गगनका ५ हैरानी : पालै नआइ राजनीतिक जीवन खेर जाने डर

नेपाली कांग्रेसमा गगन थापाको उदय भए आगामी निर्वाचनमा अन्य सबै प्रतिस्पर्धी दललाई चुनौती थपिने छ । सम्भवत: कांग्रेसभित्रको देउवा र कोइराला खेमा मात्र हैन, अन्य दलसमेत यो चाहँदैनन् । यस्तो प्रतिस्पर्धा सबैभन्दा धेरै अहिलेको सत्तासाझेदार र आगामी चुनावको मुख्य प्रतिस्पर्धी एमालेलाई नै चुनौतीपूर्ण हुनेछ ।

Sep 27, 2024 - 12:41
 0
गगनका ५ हैरानी : पालै नआइ राजनीतिक जीवन खेर जाने डर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नेपाली राजनीतिमा नयाँ पुस्ताको एक जबर्जस्त नेताका रूपमा स्थापित छन् । उनको उमेर समूहबाट यतिको लोकप्रिय र प्रभावशाली नेता अरु ठूला तथा पुराना दलमा बिरलै पाइन्छन् ।

तर, चर्चा र लोकप्रियता जति बलियो छ, उनका हैरानी र चुनौती पनि उत्तिकै ठूला छन् । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा होस् वा आज शेरबहादुर देउवा; थापाको ‘भाग्य’मा भने सधैँ संस्थापन पक्षसँग भिड्नु, सन्तुलन गर्नु, सम्झौता, सहकार्य गर्नु र आफूलाई जोगाउनु रहँदै आएको छ ।

उनी पार्टी संस्थापन पक्षसँग सङ्घर्ष त गर्दछन् तर, निश्चित सीमासम्म । सम्भवत: पार्टी इतिहास र संस्कारले उनलाई यस्तो अवसर दिन्छ । अन्य दलमा सायदै यस्तो अन्तर्पार्टी सङ्घर्ष सम्भव हुन्छ । जस्तो कि एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँगको सङ्घर्षपछि घनश्याम भुसाल आफैँ पार्टी छोड्न बाध्य भए भने भीम रावल भूमिकाहीन बनाइए ।

कोइरालाकालमा होस् वा देउवाको सभापतित्वमा थापाले भुसाल र रावलको जस्तो नियति भने भोग्न परेको छैन । यसको कारण हो– बाह्य र वैचारिक रूपमा उनी संस्थापन पक्षप्रति जति आक्रामक हुन्छन्, भित्रभित्रै व्यावहारिक बन्दछन् । सहकार्य र सम्झौता पनि गर्दछन् ।

फागुनको महासमिति बैठकमा थापाले पार्टीलाई आफ्नो राजनीतिक लाइनमा लतारेको भान भएको थियो । तर, त्यो सत्य हैन रहेछ ! महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनबाट थापाले संस्थापन पक्षमाथि वैचारिक तथा सवालगत हमला गरे तर, पार्टी विस्तारै पुरानै ढाँचा र ढर्रामा फर्कियो । गगन-विश्वप्रकाशका प्रस्ताव केन्द्रीय समिति बैठकबाट बिरलै स्वीकार्य भए ।

आगामी निर्वाचनमा कुनै पनि दलसँग निर्वाचन पूर्वको गठबन्धन नगर्ने, आम पार्टी सदस्य बीचबाट सभापतिको निर्वाचन हुनुपर्ने, राजकीय पदको दलीय मनोनयन पत्रका लागि पार्टीभित्रको आन्तरिक निर्वाचन, प्राइमरीबाट उम्मेदार छनोट गरिनुपर्ने जस्ता थापाका प्रस्ताव महासमिति बैठकमा लोकप्रिय सुनिए पनि संस्थापन पक्षले त्यसलाई खासै महत्त्व दिएन । अहिले यी प्रस्ताव स्थगित बसेका छन् ।

अहिले गगन थापासामू केही अप्ठेराहरू छन् ।

१. जत्रो लोकप्रियता उत्रै चुनौती

कुनै बेला महामन्त्री थापा राजनीतिमा उमेर हद र ‘रिटायर्डमेन्ट’ को कुरा गर्थे । उनले यो विषय युवा आवेगमा उठाएका थिए वा सोची सम्झी, अहिले सम्झना छ कि बिर्सी सके, उनैलाई थाहा होला तर, उनले करिब १ दशक अघि नै ६० वर्षभन्दा बढी सक्रिय राजनीति वा जिम्मेवार पदमा नबस्ने घोषणा गरेका थिए ।

