घरबास गुमाएकाहरूको पुनर्स्थापना गर्ने सर्वदलीय बैठकको निर्णय

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको यो बैठकले बाढी पहिरो पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित वासस्थान, खानपिन, पानी र अन्य राहत सामग्री उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो ।

Sep 29, 2024 - 12:29
 0
घरबास गुमाएकाहरूको पुनर्स्थापना गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं  । सर्वदलीय बैठकले बाढी पहिरोको कहरबाट घरबास गुमाएका नागरिकहरूको पुनर्स्थापना प्रक्रियालाई  अघि बढाउने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको यो बैठकले बाढी पहिरो पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित वासस्थान, खानपिन, पानी र अन्य राहत सामग्री उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो ।

शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै पीडितहरूका लागि उचित आवासको प्रबन्ध गर्न तत्काल आवश्यक कदम चाल्ने बताइएकाे छ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले हालसम्म १५१ जनाको मृत्यु भएको छ भने ५६ जना अझै बेपत्ता छन् । क्षतिको विवरण संकलन भइरहेको भए तापनि उद्धार, राहत र पुनर्स्थापना कार्यलाई प्राथमिकता दिने सर्वदलीय बैठकको निष्कर्ष रहेको छ ।

बैठकले बाढीपहिरोले अवरुद्ध राजमार्गमा अलपत्र यात्रुहरूलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन जिल्ला विपद् व्यवस्थापन समिति, यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएको छ ।

यसैगरी, राजधानी जोड्ने राजमार्गहरूलाई तत्काल सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्नेछ ।

ऊर्जा मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत् गृहहरूको मर्मत गरी विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ भने सञ्चार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा पुनःस्थापना गर्ने निर्णय भएको छ ।

खानेपानी मन्त्रालयले प्रभावित क्षेत्रका खानेपानी प्रणालीहरूको मर्मत सम्भारमा ध्यान दिनेछ ।

बैठकले खाद्यान्न, तरकारी, फलफूल, ग्यासजस्ता अत्यावश्यक उपभोग्य सामग्रीहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउन विशेष व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

साथै, बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षाकर्मीको भवन, विद्युत् संरचना लगायतको विवरण संकलन गरेर पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

सर्वदलीय बैठकले विपद्को बेलामा सबै तहका सरकार, दलहरू र निजी क्षेत्रको समन्वयात्मक प्रयासमा उद्धार, राहत र पुनर्स्थापना कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ । साथै, प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा निजी क्षेत्र, संघसंस्था र नागरिकहरूलाई सहयोग गर्न आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register