देशभर ११ वटा पुल बगे, ऊर्जातर्फ २ अर्ब ४५ करोडको क्षति

सडक विभागको तथ्याङ्कअनुसार बाढीले देशभर ११ वटा पुल बगाएको छ । जसमा कल्भर्ट १, बेली ब्रिज २, आरसीसी सीम्प्ली सपोर्टेड ४, आरसीसी प्रेस्टेसेस २, अर्च १ र स्टिल ट्रुल प्रेस १ वटा रहेका छन् ।

Sep 29, 2024 - 13:57
 0
देशभर ११ वटा पुल बगे, ऊर्जातर्फ २ अर्ब ४५ करोडको क्षति

काठमाडौं । बिहीबार रातिबाट शनिबार साँझसम्म भएको अविरल वर्षाका कारण देशले ठूलै क्षति बेहोर्नुपर्‍यो । वर्षापछि सृजित बाढी तथा पहिरोका कारण व्यापक धनजनको क्षति भयो ।

बाढी तथा पहिरोमा परेर अहिलेसम्म १२५ भन्दा बढी मानिको मृत्यु भइसकेको छ भने कतिपय खोला तथा नदीहरूमा निर्माण गरिएका पुलहरू बगेका छन् भने कतिपयमा पुलहरूमा आंशिक क्षति पुगेको छ ।

मुख्य तथा अन्य सडकखण्डमा बनेका पुलहरू बाढीले बगाएसँगै मानिसमा दशैं नजिकिँदै गर्दा गाउँ कसरी फर्किने भन्ने चिन्ता पलाएको छ ।

यता सडक विभागले भने करिब २ अर्बको भौतिक क्षति भएको प्रक्षेपण गरेको छ । विभागका सूचना अधिकारी इन्जिनियर अमित कुमार शर्माले पुलपुलेसो तथा अन्य इन्फ्रा-स्टक्चरहरूसमेत गरेर झन्डै २ अर्बको क्षति भएको आकलन गरिएको हो जानकारी दिए । 

११ वटा पुल बगे 

सडक विभागको तथ्याङ्कअनुसार बाढीले देशभर ११ वटा पुल बगाएको छ । जसमा कल्भर्ट १, बेली ब्रिज २, आरसीसी सीम्प्ली सपोर्टेड ४, आरसीसी प्रेस्टेसेस २, अर्च १ र स्टिल ट्रुल प्रेस १ वटा रहेका छन् ।

बाढीले मध्यराजमार्ग चिया भञ्जाङ गणेश चोकको ओम खोला पुल बगाएको तथ्याङ्कमा उल्लेख छ । जसको पुनर्निर्माणका लागि १० करोड रुपैयाँ लाग्ने बताइएको छ । त्यस्तै, सोही स्थानको फलामे खोला पुल पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । जसको मर्मतका लागि १० करोड रुपैयाँ लाग्ने उल्लेख छ ।

तथ्याङ्कअनुसार सोही स्थानको नुवा खोला पुलमा आंशिक  क्षति पुगेको छ । त्यसको मर्मतका लागि २ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।

स्रोत : सडक विभाग

त्यसैगरी पूर्वतिर धरानको हेवा खोला पुलमा पूर्ण रूपमा क्षति पुगेको छ । त्यसको निर्माणका लागि ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उता खाँदबारीको एकुवा खोला पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले मर्मत तथा सम्भारका लागि ४० करोड रुपैयाँ खर्च हुने उल्लेख छ ।

महेन्द्रनगरको सुधा खोला पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ । त्यसको मर्मतका लागि ३० करोड लाग्ने बताइएको छ । यसका साथै इलामको हेवा खोलाले ब्रेली ब्रिज बगाएको छ भने खुर्कोटको सुनकोशी पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ ।

उता इलामको राते खोलामा निर्माणाधीन पुल पनि बाढीले बगाएको छ । धरानको सुनकोशी नदीले निर्माणाधीन अर्च पुल बगाएको छ । त्यसको पुन: स्थापनाको लागि ११ करोड लाग्ने भनिएको छ ।

सबैको पुनर्निर्माण तथा मर्मतका लागि गरेर झन्डै २ अर्ब लाग्ने बताइएको छ ।

७८८ सडक अवरुद्ध 

सडक विभागको तथ्याङ्कनुसार अहिले ७८८ स्थानमा सडक अवरुद्ध छन् । बाटो पन्छाउने र वैकल्पिक बाटो खोज्ने प्रक्रिया भइरहेको सूचना अधिकारी शर्मा बताउँछन् । उनका अनुसार यातायात अवरुद्ध भएका कुल सडकहरूको सङ्ख्या ४२ रहेको छ ।

स्रोत : सडक विभाग ।

४०१ स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने यातायात अवरुद्ध रहेको स्थान ४७ वटा रहेको छ । त्यस्तै हाल यातायात अवरुद्ध रहेको राजमार्ग १७ वटा रहेको छ ।

ऊर्जा क्षेत्रमा २ अर्बको क्षति 

ऊर्जा क्षेत्रमा बाढी र पहिरोका कारण २ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यतिबेला ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति भएको अनुमान गरिएको छ ।

बाढी र पहिरोको कारण १६ जलविद्युत् आयोजनामा क्षति भएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register