी अस्पतालमा विपन्न र असहाय नागरिकका लागि २८०० निःशुल्क शैय्या छुट्टाइयो । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवाप्रवाह कार्यालयका लामा–लामा लाइनको अन्त्य भयो ।

यसैगरी मिटरब्याज पीडित किसानका समस्या सम्बोधन गर्न कानून निर्माण गरी आयोग गठन गरियो । सयौं रोपनी जग्गा पीडितलाई फिर्ता गराइयो । मिटरब्याजीहरू कारबाहीमा परे । जलविद्युत्को क्षेत्रमा उल्लेख्य प्रगति भयो । नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भयो । नेपालले भारतलाई बिजुली बेचेर पैसा कमाउन थाल्यो । नागरिकताविहीन लाखौं नेपालीले नागरिकता प्राप्त गर्नेगरी कानून निर्माण गरियो ।

गैरआवासीय नेपालीहरूका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरियो । शान्ति सुरक्षासम्बन्धी कार्यमा खर्च हुँदै आएको सुराकी भत्तासहितका अनावश्यक खर्च हटाउने जस्ता सयौं काम भए ।

त्यसो त यसअघि प्रचण्डको दोस्रो कार्यकालमा देशमा भइरहेको १८ घण्टे लोडसेडिङ अन्त्य, इतिहासमै सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल तथा बृद्धभत्ता शतप्रतिशत बढाउनेलगायतका धेरै काम भए भने पहिलो कार्यकालमा गरिब साना किसानको ऋण मिनाहा, पूर्व–पश्चिम पुष्पलाल लोकमार्ग निर्माणको थालनीलगायतका काम भएका थिए ।

‘आफूले कुनै पनि गलत काम नगर्ने, देश र जनताको हितमा मात्रै काम गर्ने र भ्रष्टाचार र गलत काम गर्नेलाई कारबाही गराएरै छाड्ने’ प्रतिबद्धतासहित तेस्रो पटकको कार्यकाल सम्हालेका अध्यक्ष प्रचण्डलाई बिचौलिया र भ्रष्टाचारीहरूकै योजनामा मध्यरातमा कांग्रेस र एमालेबीच गठबन्धन गराएर सत्ताबाट हटाइयो । तर, यस अवधिको प्रचण्डको कार्यकाल देश र जनताको पक्षमा ऐतिहासिक रह्यो । यसबाट उनले एक कार्यकालको पूरै अवधि अर्थात् पाँच वर्ष लगातार सरकारको नेतृत्व गर्न पाउने हो भने देशकै मुहार फेरिन सम्भव छ भन्ने कुरा नेपाली जनताले मात्रै होइन, विश्वले नै बुझ्ने मौका पायो ।

आज अखबारमा लेख लेख्ने बुद्धिजीवी, सेमिनारमा प्रवचन दिने व्यक्ति, देशको भविष्यको चिन्ता गर्ने युवा, दुःख, सुख जीवनयापन गरेका गाउँले किसानदेखि बजारका चिया पसल र गाउँका चौतारीमा भेट भएका सबैले कुरा गर्ने व्यक्ति भनेको प्रचण्ड नै हो । उनीहरूले भ्रष्टाचारीलाई कारबाही गरेकै कारण प्रचण्डलाई हटाएर भ्रष्टाचारीलाई जोगाइएको कुरा राम्रैसँग बुझेका छन् । देशमा बेथिति बढ्नुमा अरु नेताको भूमिका भए पनि प्रचण्डको त्यस्तो भूमिका छैन भन्नेमा उनीहरू स्पष्ट छन् । समर्थक मात्रै होइन बाहिर देखाउँदा आलोचना गर्ने समूह पनि विश्वस्त छ कि– यो देश बनाउने सामर्थ्य भने प्रचण्डसँग मात्र छ ।

