झ्याप्ले खोलामै बिलायो सपना: अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजु–बहिनीको बंगलादेश यात्रा अधुरै
उनीहरूको यात्रा सपनाको सहर काठमाडौंका लागि थियो, जहाँबाट उनीहरू बंगलादेश उड्न लागेका थिए । तर यो यात्रा कहिल्यै पूरा भएन ।
काठमाडौं । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका दिपेश भट्टराई (१५ वर्ष) र दीपिका भट्टराई (१५ वर्ष) जुम्ल्याहा दाजु–बहिनी थिए ।
अहिले कक्षा १० मा अध्ययनरत उनीहरूको सपना एकअर्कालाई साथ दिँदै ठुला अवसरहरू समात्ने थियो ।
गल्याङ नगरपालिका–३, स्याङ्जाका उनीहरु बुटवल बसेर पढ्दै आएका थिए । विद्यालयमा सधैँ उत्कृष्ट नतिजा ल्याउने यी दाजु–बहिनी नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा पहिलो चरणमा छनोट भइसकेका थिए ।
दोस्रो चरणको लागि उनीहरू बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरूलाई ३२ राष्ट्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो, जुन उनीहरूको जीवनकै महत्त्वपूर्ण क्षण बन्ने थियो ।
शुक्रबार उनीहरू आफ्नो सपना पूरा गर्न काठमाडौं जान हिँडे । बुटवलबाट छुटेको माइक्रोबस (लु १ ज ४५७८) मा टिकट लिई दिपेश, दीपिका, र आमा सीता भट्टराई यात्रा थालेका थिए ।
उनीहरूको यात्रा सपनाको सहर काठमाडौंका लागि थियो, जहाँबाट उनीहरू बंगलादेश उड्न लागेका थिए । तर यो यात्रा कहिल्यै पूरा भएन ।
काठमाडौं पुग्न दुई–तीन किलोमिटर मात्र बाँकी थियो, धादिङको झ्याप्ले खोलामा पहिरोले माइक्रोलाई पुरिदियो । यो त्रासदीले न केवल उनीहरूको जीवन, तर भविष्यका सारा सम्भावनाहरू पनि सँगै पुरेर लग्यो ।
गाडीमा रहेका दिपेश–दीपिकासहित १४ जनाको ज्यान गयो । दिपेश–दीपिकाको यात्रा अधुरै रह्यो, सपना उनीहरूसँगै पुरियो । यो समाचार तयार पर्दा अरू गाडीसहितबाट ३५ जना बढीको शव निकालिएको छ ।
दिपेश–दीपिकाको बाबु होमनाथ भट्टराई कोरियामा काम गर्दै छन् । शुक्रबार बिहान श्रीमती सीता र छोराछोरीसँग उनको कुरा भएको थियो ।
उनीहरू बङ्गलादेशको सम्मेलनका लागि निकै उत्साहित थिए, तर होमनाथलाई कल्पना थिएन कि आफ्नो परिवारलाई सधैँको लागि गुमाउने खबर सुन्नुपर्छ । कामबाट फर्किँदै गर्दा उनले यो हृदयविदारक समाचार सुने । परिवारका सबै सदस्यको जीवन एकै साथ पहिरोमा विलायो ।
अब होमनाथ भट्टराई कोरियाबाट फर्किए पनि, स्वागतमा उत्साहित अनुहारहरू होइन, शोकमा डुबेको गाउँलेहरूको भिड सामना गर्नु पर्नेछ ।
होमनाथका १५ वर्षीय छोराछोरी दिपेश र दीपिकाले बुटवलको कालिका माविमा भविष्य निर्माणको यात्रा थालेका थिए । उनीहरूको लक्ष्य थियो एसईईमा उत्कृष्ट प्रदर्शन गरेर उच्च शिक्षा तर्फ अग्रसर हुने ।
विद्यालयका प्रचार्य दिनेश थापाका अनुसार, दिपेश र दीपिका आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थी थिए ।
उनी भन्छन्, ‘विद्यालयले उनीहरूको प्रगतिको लागि सिफारिससहित छुट्टी दिएको थियो । तर उनीहरूको यात्रा कहिल्यै फर्केर नआउने भयो ।’
What's Your Reaction?