पहिरोका कारण ताल्चा विमानस्थल र रारा ताल पनि जोखिममा

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका–४ मा रहेको ताल्चा (रारा) विमानस्थलसहितको बस्ती जोखिममा परेको छ । विमानस्थल कालोपत्रे गर्दा नहर बनाएर बुका खोला, लेत्या खोला, बुद्या खोलामा मिसाइएकोले विमानस्थल मुनिका बस्ती र स्वंयम् विमानस्थल पहिरोको जोखिममा परेको हो । वि.सं. २०३८ सालबाट निर्माण कार्य सुरु भएर २०६० सालबाट सञ्चालनमा आएको विमानस्थलको ठिक ढंगले वातावरणीय मूल्याङ्कन […]

Sep 29, 2024 - 09:21
 0
पहिरोका कारण ताल्चा विमानस्थल र रारा ताल पनि जोखिममा

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका–४ मा रहेको ताल्चा (रारा) विमानस्थलसहितको बस्ती जोखिममा परेको छ ।

विमानस्थल कालोपत्रे गर्दा नहर बनाएर बुका खोला, लेत्या खोला, बुद्या खोलामा मिसाइएकोले विमानस्थल मुनिका बस्ती र स्वंयम् विमानस्थल पहिरोको जोखिममा परेको हो ।

वि.सं. २०३८ सालबाट निर्माण कार्य सुरु भएर २०६० सालबाट सञ्चालनमा आएको विमानस्थलको ठिक ढंगले वातावरणीय मूल्याङ्कन नहुँदा अहिले बस्ती नै पहिरोको जोखिममा परेको छ ।

‘विमानस्थल निर्माणले दुर्गमका बासिन्दाका लागि जति सहयोगी बनेको छ त्योभन्दा कयौं गुणा खतरा पनि बनेको छ ।’ स्थानीय नगरबहादुर भाम बताउँछन् ।

पहिला सबैले विमानस्थलको मात्रै नारा लगाएको अहिले त्यसले पार्ने प्रभावका विषयमा कसैले जानकारी नराख्दा समस्या आएको छायाँनाथ रारा नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीप्रसाद भामले बताए ।

उनले भने, ‘वातावरणीय मूल्याङ्कन त्यो ‘काँ’ (कहाँ) भयो होला थाहा भएन । अहिले निकै जोखिममा रहेको छ ।’

मुगुको एक मात्र हवाई यातायातको माध्यम रारा विमानस्थलले सेवा सुविधासँगै विपत्ति पनि निम्त्याएकाले समाधानका लागि सबै सरोकारवालाले ध्यान दिनुपर्ने वडाध्यक्ष भामको आग्रह छ ।

‘पहिला कालोपत्रे नहुँदा पानी परेको बेला जमिन नै भिज्ने गरेको थियो,’ उनले भने, ‘अहिले कालोपत्रे भएका कारण विमानस्थलबाट मानवीय तथा प्राकृतिक विपत्ति निम्तने खतरा छ । अहिले पनि विमानस्थलको उत्तरतिर जमिन भासिएको छ, मुनि पहिरो जादैँ गर्ने हो भने विमानस्थल पनि संकटमा पर्ने देखिन्छ ।’

विमानस्थलको धावनमार्गदेखि १० मिटर नजिकै पश्चिमतर्फ पाटपटेनी खोलाले वर्षेनी कटान गर्दै आएको छ । विमानस्थलबाट आठ वटा खोलामा पानी मिसिने गरेको छ । विमानस्थल छेउ बनाइएको पाँच सय मिटर लामो नालीबाट पानी खोलामा मिसिँदा वर्षातमा कटान बढेको छ । विमानस्थल तल बस्तीमा माथिबाट बगेर आउने पानी र पहिरोले वर्षेनी पिरोल्ने गरेको छ ।

वडा नम्बर ४ का धेरै बस्ती जोखिममा

रारा विमानस्थल ताल्चा मुनिका छायाँनाथ रारा नगरपालिका वडा नं ४ का दर्जनौँ बस्ती पहिरोको उच्च जोखिम परेका छन् ।

वि.सं.२०७२ सालमारारा विमानस्थलको  पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ धावन मार्ग कालोपत्रे गरिएको थियो । कालोपत्रे गर्दा विमानस्थलबाट निस्कने पानीलाई त्यहाँबाट बग्ने नहर बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाइन्छ ।

विमानस्थलबाट बग्ने पानीले मुनिका बस्ती पहिरोको उच्च जोखिममा छन् । यी खोलामा आउने बाढी पहिरोले सयौँ बिघा जमिन कटान गरेको र धेरैका घर बगाएको नगर प्रमुख भामले बताए । ‘त्यहाँ पहिरो ग्रडिङ्ग वालसहितको तटबन्धन बनाउनुपर्ने छ,’ उनले भने, ‘नत्र भने सयौं घर पहिरोको जोखिममा छन् ।’

रारा विमानस्थलबाट निस्किएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरु पाटपटेनी, मुस्याचौर, माथिल्लो कालपाल्त, तल्लो कालापाल्त, कोश, दोवाट, कालाजुर र लेत्याखोला किनारका ढुमालेख, डाँडाजिउला, टहधारा, बुद्याखोला किनारका गिमखोला जुक्याना गाउँ, खत्याडीकोट, गमगाढको पावर हाउस लगायतका क्षेत्र पहिरोको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।

रारा तालसमेत जोखिममा

प्रकृतिको अनुपम सौन्दर्यका रूपमा विख्यात रारा ताल पूर्वतर्फको कमजोर भू-भाग र बर्सेनि बढ्दो भू-क्षयीकरणका कारण जोखिममा परेको छ । तालको पूर्वी भागको ताल्चा विमानस्थलतर्फका भागमा बर्सेनि बढ्दै गएको भू-क्षयीकरणले गर्दा मुगुको पर्यटकीय आकर्षणको केन्द्र नै जोखिममा छ ।

पूर्वी भागको करिब पाँच सय मिटर क्षेत्रको माटो कमजोर भएको, अत्यधिक रुख कटान भएको र संरक्षणका लागि कुनै पहल नभएकाले पनि जोखिम बढेको वडाध्यक्ष भामले बताए । ‘विमानस्थल तलको भागमा निरन्तर पहिरो जाने गरेका कारणले रारा तालको भविष्य पनि संकटमा रहेको छ,’ उनले भने,‘यो बाढी पहिरो समयमा नै रोक्न तथा नियन्त्रण गर्न सकिएन भने शिरमा रहेको रारा ताल पनि संकटमा पर्ने देखिन्छ ।’

रारा जोखिममा पर्दै जाँदा पूर्वतर्फको भाग फुट्ने खतरा पनि बढेको छ । रारा ताल समुद्र सतहबाट २९ सय ९० मिटरको उचाइमा छ । यो पाँच किलोमिटर लामो, तीन किलोमिटर चौडा र १६७ मिटर गहिरो छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register