अर्थात् आलोचना भएपनि प्रचण्डसँग जनताका अत्यन्त धेरै अपेक्षा छन्, ती पूरा नहुँदा जनतामा जुन चिन्ता देखिएका छन्, ती स्वाभाविकै हुन् । जनता, शुभचिन्तक र आफ्ना विरोधीहरू समेतबाट आउने सकारात्मक आलोचनालाई सधैँ स्वागत गर्ने र गल्ती स्वीकार गरिहाल्ने बानीका कारण पनि प्रचण्डको आलोचना हुन्छ । प्रचण्डमा जस्तो गतिशीलता नेपालका कुनै नेतामा देखिँदैन । माओवादी केन्द्रबाहेक अन्य दलका कार्यकर्तासमेत आफ्नै नेताप्रति विश्वस्त छैनन्, जति प्रचण्डसँग छन् । केही वर्षअघि कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीका नेताप्रति कटाक्ष गर्दै भनेका थिए — हाम्रो पार्टीको भूमिका प्रचण्डले दिएको होमवर्क गर्नुमै सीमित रहेको छ ।

नेपालमा शान्ति सम्झौता भएपछिका पछिल्ला १८ वर्ष र त्यसभन्दा पहिले १० वर्ष गरी विगत २८ वर्षयता नेपालको राजनीति अध्यक्ष प्रचण्डकै वरिपरि घुमिरहेको छ । चाहे जनगणतन्त्र स्थापनाका लागि सञ्चालन गरिएको जनयुद्धका प्रमुख योजनाकार र सफल कमाण्डरका रूपमा होस्, चाहे गणतन्त्र स्थापनापछि नयाँ नेपाल निर्माण अभियानका प्रमुख नेताका रूपमा होस्, चाहे माओवादी र एमालेबीच एकता गरेर निर्माण गरेको पार्टी नेकपाबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले दुई दुईपटक संसद् विघटन गरेर संविधान मास्ने षड्यन्त्र गर्दा त्यसविरुद्ध सङ्घर्ष गरेर सफलता हासिल गर्दा होस्, प्रचण्डले नै सिङ्गो देशको नेतृत्व गर्दै आएको कुरा घामझैँ छर्लङ्ग छ ।

प्रचण्डको विचारमा दृढता र कार्यनीतिक लचकता, कुशल कार्यक्षमता, गतिशीलता एवम् दुरदर्शीताका कारण नेपालमा २४० वर्षदेखि शासन गर्दै आएको सामन्ती राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा सम्भव भएको हो । प्रचण्डले ०५७ सालमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमार्फत मालेमावादी सिद्धान्तलाई थप विकास गर्ने, जनयुद्ध र जनआन्दोलनको फ्युजन गर्दै अघि बढ्ने कार्यदिशा एवम् अन्तरिम सरकार, संविधानसभा र गणतन्त्रको कार्यनीति नल्याएको भए सायद नेपालमा यति छिटो यसखाले परिवर्तन सम्भव नै थिएन ।

नेपालको यो परिवर्तन कुनै चानचुने होइन । नेपालको इतिहासमै आजसम्म भएका परिवर्तनमध्ये लोकतान्त्रिक गणतन्त्र, सङ्घीयताको घोषणा अभूतपूर्व परिवर्तन हो । यो प्रचण्डको दूरदर्शिता र गतिशीलताका कारण सम्भव बनेको हो । यसैगरी अन्य राजनीतिक शक्ति, राज्य र गैरसरकारी संस्थाहरूले खर्बौं डलर खर्चेर दशकौंसम्म ल्याउन नसकेको अभूतपूर्व सामाजिक चेतना पनि प्रचण्डले नेतृत्व गरेको माओवादी जनयुद्धले एक दशकमै ल्याइदिएको यथार्थता हामीले स्वीकार्नैपर्छ।

राज्यद्वारा पछाडि पारिएका महिला, अल्पसङ्ख्यक, दलित, मधेशी, मुस्लिम, आदिवासी, जनजातिलगायतका समुदायमा राजनीतिक चेतनाको उभार आयो, जुन आन्दोलन पनि प्रचण्डकै नेतृत्वमा भएको थियो । अब यही व्यवस्था र संविधानमा टेकेर समाजवादको यात्रा अगाडि बढाउन सकिन्छ ।

