सुडान गृहयुद्ध: असहाय आमा भन्छिन्- मसँग जे मन लाग्छ गर तर, छोरीलाई केही नगर

"मैले दुवै छोरीलाई आफ्नो पछाडि लुकाएँ र ती आरएसएफलाई भनेँ- "यदि तिमी मलाई बलात्कार गर्न चाहन्छौ भने गर तर, छोरीलाई छोड ।'' उनले थप भनिन्, "उनीहरूले मलाई हिर्काए र सबै लुगा फुकाल्न भने । लुगा फुकाल्नुअघि मैले मेरा छोरीलाई तुरुन्तै दौडन भनेँ ।

Sep 27, 2024 - 10:09
 0
सुडान गृहयुद्ध: असहाय आमा भन्छिन्- मसँग जे मन लाग्छ गर तर, छोरीलाई केही नगर

काठमाडौं । सुडान विनाशको संङ्घारमा छ । १७ महिनाको क्रूर गृहयुद्धले देशलाई पूर्णरूपमा बर्बाद पारेको छ ।

सुडानको सेना आफ्नो प्रतिद्वन्द्वी अर्धसैनिक बल र्‍यापिड एक्शन फोर्ससँग गहिरो द्वन्द्वमा फसेको छ । भर्खरै यसले राजधानी खार्तुममा अर्धसैनिक बलविरुद्ध ठूलो काउन्टर अपरेशन सुरु गरेको छ ।

र्‍यापिड एक्सन फोर्सको नियन्त्रणमा रहेका क्षेत्रमा सेनाले आक्रमण गरिरहेको छ । यद्यपि, र्‍यापिड एक्शन फोर्सले खार्तुमका अधिकांश क्षेत्र नियन्त्रणमा लिएको छ ।

आरएसएफले द्वन्द्वको सुरुवातमा खार्तुमको ठूलो भाग कब्जा गरेको थियो, जबकि सेनाले नाइल नदीको अर्को छेउमा खार्तुमको छेउमा रहेको शहर ओमडोरमन नियन्त्रणमा राखेको छ ।

तर, अझै पनि धेरै ठाउँहरू छन्, जहाँबाट मानिसहरु दुवै तर्फबाट आउन र जान सक्छन् ।

“कहाँ छ यो संसार, किन हामीलाई सहयोग नगर्ने?”

यी मध्ये एउटा ठाउँमा मैले महिलाको समूहलाई भेट्छु । यी महिला चार घण्टा पैदल हिँडेर सेना नियन्त्रित क्षेत्र ओमडोरमनको बजारसम्म पुगेका छन् । यहाँ खाना सस्तो छ ।

यी महिला आरएसएफको नियन्त्रणमा रहेको क्षेत्र दार-ए-सलामबाट यहाँ आएका हुन् । एक महिलाले आफ्ना श्रीमान् आजकाल घरबाट बाहिर निस्कन छाडेको बताइन् ।

उनीहरु बाहिर निस्कने बित्तिकै आरएसएफका लडाकुले समातेर कुटपिट गर्छन् । उनीहरुको कमाइ खोसिएको छ । कयौं पटक पक्राउ परेर छाड्नका लागि परिवारबाट फिरौती माग्ने गरिएको छ ।

एक महिलाले भनिन्, “हामी सबै कुरा सहेर यहाँ आएका हौं किनभने हामीले हाम्रा छोराछोरीलाई खुवाउनुपर्छ । हामी भोकाएका छौं । हामीलाई खाना चाहिन्छ ।”

मैले ती महिलालाई सोधें, ”के त्यहाँ पुरुषभन्दा महिला सुरक्षित छन् ? मैले महिलामाथि बलात्कार गरेको सुनेको छु ।” प्रश्न सुनेर ती महिला चुपचाप बसिन् । तर, एक महिलाले आफूलाई रोक्न सकिनन् ।

उनले भनिन्, “कहाँ छ यो संसार ? किन हामीलाई कसैले सहयोग गर्दैनन् ?” यी सबै भनिरहँदा उनको आँखाबाट आँसु बग्यो ।

उनले थप भनिन्, ”यहाँ धेरै महिला यौन शोषणमा परेका छन् । तर, उनीहरुले यसलाई मतलब गर्नै छोडिसकेका छन् । यसले के फरक पार्छ ? आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा आरएसएफले राति केटीहरू उठाउँछ । बजारबाट केटी ढिलो आउँदा लडाकुले उनीहरूलाई पाँच-छ दिनसम्म साथमा राख्छन् ।”

मलाई यो भनिरहँदा ती महिलाको आमा टाउकोमा हात राखेर बसिरहेकी थिइन् । उनको रुवाइ जारी थियो । यो देखेर वरपरका महिला रुन थाले ।

ती महिलाले मलाई फेरि सोधिन्, “मलाई आफ्नो बारेमा बताउनुहोस् । तपाईं जहाँ बस्नुहुन्छ, तपाईंको बच्चा घरबाट बाहिर निस्क्यो भने चिन्ता लाग्दैन ? फर्किन ढिलो भयो भने खोज्ने हो कि होइन ? तर, तपाईं हामीलाई भन्नुहोस् हामीले के गर्नुपर्छ ? हाम्रो हातमा केही छैन । कसैलाई हाम्रो वास्ता छैन । यो संसार कहाँ छ ? तपाईंहरुले हामीलाई किन सहयोग गर्नुभएन ?”

