किन घटिरहेको छ सेयर बजार ? 

पछिल्लो समय सेयर बजारमा दैनन्दिन गिरावट आइरहेको छ । कहिले सामान्य त कहिले भारी अङ्कले घट्दै गइरहेको बजार बिहीबारको कारोबार समयपश्चात् २४ सयको बिन्दुमा झरिसकेको छ ।

Sep 29, 2024 - 10:01
 0
किन घटिरहेको छ सेयर बजार ? 

काठमाडौं । पछिल्लो समय सेयर बजारमा दैनदिनै गिरावट आइरहेको छ । कहिले सामान्य त कहिले भारी अङ्कले घट्दै गइरहेको बजार बिहीबारको कारोबार समयपश्चात् २४ सयको बिन्दुमा झरिसकेको छ । त्यसो त सेयर बजारको बढाइ र घटाइलाई स्वाभाविक मानिन्छ ।

सेयर बजार विश्लेषणकर्ताहरू घट-बढलाई बजारको सुन्दर पक्षको रूपमा हेर्छन् । तर, हिसाब गरेर हेर्ने हो भने एक महिनाको अवधिमा बजार करिब ६ सय अङ्कले ओरालो लागिसकेको छ । गत महिनाको तथ्याङ्क हेर्ने हो भने एक महिना अघि मात्रै बजारले राम्रो फड्को मारिरहेको थियो ।

धेरैले बजार पुरानो अवस्थामा फर्कियो भनिरहेका थिए । दिनदिनै सर्किट ब्रेक गर्दै उकालो लागिरहेको बजारबाट लगानीकर्तामा छुट्टै खुसी छाएको थियो । गत साउन ३१ गते बजार परिसूचक ३ हजार दशमलव ८१ को बिन्दुमा पुगेको थियो । जुन समयमा एकै दिन २९ अर्ब ९५ करोड ८५ लाखको कारोबार भएको थियो ।

बजार बढ्दा नीति निर्माताकै असन्तुष्टि

सेयर बजार बढिरहँदा केही नीति निर्माताहरूले नै असन्तुष्ट अभिव्यक्ति दिएका थिए । जसले सेयर बजारका लगानीकर्ताहरूमा थप नकारात्मक असर परेको लगानीकर्ताहरू बताउँछन् । नीति निर्माताहरूलाई नै सेयर बजारसम्बन्धीको प्रशिक्षण दिइनुपर्ने भन्दै लगानीकर्ताहरूले सामाजिक सञ्जालमा विरोध गरिरहेका थिए ।

सेयर बजारले गति समाइरहँदा नीति निर्माताहरूबाट नेप्सेले खण्डन र टीकाटिप्पणी सामना गर्नुपर्‍यो । नीति निर्माताहरूको असन्तुष्ट अभिव्यक्तिबाट लगानीकर्ता डराएका थिए । सो समयमा बजारले एकै दिन १४५ अङ्क गुमाएको थियो । यो त केही महिना अगाडि घटेको घटना मात्रै भयो ।

विगतलाई कोट्याउने हो भने नीति निर्माताका यस्ता भड्काव र भयभीत अभिव्यक्ति र टिप्पणीले लगानीकर्तामा अध्यक्ष असर परेको पाइन्छ । जसको साइड इफेक्ट बजार इन्डेक्समा परेको थियो । यद्यपि, अहिले एक महिनादेखि लगातार ओरालो यात्रामा सेयर बजार तैरिरहँदा उनीहरू भने चुप छन् ।

अर्थमा विष्णुको ‘कमब्याक’ले नेप्सेमा ‘बुलबुल’ हुने आश मात्रै

नयाँ सरकार बनेसँगै अर्थको बागडोर सम्हाल्न एमालेका विष्णु पौडेलको ‘इन्ट्री’ले सेयर बजारमा हलचल छाएको थियो । विष्णु पौडेललाई प्रायले सेयर मार्केट बुझेका अर्थमन्त्री पनि भन्दछन् । लगानीकर्ताहरूमा एक प्रकारको उत्साह छाएको थियो । उनी अर्थमन्त्री बनेसँगै आचक्ली बढ्न थालेको बजारले ३ हजारको बिन्दु पार गर्‍यो ।

