झ्याप्ले खोला घटना: बिहेको दुई महिनामै अस्तायो अनु र प्रकाशको जोडी, रहिनन् बहिनी पनि

केही दिन त्यहाँ बसेपछि प्रकाश र अनुले विवाह दर्ता गराए । त्यसपछि उनी काठमाडौंतर्फ लागे । २८ वर्षीया बहिनी सिर्जना कुँवरसहित । तर, गन्तव्यमा पुग्न नपाउँदै पहिरोमै अस्ताए ।

Sep 29, 2024 - 13:33
 0
झ्याप्ले खोला घटना: बिहेको दुई महिनामै अस्तायो अनु र प्रकाशको जोडी, रहिनन् बहिनी पनि

काठमाडौं । बुटवलका ३७ वर्षीय प्रकाश कुँवर केही दिनपछि कोरिया फर्किने तरखरमा थिए ।

२ महिनाअघि कोरियाबाट स्वदेश फर्केर उनले साउन २७ गते काठमाडौंकी ३४ वर्षीया अनु मल्लसँग बिहे गरेका थिए ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह पहाड घर भएका उनीहरू विवाहपछि घुम्न गुल्मी पुगेका थिए ।

केही दिन त्यहाँ बसेपछि प्रकाश र अनुले विवाह दर्ता गराए । त्यसपछि उनी काठमाडौंतर्फ लागे । २८ वर्षीया बहिनी सिर्जना कुँवरसहित ।

उनले कोरियाको टिकट काटिसकेका थिए । उनी अक्टोबर १८ मा कोरियामा फर्कने तयारीमा थिए । परिवारका अन्य सदस्य काठमाडौंमै रहेकाले भेटघाट गर्ने, दशै‌ं त्यही मनाउने र उतैबाट कोरिया फर्किने उद्देश्यले बहिनी र श्रीमतीलाई लिएर प्रकाश शुक्रबार बिहान काठमाडौं हिँडे ।

तर, बिहीबार रातिदेखिको अविरल वर्षा कारण देशभर जताततै बाढी पहिरो गइरहेको थियो । उनीहरु पनि त्यसकै सिकार बने । उनीहरु सवार लु १ ज ४५७८ नम्बरको माइक्रो बस झ्याप्लेखोलामा पहिरोले पुरियो ।

कोरिया जाने प्रकाशको सपना त्यहीँ अन्त्य भयो । अनुको सिन्दुर पुछियो, बिहेको दुई महिनामै ।

बेलायत जानको लागि भाषा पढ्न काठमाडौं लागेकी सिर्जना पनि त्यहीँ बिलाइन् । उनले भारतको बेंग्लोरबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेकी थिइन् । भाषा कक्षाको परीक्षा दिनुपर्ने भएकाले काठमाडौंबाटै दिने गरी दाजुभाउजूसँगै गएकी थिइन् ।

सो बसमा सवार गुल्मी दरबार गाउँपालिकाको चारपालाका ६३ वर्षीय जुद्धबादुर रायमाझी, उनकी बुहारी २८ वर्षीया प्रमिता रायमाझी र २ वर्षका नाती क्रिस रायमाझीको पनि मृत्यु भएको छ ।

उक्त घटनामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ । अझै केही पुरिएको प्रहरीको आशंका छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register