कस्तो देश हो लेबनान ? किन भइरहेको छ इजरायल-हिज्बुल्लाह युद्ध ?

पछिल्लो पटक हमास-इजरायल युद्ध सुरु भएसँगै यसमा लेबनान र हिज्बुल्लाह पनि जोडिने अड्कल काटिएको थियो । नभन्दै त्यस्तै भयो । हिज्बुल्लाह-इजरायल युद्ध प्रारम्भदेखि नै प्यालेस्टाइनको कारणले सृजित थियो । अहिले पनि त्यो नियति कायमै छ ।

Sep 26, 2024 - 13:37
 0
कस्तो देश हो लेबनान ? किन भइरहेको छ इजरायल-हिज्बुल्लाह युद्ध ?

काठमाडौं । हमास-इजरायल युद्ध अब इजरायल-हिज्बुल्लाह युद्धमा विस्तार भएको छ । लेबनान अर्को गाजा बन्दैछ । यसले अरब क्षेत्र र विश्व शान्तिमा नयाँ चुनौती खडा गरेको छ । गाजा युद्धको विस्तारले विश्व समुदाय चिन्तित छ ।

सन् २०२३ अक्टोबर ७ मा पछिल्लो हमास-इजरायल युद्ध सुरु भएको थियो । यो युद्धसँगै लेबनान र हिज्बुल्लाह कुनै न कुनै रूपमा जोडिँदै आएको थिए । तर, लेबनानमाथि सेप्टेम्बर २३ को इजरायली आक्रमणपछि स्थिति अझै बिग्रेको छ ।

साढे पाँच सयभन्दा बढीको मृत्यु हुनेगरी भएको इजरायली कारबाहीपछि हिज्बुल्लाहले पनि इजरायलमाथि बारम्बार शक्तिशाली मिसाइल आक्रमण गर्दैछ । पछिल्ल्लो गाजा युद्धयता हिज्बुल्लाहले इजरायलमा ९ हजारभन्दा बढी मिसाइल आक्रमण गरी करिब ७० हजार इजरायलीलाई घरबारविहीन बनाएको छ ।

हिज्बुल्लाह सन् १९८५ मा गठन भएको सिया मुस्लिमको एक राजनीतिक दल तथा लडाकु सङ्गठन हो । यो इरान समर्थित समूह हो । इरानको सन् १९७९ को इस्लामिक क्रान्तिलाई यसले आदर्श मान्दछ । साथै इरानी धार्मिक नेता आयतुल्ला रोहल्ला खुमेनीले निर्माण गरेको विचार र प्रणालीलाई अनुसरण गर्ने प्रयत्न गर्दछ ।

सन् १९८२ मा इजरायलले लेबनानमा हस्तक्षेप गरेपछि त्यसको प्रतिकार गर्न हिज्बुल्लाह जन्मेको थियो । सिया मुस्लिम धर्मगुरु र कुलिनहरूले यो सङ्गठन जन्माएका थिए ।

विरोधी देशहरूले हिज्बुल्लाहलाई एक आतङ्कवादी तथा इरानको कठपुतली सङ्गठन भन्ने गर्दछन् । यो द्वन्द्वको बिउ भने हिज्जुबुल्लाहको जन्म हुनु धेरै अघि रोपिएको थियो । इजरायल र प्यालेस्टाइनजस्तै लेबनान आफैँमा एक जटिल इतिहास भएको देश हो ।

पहिलो विश्वयुद्धअघि लेबनान अट्टोमान साम्राज्यको हिस्सा थियो । पहिलो विश्वयुद्धमा धुरी राष्ट्रहरूको पराजयपछि अट्टोमान साम्राज्यको पतन भयो । बेलायत र फ्रान्सले अट्टोमान साम्राज्यलाई नयाँ ढङ्गले रेखाङ्कन, बाँडफाँट र अधीनस्थ गरे । लेबनान सिरियाभित्र पर्‍यो र फ्रान्सको उपनिवेश बन्यो ।

अब सिरिया र लेबनानले सँगसँगै फ्रान्सेली साम्राज्यबाट मुक्तिको सङ्घर्ष गर्न थाले । तर, यो प्रयास दोस्रो विश्वयुद्धपछि मात्र सफल भयो । सन् १९४३ मा फ्रान्सले लेबनानको स्वतन्त्रता स्वीकार गर्‍यो तर, यो सिरियाबाट विभाजित गरी भिन्नै देश बनाइने भयो ।

यसको कारण भने अरब क्षेत्रमा इसाई राज्य स्थापना गर्नु थियो । ठीक त्यसरी नै जसरी इजरायल स्थापनाको उद्देश्य अरब क्षेत्रमा यहुदी राज्य स्थापना गर्नु थियो । त्यतिखेरको जनसाङ्ख्यिक बनोटमा लेबनानमा मुस्लिमभन्दा इसाई जनसङ्ख्या बढी र बहुमतमा थियो ।

सन् १९४८ मा फ्रान्सेली सेनाको अन्तिम टुकडीले लेबनान छोड्यो । सामुदायिक सन्तुलनको आधारमा त्यहाँको राजनीतिक प्रणाली कल्पना गरियो । राष्ट्रपति इसाई, सभामुख सिया मुस्लिम, प्रधानमन्त्री सुन्नी मुस्लिम, उपसभामुख र उपप्रधानमन्त्री ग्रिसेली समुदायको हुनुपर्ने प्रावधान बनाइयो ।

