लेबनानमा ५ हजार बढी कामदार, लडाइँ चर्किँदा फर्कने कि नफर्कने भन्ने अन्योल

इजरायल र हिजबुल्लाहबीचको लडाइँ बढ्दै गएपछि लेबनानमा कार्यरत नेपालीहरूलाई कन्सुलर रेजिस्टरमा दर्ता हुन आग्रह गरिएको छ । कुनै आपत्कालीन अवस्था भोग्नुपरेमा फोन वा ह्वाट्सएप नम्बर +२०१०९७७७२३४८, +२०१००२५०५९९७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Sep 26, 2024 - 15:29
 0
लेबनानमा ५ हजार बढी कामदार, लडाइँ चर्किँदा फर्कने कि नफर्कने भन्ने अन्योल

काठमाडौं । इजरायल र हिजबुल्लाहबीचको लडाइँ बढ्दै गएपछि लेबनानमा कार्यरत नेपालीहरूलाई कन्सुलर रेजिस्टरमा दर्ता हुन आग्रह गरिएको छ ।

इजिप्टको काहिरामा रहेको नेपाली दूतावासको वेबसाइटमा नाम र सम्पर्क नम्बर दर्ता गर्न लेबनानस्थित नेपालका अवैतनिक महावाणिज्यदूतावासले आग्रह गरेको हो ।

कुनै आपत्कालीन अवस्था भोग्नुपरेमा फोन वा ह्वाट्सएप नम्बर +२०१०९७७७२३४८, +२०१००२५०५९९७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

हवाई आक्रमण गरिरहेको इजरायली सेना हिजबुल्लाहको नियन्त्रण रहेको लेबनानी भूमिमा प्रवेश गर्ने तयारी गरिरहेको छ । त्यसबाट खतराको परिस्थिति बन्ने देखिन्छ ।

गत सोमबारदेखि हिजबुल्लाह र इजरायली सेनाबीच लडाइँ चर्किएको हो । इजरायलको शृङ्खंलाबद्ध हवाई आक्रमणबाट तीन दिनभित्र लेबनानमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ५६९ पुगिसकेको छ ।

अहिले सुरक्षाको लागि लेबनानको दक्षिणी क्षेत्रबाट बेरुत र सिरिया जाने लेबनानहरूको सङ्ख्या बढिरहेको छ । यो अवस्थामा लेबनानमा रहेका नेपाली कामदार पनि समस्यामा पर्न सक्ने देखिन्छ ।

लेबनानको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अधिकांश उडानहरू रद्द भएका कारण देश छोड्न समस्या छ । अरुदेशका नागरिकहरू छिमेकी देशहरू गएर हवाइ सेवा लिइरहेका छन् ।

लेबनानमा नेपाली सेनासहित घरेलु महिला श्रमिकहरू छन् । करिब पाँच हजार नेपाली त्यहाँ कार्यरत रहेको अनुमान छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेबनानमा रहेका नेपाली शान्ति सैनिकहरू ८ सय ५० छन् । नेपाली सेनाको गण हेडक्वार्टर लेबनानको दक्षिण-पश्चिम भाग मेइसेज जाबलमा युनिफिल मिसनअन्तर्गत तैनाथ छ । अरू घरेलु कामदार भने ४ हजार हाराहारीमा रहेको अनुमान भए पनि महावाणिज्यदूतावासमा सम्पर्कमा रहनेहरू कम छन् ।

जबुल्लाह-इजरायलबीच मिसाइल हानाहान स् नेपाली सेना सुरक्षित, खतरा भने कायमै

यसैबीच महावाणिज्यदूत कार्यालयले सूचनामा भनेको छ, “काहिरामा रहेको नेपाली दूतावासले तपाईंको आवश्यकताहरू पूरा गर्न र विशेष गरी आपत्कालीन अवस्थाहरूमा तपाईंको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले आफ्नो कन्सुलर सेवाहरू सक्रिय रूपमा प्रदान गर्न सुरु गरेको जानकारी दिन चाहन्छौँ । हामी लेबनानमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकहरूलाई हाम्रो वेबसाइटमार्फत नागरिक दर्ता रेजिस्टरमा दर्ता गर्न आग्रह गर्दछौँ । दर्ता आपत्कालीन अवस्थाहरूमा तपाईँलाई तीव्र र प्रभावकारी सहयोग प्रदान गर्न सक्षम बनाउने महत्त्वपूर्ण कदम हो ।”