अहिले उनी ४८ वर्षमा छन् । उनकै घोषणालाई आधार मान्ने हो भने उनीसँग करिब १ दशक मात्र सक्रिय राजनीति गर्ने उमेर छ । यही अवधिमा उनी पार्टी सभापति र प्रधानमन्त्री हुन सक्नु पर्नेछ । प्रधानमन्त्री भएर देशका लागि केही ‘नयाँ र राम्रो’ गरेर देखाउन सक्नु पर्नेछ ।

अन्यथा उनको राजनीति ‘इतिहासको फुट नोट’ मै सीमित हुनेछ, ‘इतिहासको अध्याय’ बन्न सक्ने छैन । अहिलेसम्मको उनको छवि एक ‘उदयीमान युवा नेता’ को हो, पार्टी र देशको मूल नेतृत्व गरिरहेको ‘राजनेता’को हैन ।

सम्भवत: यही हतारोले उनले गत आमनिर्वाचनपछि संसदीय दलको नेताको पदमा उम्मेदवारी दिए । भलै कि त्यस्तो उम्मेदवारी गगन थापाले भन्दा शेखर कोइरालाले दिनु उपयुक्त हुन्थ्यो ।

सभापति देउवाले ६४ मत प्राप्त गर्दा थापाले २५ मत मात्र पाए । १४ औं पार्टी महाधिवेशनको शेखर कोइराला-गगन थापा प्यानल भनिएकाहरूले समेत भोट दिएनन् । थापाले कम्तीमा ३६ भोट प्राप्त गर्ने अनुमान गरिएको थियो ।

यसको अर्थ हुन्थ्यो, संस्थापनइतर पक्षले पनि थापालाई हृदयदेखि एकमतले आफ्नो नेता मानिसकेको छैनन् । उनी यस्तो बेला पार्टी र देशको नेतृत्व लिने प्रयत्न गर्दैछन्, जुन बेला स्वयम् पार्टीभित्रको आफ्नै गुटले पनि उनलाई राम्रोसँग विश्वास गरिरहेको वा साथ दिएको छैन ।

२. पार्टीमा सभापति देउवाकै गुट बलियो

पार्टी केन्द्रीय समिति र संसदीय दल दुबैमा अहिले पनि सभापति देउवाकै गुट बलियो छ । एमालेसँगको गठबन्धनपछि देउवाका राजनीतिक अनुकूलता थपिएका छन् । देउवा पत्नी आरजू राणा र निकट नेता रमेश लेखकले परराष्ट्र र गृहजस्ता शक्तिशाली मन्त्रालय पाएका छन् ।

एमालेसँग नयाँ गठबन्धन बनाउँदा सभापति देउवा पत्नी आरजू राणालाई लिएर बालकोट पुगेका थिए । क्याप्टेन रामेश्वर थापाको घरमा मध्यरातमा ओली– देउवा सम्झौता हुँदा राणा र लेखक मात्र सभापति देउवासँगै थिए ।

यी घटनाक्रममा सभापति देउवाले महामन्त्री थापालाई कतै दृश्यमा आउन दिएनन् । तर, पनि महामन्त्री थापा सभापति देउवाका निर्णयमा लतारिन बाध्य भए । उनले सभापतिसँग बलियो असहमति राख्न सकेनन् ।

कांग्रेस मूलतः सभापति केन्द्रित पार्टी नै हो । देउवाका पालामा मात्र हैन, बीपी कोइरालाकै पालादेखि कांग्रेसको चरित्र र परम्परा यस्तै थियो ।

गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा देउवा अहिलेका महामन्त्री थापाजस्तै खुम्चिनुपर्थ्यो । कोइरालासँग आजित भएका देउवाले पार्टी विभाजित गरि नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । कोइरालासँग देउवाको सङ्घर्ष, सहकार्य, सन्तुलन र सम्झौता आज थापाले सामना गरिरहेको स्थितिभन्दा कम अप्ठ्यारो थिएन ।

