मोदीको नवौं अमेरिका भ्रमण : प्रभावित हुन सक्छ राष्ट्रपतिको चुनाव

भारतीय प्रवासीको भेलामा मोदीको सम्बोधनले राजनीतिक तथा मनोवैज्ञानिक अर्थ राख्दछ । उनको यो भ्रमण यस्तो बेला भएको छ कि अमेरिकी राष्ट्रपतीय निर्वाचन सन्निकट छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भारतीय तथा एसियाली मतदाताको भूमिका बढ्दो छ ।

Sep 27, 2024 - 09:57
 0
मोदीको नवौं अमेरिका भ्रमण : प्रभावित हुन सक्छ राष्ट्रपतिको चुनाव

काठमाडौं । भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको ३ दिने भ्रमण पुरा गरी स्वदेश फर्किए । सन् २०१४ मा भारतको प्रधानमन्त्री भए यता उनको यो नवौं अमेरिका भ्रमण थियो ।

मोदी शासनकालमा भारतले अमेरिकासँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको छ । यसपटकको भ्रमणले पनि यो कुरा थप प्रष्ट गर्यो ।

भ्रमणको पहिलो दिन सेप्टेम्बर २१ मा मोदीले ‘क्वाड समिट’ लाई सम्बोधन गरेका थिए । सेप्टेम्बर २२ मा न्युयोर्कमा १५ हजारभन्दा बढी गैरआवासीय भारतीयको एक कार्यक्रमलाई सम्बोधन गरे । अन्तिम दिन २३ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको शिखर सम्मेलनलाई सम्बोधन गरे ।

यी प्रधानमन्त्री मोदीका औपचारिक कार्यक्रम थिए । तर, मोदीको नवौं भ्रमणको कुटनीतिक महत्व यतिमा मात्र सीमित छैन ।

क्वाड शिखर सम्मेलनमा अष्ट्रेलिया र जापानका प्रधानमन्त्रीसमेत सामेल थिए । उनीहरुले इन्डो–प्यासिफिक स्वतन्त्रता र सुरक्षाको रणनीतिक पक्षमा छलफल गरे । यो सम्मेलन राष्ट्रपति जो बाइडनको गृहनगर डेलावरमा भएको थियो । राष्ट्रपति बाइडनले मोदीलाई आफ्नै घरमै स्वागत गरेका थिए ।

छलफलमा दक्षिण चीन सागरको सवाल उठेको थियो । साथै, भारतमा सैन्य उपकरण प्रयोजनका लागि अमेरिकी स्पेश फोर्सले चिप्स निर्माण प्लान्ट स्थापना गर्ने सहमति समेत भएको छ । भारतको कोलकातामा एक सेमिकन्डक्टर प्लान्ट निर्माण हुनेछ । त्यसले भारतीय तथा अमेरिकी सेनालाई आवश्यक पर्ने सैन्य उपकरण चिप्स निर्माण गर्ने छ । साथै ड्रोन निर्माणमा समेत सहकार्य हुनेछ ।

मोदी र बाइडनबीच अन्तरिक्ष अभियान सहयोग र ग्लोबल साउथको नेतृत्वको विषयमा समेत कुराकानी भएको थियो ।

भारतीय प्रवासीको भेलामा मोदीको सम्बोधनले राजनीतिक तथा मनोवैज्ञानिक अर्थ राख्दछ । उनको यो भ्रमण यस्तो बेला भएको छ कि अमेरिकी राष्ट्रपतीय निर्वाचन सन्निकट छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भारतीय तथा एसियाली मतदाताको भूमिका बढ्दो छ ।

राष्ट्रपति जो बाइडन निर्वाचन दौडबाट बाहिरिएका छन् । सन् २०२५ को जनवरीमा उनले नयाँ राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्नु पर्ने छ । तर, डेमोक्र्याटिक उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसको जितका लागि बाइडनले सम्भव समर्थन जुटाउने प्रयत्न गर्दै आएका छन् ।

ह्यारिसको भारत सम्बन्धको मनोवैज्ञानिक आधार निकै बलियो छ । उनी भारतीय आमा डा. श्यामला गोपीनाथनकी छोरी हुन् । उनको नाम नै ‘कमला’ छ, जो एक आम भारतीय नाम हो । । रोचक संयोग– प्रधानमन्त्री मोदीको सत्तारुढ दल भाजपाको चुनावचिन्ह ‘कमलको फूल’ हो ।

राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले समेत प्रधानमन्त्री मोदीसँग भेटने इच्छा व्यक्त गरेका थिए । ट्रम्प शासनकालमा यी दुईको सम्बन्ध निक्कै गहिरो र सुमधुर देखिन्थ्यो । तर, यसपटक उनले ट्रम्पसँग भेटघाट गरेनन् ।

यस पृष्ठभूमिमा भारतीयहरुको भेलामा मोदीको सम्बोधनले सांकेतिक अर्थ राख्दछ । सम्भवत् भारतीय मुलका मतदाताको ठूलो हिस्साले यसपटक ह्यारिसलाई मतदान गर्ने छ ।

मोदीले केही अमेरिकी कम्पनीका सिइओसँग समेत भेटघाट गरेका थिए । गुगलका सुन्दर पिचाईलगायत १५ भन्दा बढी टेक्नो एक्जिक्युटिभ समूहसँग छलफल गरे । यी छलफलको उद्देश्य प्रधानमन्त्री मोदी भारतमा प्रविधि र लगानी आकर्षित गर्न चाहन्थे ।

अहिले भारतीय आप्रवासी प्रतिभाहरुले अमेरिकाका सयौं कम्पनीमा नेतृत्व गरिरहेका छन् । ती भारत अमेरिका सम्बन्धका नयाँ सुत्रधार बन्न सक्ने छन् ।

मोदीले साइडलाइनमा युक्रेनी राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीसँग भेटेका थिए । युद्धरत दुवै देश रुस र युक्रेनसँग भारतले समानान्तर सम्बन्ध बनाउँदै आएको छ । यही वर्ष मोदी रुस र युक्रेन दुवै देशको भ्रमणमा गएका थिए । यसले के पुष्टि गर्दछ भने मोदीले समकालिन विश्व परिवेशमा भारतीय कुटनीतिलाई कठिन सन्तुलनबीच हिँडाई रहेका छन् ।

कतिपय विश्व मामिला विश्लेषक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मोदीले युक्रेनसँग नरम दबाबको भूमिका गर्ने विश्वास गर्दछन् भन्ने धारणा राख्दछन् । तसर्थ मोदीले जेलेस्कीसँग गर्ने भेटघाटप्रति रुसले आपत्तिजनक प्रतिक्रिया दिने गरेको छैन ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register