नेपाली कामदार पर्ख र हेरको अवस्थामा

‘यूएनएचसीआर’ काअनुसार युद्धबाट विस्थापित भएका ९० हजारमध्ये ६ हजार ६ सय ९७ जना लेबनानी र १७ हजार सिरियालीहरू सिरियाको सीमा पार गरिसकेका छन् ।

तर, नेपाली कामदारहरूले भने तत्काल लेबनान छोडिहाल्ने मनस्थिति बनाइसकेका छैनन् । तर, सुरक्षाको लागि रोजगारदाताले लैजाने ठाउँमा स्थानान्तरण हुन तयार भएर बसेका छन् ।

बेरुतमा कार्यरत कामदारहरू बेरुतको सुरक्षा अवस्था हेरेर स्थान्तरण हुने तयारीमा रहेको एक कामदार माया तामाङ बताउँछिन् ।

कस्तो देश हो लेबनान ? किन भइरहेको छ इजरायल-हिज्बुल्लाह युद्ध ?

उनी भन्छिन्, “‘हामी बेरुतमै छौँ । अहिलेसम्म सुरक्षित भए पनि तर डर लागिरहेको छ । बेरुतमा असुरक्षा भएमा मालिकको पहाड घरतिर गएर बस्नेछौँ । त्यहाँ युद्ध नहुने भनिएको छ ।” युद्ध पहाडतिर पनि सर्न थालेमा कामदारहरूले नेपाल फर्कने मनसाय बनाएका छन् ।

गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि सुरु भएको द्वन्द्वले अब इजरायल र हिजबुल्लाहबीचको प्रत्यक्ष युद्धमा रूप लिएको छ । उत्तरी इजरायल र इजरायलले कब्जा गरेको गोलान हाइट्समा हिजबुल्लाहले आठ हजारभन्दा बढी रकेट प्रहार गरिसकेको छ। यसले यस क्षेत्रको स्थिति झनै गम्भीर बनाएको छ ।

इजरायली सेनाका प्रमुख हर्जी हेलेवीले हिजबुल्लाहको पूर्वाधारलाई हवाई हमलाबाट ध्वस्त पार्ने र इजरायली सेनालाई लेबनानी भूमिमा प्रवेश गराउने योजना सार्वजनिक गरेका छन् । यस्तो अवस्थामा, तनाव झनै बढ्दै जाने देखिन्छ ।

बुधबार मात्रै लेबनानमा इजरायली हवाई आक्रमण हुँदा ८१ जनाको मृत्यु भएको रिपोर्ट आएको छ ।

बेलायतले आफ्ना नागरिकलाई ‘तुरुन्तै लेबनान छोड्न’ अनुरोध गरेको छ । उद्धारको प्रयासमा, बेलायतले साइप्रसमा करिब ७ सय सैनिक पठाएको छ तर, लेबनानमा रहेका बेलायतीहरूले देश छोड्न कठिनाइ झेलिरहेको बताइएको छ । लेबनानको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अधिकांश उडानहरू रद्द भएका कारण देश छोड्न समस्या देखिएको छ ।

यी पनि पढ्नुहोस :

लेबनानमै घुसेर आक्रमण गर्ने इजरायलको तयारी

दोस्रो गाजा बन्दै लेबनान

डिभाइस बम आक्रमणपछिको लेबनान : अधिकांश घाइतेले गुमाए औंला, मोबाइल नजिक जान डराउँछन् नागरिक

लेबनानमा कसरी विस्फोट भए हजारौं पेजर ? ६ प्रश्नोत्तरबाट बुझ्नुहोस् घटनाक्रम

हिजबुल्लाह के हो ? यसका लक्ष्यहरू के के हुन् ?

हिजबुल्लाह : इजरायलको सबैभन्दा कडा प्रतिद्वन्द्वी अहिले कति शक्तिशाली ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register