केन्द्रीय समिति र संसदीय दलमा मात्रै हैन, समग्र पार्टी पङ्क्तिमा सभापति देउवाको गुट अहिले पनि निकै बलियो छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको गठबन्धनपछि प्रदेश सरकार पुनर्गठन भएका छन् । देउवाले प्रदेश मन्त्रीको पद दिएर आफ्नो गुटलाई अझ बलिया बनाउने अवसर पाएका छन् ।

ओलीसँगको सम्झौता कार्यान्वयन भएमा देउवाको सबैभन्दा ठूलो अनुकूलता यही हुन्छ कि उनले प्रधानमन्त्री पदमा रहेर पार्टीको १५ औं महाधिवेशन आयोजना गर्ने अवसर पाउनेछन् । १५ औं महाधिवेशनमा सभापति देउवाको गुट थप बलियो हुनेछ । किनकि त्यसले राज्यको स्रोत र शक्तिसमेत उपयोग गरेर महाधिवेशन सामना गर्ने अवसर पाउनेछ ।

आगामी १५ औं महाधिवेशनमा पनि पार्टी सभापतिमा निर्वाचित हुन नसके थापाको राजनीतिमा ओरालो यात्रा सुरु हुन सक्दछ ।

थापा निकट एक कांग्रेसका शुभेच्छुक भन्छन्, “गगनको हतारोको मुख्य कारण यही हो । देशको राजनीतिक इतिहासमा कुनै राम्रो काम गर्ने वा एक अध्याय थप्ने हो भने १५ औं महाधिवेशनमा थापाले पार्टी सभापति जित्नैपर्छ । २०८४ को चुनावमा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्नै पर्दछ । अन्यथा उनले पार्टी र देशको नेतृत्व गर्ने पालो नै नआइकन अवसर खेर जान सक्नेछ । यो पटक गुमे गगनका लागि सधैँलाई अवसर गुम्न सक्नेछ ।”

तर, देउवा गुटको अहिलेसम्मको बलियो पकड हेर्दा आगामी पार्टी महाधिवेशनमा सभापति जित्न महामन्त्री थापालाई सजिलो हुने छैन ।

३. कोइराला परिवारको फरक रणनीति

महामन्त्री थापाको अर्को हैरानी पार्टी सभापति र भावी प्रधानमन्त्रीका लागि कोइराला परिवारको समर्थन पाउन नसक्नु हो । ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ भने जस्तै कांग्रेसमा कोइराला परिवारका सदस्यको प्रभाव समाप्त भएको छैन ।

१४ औं महाधिवेशनमा थापा सभापति उम्मेदवार शेखर कोइरालाको गुटमा थिए । थापालाई आफ्नो गुटको महामन्त्री वा उपसभापति उम्मेदवार बनाउन कोइराला तयार छन् तर, सभापति र भावी प्रधानमन्त्रीमा समर्थन गर्न इच्छुक छैनन् । पार्टी सभापति देशको राजनीति मुठ्ठीमा लिने मुख्य कडी हो भन्ने कोइराला परिवारले राम्रो बुझेको छ । थापालाई कोइरालाहरु त्यसका लागि उपयुक्त र परिपक्क पात्र ठान्दैनन् ।

कोइराला परिवारका तीन सदस्यमध्ये शेखरले फेरि एकपटक सभापतिको उम्मेदवार हुने घोषणा गरिसकेका छन् । गिरिजापुत्री सुजाता कोइरालाले शेखरलाई समर्थन गर्ने भएकी छन् । बीपी पुत्र शशांक कोइराला भने अझै अनिर्णित छन् । उनले शेखरलाई समर्थन गरेका छैनन् । सम्भव भए उनी आफैँ देउवा पक्षको समेत सहयोगमा सभापतिको उम्मेदवार हुन चाहन्छन् ।

एकातिर सभापति देउवाको बलियो संस्थापन गुट र अर्कोतिर संस्थापनइतर पक्षमा रहेको कोइराला परिवारको समेत समर्थन नपाउने हो भने थापाका लागि सहज हुनेछैन । यस्तो अवस्थामा थापा हिजोको कृष्णप्रसाद सिटौलाजस्तै सानो तेस्रो गुटमा सीमित हुन सक्नेछन् ।

