बेलायतमा दशैं टीकाको शुभसाइत बिहान ९:०५ मा

लन्डन- हिन्दूहरुको महान पर्व विजया दशमी २०८१ मा बेलायतका लागि शुभसाइत निर्धारण भएको छ। बेलायतस्थित दुई ज्योतिषी पशुपतिनाथ मन्दिर लन्डनका पण्डित निलहरि घिमिरे र ब्रिटिश गोर्खा आर्मी क्याम्पका पण्डित प्रेम गैरेको सक्रियतामा बेलायतमा दशैं टीकाका लागि शुभसाइतको समय निर्धारण गरिएको हो । नेपालस्थित पञ्चांग निर्णायक समितिसंगको परामर्श र बेलायतस्थित अन्य नेपाली पण्डित एवम् ज्योतिषीहरुसमेतको सहमतिमा […]

Sep 27, 2024 - 18:31
 0
बेलायतमा दशैं टीकाको शुभसाइत बिहान ९:०५ मा

लन्डन- हिन्दूहरुको महान पर्व विजया दशमी २०८१ मा बेलायतका लागि शुभसाइत निर्धारण भएको छ।

बेलायतस्थित दुई ज्योतिषी पशुपतिनाथ मन्दिर लन्डनका पण्डित निलहरि घिमिरे र ब्रिटिश गोर्खा आर्मी क्याम्पका पण्डित प्रेम गैरेको सक्रियतामा बेलायतमा दशैं टीकाका लागि शुभसाइतको समय निर्धारण गरिएको हो ।

नेपालस्थित पञ्चांग निर्णायक समितिसंगको परामर्श र बेलायतस्थित अन्य नेपाली पण्डित एवम् ज्योतिषीहरुसमेतको सहमतिमा शुभसाइत तय गरिएको ज्योतिषी निलहरि घिमिरेले नेपालीलिंकलाई जानकारी दिए ।

घिमिरेका अनुसार यस वर्ष बेलायतमा दशैंको टीकाको शुभ साइत अक्टोबर १२ तारिख शनिबार बिहान ९ बजेर ५ मिनेट समयमा परेको छ । उक्त साइतमा टीका लगाउनेले पूर्व फर्केर टीका थाप्नु शुभ रहने जनाइएको छ।

शुभसाइतमा टीका शुरु गरेपछि दिनभर नै मान्यजनबाट टीका लगाउन सकिने समेत ज्योतिषी घिमिरेले बताए ।

यस वर्ष सप्तमीको फूलपाती भित्र्याउने र अष्टमीको कालरात्री पूजा अक्टोबर १० तारिख विहीबार एकै दिन परेको छ । यसपटकको दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा अक्टोबर १६ बुधबार परेको छ ।

ज्योतिषी पण्डित निलहरि घिमिरे

दशैं साइतका विषयमा नेपालको तुलनामा विदेशमा समयको अन्तरका कारण पर्ने गरेको अन्योल हटाउन आफूहरुले बेलायतका लागि छुट्टै शुभ साइत निर्धारण गर्दै आएको ज्योतिषी घिमिरेले बताए ।

‘तिथि र शुभसाइत निर्धारण सूर्योदयका आधारमा हुने भएकाले नेपालको भन्दा बेलायतमा फरक समय पर्ने गरेको हो’, उनले नेपाली लिंकसंग प्रष्ट्याए, ‘तर हामीले विजया दशमीजस्तो नेपालको राष्ट्रिय पर्वको साइतका लागि नेपालको समयलाई समेत महत्व दिएर नेपालमा जुन दिन मानिन्छ, बेलायतमा पनि सोही दिन नै मान्ने गरिएको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register