लेबनान १० हजार ४५२ वर्गकिमि क्षेत्रफल भएको एक सानो देश हो । जनसङ्ख्या करिब ५३ लाख छ । स्वतन्त्रतापछिको पहिलो दशकमा लेबनानले राम्रो आर्थिक उन्नति गरेको थियो । तर, जनसाङ्ख्यिक परिवर्तन सँगसँगै नयाँ राजनीतिक तनाव र युद्धहरू देखिन थाले । छिमेकको प्यालेस्टाइन-इजरायल तनावले लेबनानलाई प्रभावित गर्‍यो ।

लेबनानमा १९५६ सम्म ५६ प्रतिशत क्रिश्चियन र ४४ प्रतिशत मुस्लिम नागरिक थिए । अहिले ठीक उल्टो ६८ प्रतिशत मुस्लिम र ३२ प्रतिशत मात्र क्रिश्चियन जनसङ्ख्या छ । पछिल्ला केही दशकमा त्यहाँ जनगणना गरिएको छैन । तर, १९९० यता सिया मुस्लिम जनसङ्ख्याको बहुमतमा पुगेको हुनसक्ने अनुमान छ ।

लेबनानमा प्यालेस्टाइनी शरणार्थीको ठूलो सङ्ख्या छ । ती सबै शरणार्थी शिविरमा बस्दैनन् । समाजमा घुलमिल हुन्छन् । यस कारणले पनि लेबनानमा जनसाङ्ख्यिक परिवर्तन हुन मद्दत पुगेको छ । अहिले २ लाखभन्दा बढी प्यालेस्टाइनी शरणार्थी लेबनानमा छन् ।

सन् १९५८ पछि सुन्नी समुदाय लेबनानको राजनीतिमा प्रभावी हुन थालेको थियो । मुस्लिम नेता अरब लिगको सदस्य हुन चाहन्थे भने इसाई राष्ट्रपति क्यामिले चामोन अमेरिका नजिक हुन चाहन्थे । विद्रोहको सम्भावना बढ्दै गएपछि राष्ट्रपति चामोनले अमेरिकी सेना भित्र्याए । त्यसपछिका दिनमा लेबनानको राजनीति झनै बिग्रियो ।

इजरायलसँगको युद्धका कारण प्यालेस्टाइनी शरणार्थी लेबनानमा थुप्रिँदै गए । त्यहीबाट इजरायल विरोधी गतिविधि हुन थाले । तसर्थ, इजरायल लेबनानमाथि आक्रमण गर्न बाध्य भयो । सन् १९८२ मा इजरायलले लेबनानका केही भाग कब्जा गरेको थियो । यसैको प्रतिरोध गर्न हिज्बुल्लाहको जन्म भएको हो ।

पछिल्लो पटक हमास-इजरायल युद्ध सुरु भएसँगै यसमा लेबनान र हिज्बुल्लाह पनि जोडिने अड्कल काटिएको थियो । नभन्दै त्यस्तै भयो । हिज्बुल्लाह-इजरायल युद्ध प्रारम्भदेखि नै प्यालेस्टाइनको कारणले सृजित थियो । अहिले पनि त्यो नियति कायमै छ ।

हिज्बुल्लाहले युद्ध संलग्नतालाई हमास र प्यालेस्टाइनी जनताको समर्थन तथा सहयोग मान्ने गरेको छ । तर, हिज्बुल्लाह खासमा अरब क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्न चाहन्छ । साथै अरब राजनीतिमा सिया शक्ति र गठबन्धनलाई बलियो बनाउन चाहन्छ ।

इरान, सिरिया र लेबनान यी तीन देशलाई ‘सिया शक्ति गठजोड’ (सिया पावर कोलिसन) मानिन्छ । सिया समुदायको इसाई र यहुदीसँग मात्र हैन, सुन्नी मुस्लिमसँग पनि प्रतिस्पर्धाको भावना छ । उनीहरू अरब क्षेत्रमा सिया शक्तिको विस्तार चाहन्छन् ।

त्यसको मुख्य केन्द्र भने तेहरान नै हो । दमास्कस र बेरुत तेहरानका सहयोगी शक्ति हुन् । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा सिया शक्ति सङ्गठित र स्थिर भएको छ तर, चुनौतीहीन भने छैन । इरान आफैँ अनेक समस्या बीच गुज्रिरहेको छ ।

हमास नेता इस्माइल हनियालाई इजरायलले तेहरानको अतिथि भएको अवस्थामै मारेको थियो । अरब क्षेत्रको सामुदायिक द्वन्द्व र शक्ति सङ्घर्षमा लेबनान र सिरियाले ठूलो मूल्य चुकाएका छन् । ती दशकौंदेखि अस्थिर, युद्धग्रस्त र लडाका देश बनेका छन् ।

यी पनि पढ्नुहोस :

लेबनानमै घुसेर आक्रमण गर्ने इजरायलको तयारी

दोस्रो गाजा बन्दै लेबनान

डिभाइस बम आक्रमणपछिको लेबनान : अधिकांश घाइतेले गुमाए औंला, मोबाइल नजिक जान डराउँछन् नागरिक

लेबनानमा कसरी विस्फोट भए हजारौं पेजर ? ६ प्रश्नोत्तरबाट बुझ्नुहोस् घटनाक्रम

हिजबुल्लाह के हो ? यसका लक्ष्यहरू के के हुन् ?

हिजबुल्लाह : ‘इजरायलको सबैभन्दा कडा प्रतिद्वन्द्वी’ अहिले कति शक्तिशाली ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register