यस्तो स्थितिको सम्भावना थापाको राजनीतिक जीवनको सबैभन्दा जोखिमपूर्ण पक्ष हो ।

४. बाहिरियाको तारो

नेपाली कांग्रेसमा गगन थापाको उदय भए आगामी निर्वाचनमा अन्य सबै प्रतिस्पर्धी दललाई चुनौती थपिने छ । थापा पार्टी सभापति भए घोषित, अघोषित भावी प्रधानमन्त्रीको रूपमा उनी नै दृश्यमा देखिनेछन् । कांग्रेसको इतिहास र नेपालको राजनीतिक संस्कार दुवै कोणबाट थापा २०८४ को आम निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अनुमान गरिनेछन् ।

सम्भवत: कांग्रेसभित्रको देउवा र कोइराला खेमा मात्र हैन, अन्य दलसमेत यो चाहँदैनन् । यस्तो प्रतिस्पर्धा सबैभन्दा धेरै अहिलेको सत्तासाझेदार र आगामी चुनावको मुख्य प्रतिस्पर्धी एमालेलाई नै चुनौतीपूर्ण हुनेछ ।

२०८४ को चुनावमा एमालेको मूल नेता को हुन्छ, त्यो अझै अस्पष्ट छ । विधान संशोधन गरी ओली नै तेहेरिए उनी ओरालो लाग्दो नेता हुनेछन् र थापा उदाउँदो । देशमा युवा पुस्ताको मतदाता बढ्दो छ । सम्भवत: त्यस्तो बेला मतदाताले एमाले र ओलीभन्दा कांग्रेस र थापालाई उचित विकल्प ठान्न सक्ने छन् । यसर्थ, एमाले कांग्रेसमा थापाको उदय होस् भन्ने चाहँदैन ।

थापाका थप बाह्य चुनौती रास्वपा पार्टी र बालेन, हर्कजस्ता पपुलिष्टहरू हुन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गराउन थापाको भूमिकाले रास्वपा चिढिएको छ । तसर्थ, रास्वापाले थापाविरुद्धको आक्रमणलाई तीव्र पारिरहेको छ । यस काममा रास्वपा सभापति रवि लामिछानेले थापाकै पूर्व सहयोगी मनिष झा र स्वर्णिम वाग्लेलाई प्रयोग गरिरहेका छन् ।

बालेन, हर्कहरूले अर्को पार्टी खोले युवा मतदाताको एउटा हिस्सा त्यतातिर आकर्षित हुनेछ । यसरी आकर्षित हुने मतदाता मूलतः नयाँ पुस्ताको नै हुनेछन् ।

निर्वाचन पूर्वको गठबन्धनको विरुद्धमा देखिएको कारण सायद माओवादी पनि थापाप्रति त्यति सकारात्मक हुने छैन । कांग्रेसमा थापाको उदय भए तेस्रो दलका रूपमा माओवादीको ‘बार्गेनिङ पावर’ झनै कमजोर हुन सक्दछ ।

५. छिमेकीले कहिल्यै दिएनन् मान्यताको संकेत

भनिन्छ, नेपालमा मूल नेताका रूपमा उदय हुन दक्षिण छिमेकीको पनि कुनै न कुनै प्रकारको सद्भाव चाहिन्छ । भावी सहकार्यका लागि ती आश्वस्त हुन चाहन्छन् । पछिल्लो दशकमा त उत्तरी छिमेकी चीनको बारेमा पनि यस्तै टिप्पणी सुनिन थालेको छ ।

तर, थापा दुवै छिमेकीका लागि सहज व्यक्तित्व हैनन् । उनलाई समुद्रपारिको ‘तेस्रो ध्रुव’ सँग जोडेर हेर्नेहरूको कुनै कमी छैन ।

महामन्त्री थापालाई अहिलेसम्म दुवै छिमेकी देशले उच्चस्तरको भ्रमणका लागि आमन्त्रण गरेका घटना छैनन् । भारतीय नेता, प्रशासक र कूटनीतिज्ञ नेपाल आउँदा सबैजसो दलका नेतासँग घरघरै भेटघाट गर्दै हिँड्दछन् । तर, थापा कांग्रेसजस्तो एक महत्त्वपूर्ण पार्टीको महामन्त्री भइसक्दा पनि उनलाई भेट्ने गरेको देखिन्न ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register