बाढी-पहिरोले देश थला : उद्धार तथा अन्त्येष्टिमा हिँडेका आफन्तलाई वायुसेवाको निर्मम लुट

यस्तो विपद्को घडीमा वायुसेवा कम्पनीहरूले सहानुभूतिपूर्वक न्यूनतम भाडा निर्धारण गर्नु त परको कुरा, उपभोक्ता ‘लुट्ने’ माध्यम बनेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

Sep 29, 2024 - 11:57
 0
बाढी-पहिरोले देश थला : उद्धार तथा अन्त्येष्टिमा हिँडेका आफन्तलाई वायुसेवाको निर्मम लुट

काठमाडौं । सामान्य अवस्थामा काठमाडौं-विराटनगरको हवाई भाडा ५ हजार ७०० रुपैयाँ हो। तर, अहिले नि ? हवाई कम्पनीहरूले यो रकम लगभग दोब्बर बढाएर ९ हजार ९०० रुपैयाँ पुर्‍याएका छन् ।

यो केबल विराटनगरको मात्रै कुरा होइन । काठमाडौं-पोखराको भाडासमेत दोब्बरभन्दा बढीले बढाइएको छ । जुन सामान्य अवस्थामा २ हजार ५०० रुपैयाँ हुन्छ तर, अहिले यो बढेर ६ हजार ७०० रुपैयाँ पुगेको छ ।

काठमाडौंबाट भद्रपुर जाने भाडा पनि ८ हजारभन्दा बढी हुँदैनथ्यो तर, आज त्यही टिकेट १२ हजार २०० रुपैयाँमा बिक्री गरिँदैछ । काठमाडौं-नेपालगन्जको भाडा, जुन औसतमा ८ हजारमा सीमित हुन्छ । तर, अहिले १३ हजार २०० रुपैयाँसम्म लिइरहेका छन् ।

देशभर बाढी र पहिरोका कारण स्थलमार्ग अवरुद्ध छ । सङ्घीय राजधानी काठमाडौंबाट बाहिरिने सबै स्थलमार्ग ठप्प छन् । बिहीबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण बाढी तथा पहिरोमा परी १ सय २९ जनाले ज्यान गुमाइसकेका छन्, ६२ जना अझै बेपत्ता छन् ।

मानिसहरू त्रासदीको चपेटामा छन्, परिवारका सदस्यलाई भेट्न अन्त्येष्टि गर्न वा उद्धारमा जान न सडक खुला छ, न बाटो सुरक्षित नै छ । पुल बगाएको छ, सडक भत्किएको छ, अधिकांश सडक अवरुद्ध छन् ।

तर, यस्तो दुर्दशाको बेला वायुसेवा कम्पनीहरूले मानिसहरूको पीडामाथि थप दु:ख थपिरहेका छन् । बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सलगायत सबै निजी हवाई सेवा प्रदायकहरूले मानवीय सङ्कटलाई ‘लुटको अवसर’को रूपमा मनाइरहेका छन् ।

हवाई यात्रा अहिले एकमात्र विकल्प भएको कारणले उनीहरूले हदैसम्मको नाफा उठाइरहेका हुन् । दशैंका लागि खुलेको टिकटको पनि यस्तो भाडा छैन तर, सङ्कटको बेला वायुसेवा कम्पनीहरू उपभोक्ताको पीडामा मल्हम होइन, नुनचुक छर्किरहेका छन् ।

यस्तो विपद्को घडीमा वायुसेवा कम्पनीहरूले सहानुभूतिपूर्वक न्यूनतम भाडा निर्धारण गर्नु त परको कुरा, उपभोक्ता ‘लुट्ने’ माध्यम बनेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

मानवताको उपहास गर्दै सङ्कटमा पनि कसरी मुनाफा बटुल्ने भन्ने उनीहरूको यो क्रूर खेल, सरकार र सम्बन्धित निकायका लागि गम्भीर प्रश्न बनेको छ ।

समितिको निर्देशन- भाडा नबढाऊ

हवाई भाडा अचाक्ली बढेपछि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपद्को मौका छोपेर हवाई भाडा आफूखुसी नबढाउन निर्देशन दिएको छ ।

समिति सचिव सुरजकुमार दुराले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै यस विषयमा आवश्यक निर्देशन तथा सहजीकरण गरिदिन अनुरोध गरेका हुन् ।

देशको विभिन्न स्थानमा मनसुनी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा अवस्थामा सरकार र सरोकारवाला पक्षले आ-आफ्नो स्थानबाट जिम्मेवार बन्नुपर्ने समितिको पत्रमा उल्लेख छ ।

दशैंको मुखमा आएको विपत्तिले जनतामा त्रासको वातावरण सृजना गरेको र देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको असरले सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको समितिले उल्लेख गरेको छ ।

भनिएको छ, “यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पको रूपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ ।”

त्यहाँ थप भनिएको छ, “तसर्थ, हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवश्यक निर्देशन हुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु ।”

वायुसेवा कम्पनीलाई प्राधिकरणको बोलावट

विपद्‌मा हवाई भाडा महङ्गो बनाएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीलाई डाकेको छ । प्राधिकरणले वायुसेवा कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घसँग सदस्य रहेका सबै वायुसेवा कम्पनीलाई आकस्मिक बैठक बोलाएको नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए ।

काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने अधिकांश स्थलमार्ग पूर्ण रूपमा बन्द छन् । यही मौकाको फाइदा उठाउँदै अस्वाभाविक भाडा लिन थालेको पाइएपछि प्राधिकरणले कम्पनीहरूलाई बोलाएको हो ।

“वायु सेवा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वसमेत भुलेर भाडा राख्नु गलत हो । हामीले यसमा हस्तक्षेप गर्नेछौँ’ ती कर्मचारीले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register