हो, नेता भनेको आफैँ बन्दैन । यो इतिहासले निर्माण गर्छ । नेपालमा पनि यस्तै भएको छ । कुशल नेतृत्व भन्ने कुरा आन्दोलनले जन्माउने हो । यो कसैको चाहनाले हुने कुरा पनि होइन । देशको आवश्यकता र आन्दोलनको विकासबाट अहिले नेपालले प्रचण्डलाई पाएको छ । सिद्धान्त र विचारमा दृढता तर व्यवहारमा लचकता प्रचण्डको विशेषता हो । प्रचण्ड कहिल्यै ’मेरै गोरुको बाह्रै टक्का’ भनेर अडान कसेर बसेको देखिँदैन । प्रचण्डमा अरुका पनि कुरा सुन्ने र जे सही हो त्यसैका पक्षमा निर्णय लिने क्षमता छ । झन्डै पाँच दशक लामो आन्दोलनबाट खारिएका प्रचण्ड जस्ता राजनेता पाउनु हामी सबै नेपालीका लागि गर्वको कुरा हो ।

अहिले हामी सबैले देखिरहेका छौँ, अन्य प्रतिस्पर्धी दलका शीर्ष नेतामा देशलाई अगाडि बढाउने कुनै नयाँ नीति, कार्यक्रम र दृष्टिकोण नै छैन । कांग्रेस–एमाले आफूलाई ठूला भन्ने पार्टी माओवादीविरुद्ध गठबन्धनमा छन् । उनीहरूलाई ठूलो डर के छ भने आगामी निर्वाचनसम्म कतै आफूहरू बढारिने त होइन । त्यसैले ती पार्टीका नेताहरूको अधिकांश समय माओवादीविरुद्ध आरोप लगाउनमै बितिरहेको छ । उनीहरू खाली माओवादी केन्द्र र यसका प्रमुख नेता प्रचण्डको आलोचना गरेर कुरा सुरु गर्छन्, अनि आलोचना गरेरै टुङ्ग्याउँछन् । प्रतिस्पर्धी दलका शीर्ष नेताका काम माओवादीको ईर्ष्या, डाहा र आलोचना मात्र भएको छ, अहिले । उनीहरूसँग आफ्नो मौलिक कुरा भन्ने नै छैन ।

अध्यक्ष प्रचण्डको व्यक्तित्व क्षमताबारे चर्चित भारतीय प्रत्रकार अरबिन्द रोयले आफ्नो पुस्तकमा लेखेका छन्, “नेपालमा राष्ट्रियताका सम्बन्धमा दरिलो अडान राख्न सक्ने समकालीन नेता प्रचण्ड मात्र हो, प्रतिस्पर्धी दलका नेता आफूलाई प्रधानमन्त्री बनाइदेउ भनेर बिन्तीपत्र हाल्न गएको समयमा प्रचण्डले चीन, नेपाल र भारतबीच त्रिर्देशीय साझेदारीको प्रस्ताव गरे । जुन कुरा अहिलेसम्म कुनै पनि नेताले उठाउने हिम्मत गरेका थिएनन् । प्रचण्ड आफ्नै मौलिक पहिचान भएका राष्ट्रवादी नेता हुन् । पृथ्वी नारायण शाह, विश्वेश्वरप्रसाद कोइराला, मदन भण्डारी जस्तै बेग्लै र मौलिक पहिचान बोकेको नेपालका नेता । कतिपय सामान्य कमि कमजोरीका बाबजुद समकालीन नेपाली राजनीति र देशको निर्विकल्प नेताका रूपमा अध्यक्ष प्रचण्डलाई सबैले स्वीकारेको अवस्था छ ।“

सङ्घीय लाकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गरी समाजवाद निर्माणको आधार तयार पार्ने माओवादी केन्द्र र यस पार्टीका अध्यक्ष प्रचण्डको योजना कार्यान्वयन हुन सक्दा मात्रै यो देश बन्न सक्छ । देश बनाउने सपना पूरा गर्न फेरि एक पटक सिङ्गो देश माओवादी र प्रचण्डमय बन्न जरुरी छ ।

(लेखक नेकपा माओवादी केन्द्रका नेता हुन् )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register