दैनिक ४/५ अर्बको कारोबार हुने बजारमा दैनिक २१, २२, २३ हुँदै २९ अर्बसम्मको कारोबार हुन थालेको थियो । तर, बजारको वर्तमान अवस्था हेर्दा पुन: बजार एक महिना अगाडिकै लयमा झरेको छ । मङ्गलबारको कारोबार समयपश्चात्‌को डेटा हेर्दा बजार २४ सयको बिन्दुमा झरिसकेको छ भने कारोबार रकम पनि ४ अर्बमा खुम्चिएको छ ।

दशैं नजिकिँदै गर्दा लगानीकर्ताहरू व्यस्त हुने भएकाले किनबेचमा सक्रिय नहुनुले पनि बजार घटिरहेको लगानीकर्ता अजय सिंह थापा बताउँछन् । उनी मानिसहरूको साइकोलोजी नै दशैंभन्दा अगाडि बजार नबढ्ने रहेकाले बजार घटिरहने उनको भनाई छ । उनले केही समयअघि अपेक्षाभन्दा बढी बजार बढेकाले पनि अहिले घटिरहेको बताए ।

नीति कार्यान्वयनमा निष्कर्षविहीन अर्थमन्त्री

नीतिगत हिसाबले हेर्ने हो भने अर्थमन्त्री पौडेलले सेयर बजारको लागि कुनै प्रभावकारी काम गरेको देखिँदैन । यद्यपि, असोज २ गते अर्थमन्त्री पौडेलले नेपाल स्टक एक्सचेन्जको कार्यालय पुगेर सेयर बजार घट्नुको कारण खोजी गरेका छन् । उनी राजस्व सचिवसहितको प्रतिनिधिमण्डल लिएर स्टक एक्सचेन्जको कार्यालय पुगेका थिए ।

अब एकैछिन प्रक्रियारत नीतिको पनि प्रसङ्ग जोडौँ, सेयर बजार सुधारका लागि पेश गरिएको फाइल लामो समयदेखि अर्थ मन्त्रालयमै थन्काइएको छ । ९ महिनाअघि पेश गरिएको नेप्से पुनर्संरचनाको विषयमा अर्थमन्त्री पौडेलका कुनै जवाफ छैन ।

साना तथा मझौला उद्यमको धितो पत्र कारोबारका लागि एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउने प्रतिवेदन, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार खुला गर्ने प्रतिवेदन एक वर्षदेखि मन्त्रालयमै थन्किएका छन् ।

मार्जिन ल्यान्डिङ, डिलर सेवा विस्तार, इन्ट्रा डे कारोबार, अकस्म मार्केटको व्यवस्था, सामूहिक लगानी कोषको सञ्चालन, दुबै ओटीसी मार्केटलगायत सुधारका काम अझै अगाडि बढेका छैनन् । यीलगायतका धेरै नीतिहरूको कार्यान्वयनका विषयमा अर्थमन्त्री निष्कर्षविहीन देखिन्छन् । नीतिगत सम्बोधनका विषयमा सरकार चुकिरहँदा बजार घटेको लगानीकर्ताहरूको दाबी छ ।

अहिलेसम्म आधिकारिक र विज्ञ बजार विश्लेषक छैनन्

पछिल्लो समय सेयर बजारको विश्लेषण गर्ने बजार विश्लेषकहरूको सङ्ख्या बढ्दो मात्रामा छ । त्यस्ता विश्लेषकहरूले कम्पनीको रेटिङ गरिदिँदा साधारण लगानीकर्ता अलमलिने गरेको नेप्सेले जनाएको छ । बजार बढेसँगै लगानीकर्तालाई प्रशिक्षण र सुझाव दिन व्यस्त हुन्छन् बजार विश्लेषक ।

यद्यपि, उनीहरूले भनेअनुरूपको बजार घटबढ भएको पाइँदैन । नेप्सेका अनुसार हालसम्म आधिकारिक रूपमा कुनै निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा मान्यता प्रदान गरिएको छैन । एक सूचना जारी गर्दै नेप्सेले कसैको कुरा नसुनी यथार्थ बुझेर लगानी गर्न सबै लगानीकर्ताहरूलाई सुझाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register