आरएसएफमाथि बलात्कारको आरोप

दुवै तर्फबाट आउने र जाने मानिसले प्रयोग गर्ने यो ठाउँ एउटा झ्याल थियो, जसबाट एक संसार देखिन्थ्यो, जुन बेचैनी र निराशाले भरिएको थियो ।

सेना र आरएसएफबीचको द्वन्द्वमा कति अराजकता, लुटपाट र क्रूरता सहनुपरेको यस ठाउँबाट जानेहरूले सुनाए । संयुक्त राष्ट्रसंघका अनुसार यस द्वन्द्वका कारण १ करोड ५० लाख मानिस घर छोडेर भाग्न बाध्य भएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले बलात्कार ‘युद्धको हतियार’का रूपमा प्रयोग भइरहेको बताएका छन् ।

मिसनको तथ्य पत्ता लगाउने टोलीले सेनाका सदस्यबाट बलात्कार र बलात्कारको धम्कीको अभियोग पनि रेकर्ड गरेको छ ।

यसले आरएसएफ र यसको सहयोगी मिलिसियाले ठूलो मात्रामा यौन हिंसा गरेको फेला पारेको छ । यी व्यक्तिले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्ने खालका अपराध गरेका छन् ।

बीबीसीसँग कुरा गर्दै एक महिलाले आफूलाई आरएसएफले बलात्कार गरेको बताइन् । हामीले उनलाई बजारको चोकमा भेट्यौं । यो चोको नाम थियो- शौक अल-हर अर्थात् ‘हिट मार्केट’ ।

सेना र आरएसएफबीचको लडाइँ सुरु भएदेखि बजार अर्कोतर्फ सरेर विपरितको सुनसान मरुभूमिमा पुगेको छ ।

यो बजार Omderman को बाहिरी भागमा छ । सस्तोमा सामान बिक्री हुने भएकाले यो बजार गरिब जनताको आकर्षणको केन्द्र बनेको छ ।

मरियम (नाम परिवर्तन) दार एस सलामबाट भागेकी छिन् र आफ्नो भाइसँग बस्दैछिन् । उनी अहिले चिया पसलमा काम गर्छिन् ।

लडाइँको सुरुवातमा दुईजना हतियारधारीले घरमा पसेर छोरीलाई बलात्कार गर्न खोजेको उनले बताइन् । उनकी एउटी छोरी १७ वर्षकी र अर्की १० वर्षकी छिन् ।

उनले भनिन्, “मैले दुवै छोरीलाई आफ्नो पछाडि लुकाएँ र ती आरएसएफलाई भनेँ- “यदि तिमी मलाई बलात्कार गर्न चाहन्छौ भने गर तर, छोरीलाई छोड ।”

उनले थप भनिन्, “उनीहरूले मलाई हिर्काए र सबै लुगा फुकाल्न भने । लुगा फुकाल्नुअघि मैले मेरा छोरीलाई तुरुन्तै दौडन भनेँ । उनी अरु केटाकेटीलाई लिएर हाम फालेर बाहिर भागिन् । त्यतिन्जेल एकजना व्यक्ति ममाथि सुतिरहेको थियो ।”

यद्यपि, आरएसएफले अन्तर्राष्ट्रिय अन्वेषकलाई यौन हिंसा र मानवअधिकार उल्लङ्घन गर्ने अन्य प्रकारका हिंसा रोक्न आवश्यक कदम चालेको बताएको छ ।

तर, यौन दुर्व्यवहारका यस्ता घटना बारम्बार भइरहेका छन् र यसले विनाशकारी प्रभाव पारेको छ ।

”डरलाग्दो संसारमा रहनुको अर्को विकल्प छैन”

रुखको छायामा एउटा सानो स्टुलमा बसेकी फातिमा (नाम परिर्वतन) ले आफू जुम्ल्याहा बच्चा जन्माउन ओम्दरमानमा आएको बताइन् । उनी यहीँ बस्ने सोचमा छिन् ।

उनले आफ्नो छिमेकमा बस्ने १५ वर्षीया बालिका चार आरएसएफ लडाकुबाट बलात्कृत भएपछि गर्भवती भएको बताइन् । उनीहरुले १७ वर्षीया बहिनीलाई पनि बलात्कार गरेका थिए ।

फातिमाले भनिन्, “युद्ध सुरु भएपछि आरएसएफ आएसँगै हामीले बलात्कारका घटना सुन्न थाल्यौं । तर, अहिले यी घटना हाम्रो छिमेकमा हुन थाले । सुरुमा हामीलाई यी घटनामाथि शंका लाग्थ्यो तर, हामीले आरएसएफ नै भएको थाहा पायौं ।”

त्यहाँ उपस्थित अन्य महिला अब आरएसएफको नियन्त्रणमा रहेका क्षेत्रमा फर्कने तयारी गर्न थालेका छन् । उनले आफू गरिब भएकोले दार एस सलाम छोडेर मरियमजस्तै नयाँ जीवन सुरु गर्न नसक्ने बताइन् ।

जबसम्म युद्ध जारी रहन्छ, उनीहरूसँग डरलाग्दो अवस्थामा फर्कनुबाहेक अर्को विकल्प हुनेछैन ।

बीबीसी 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register