माथिल्लो सडकबाट झरेको पहिरोले तल्लो सडकका सवारीसाधन पुर्दा झ्याप्ले खोला दुर्घटना

काठमाडौं ।  यही असोज १० गते बिहीबार राति देखि नै देशभर वर्षा सुरु भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । शुक्रबार वर्षा अझ ठूलो भयो । अवरोध छिचोल्दै काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् । काठमाडौं र धादिङको […]

Sep 29, 2024 - 16:53
 0
माथिल्लो सडकबाट झरेको पहिरोले तल्लो सडकका सवारीसाधन पुर्दा झ्याप्ले खोला दुर्घटना

काठमाडौं ।  यही असोज १० गते बिहीबार राति देखि नै देशभर वर्षा सुरु भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् ।

शुक्रबार वर्षा अझ ठूलो भयो । अवरोध छिचोल्दै काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् ।

काठमाडौं र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए । सकड सवारीसाधनले भरिभराउ थिए । रातिमा सवारीसाधन अघि बढ्न सकेनन् ।

शनिवार बिहान ४ः०० बजे नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक (झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा) बजारियो । ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो । माथिल्लो सडकको सीमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुङ्गा सुरुङमार्गभन्दा केही वर पिप्लामोटपट्टी पर्छ ।

स्थानीय नानु लामाले भनिन्, “पहिरो गाडीमाथि खस्यो । अघिल्तिर रहेका साना सवारीसाधनमा रहेका केहीलाई हामीले तानेर बचायौँ, अन्य ठूला सवारीसाधनमाथि पहिरो खसिसकेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, हामीले बचाउन सक्ने अवस्था थिएन । पसल नै बगाउने डरले हामी पिप्लामोडतर्फ भाग्यौँ ।”

लामाका अनुसार प्रहरीलाई त्यसबारे खबर गरिएको थियो । “केही समयपछि प्रहरी आए । त्यसपछि केके भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ”, उनले भनिन्।

नागढुङ्गादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो । तत्काल सवारीसाधन चल्ने अवस्था थिएन । अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ । प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो सङ्घर्ष गर्नुपरेको बताउँछन् ।

यात्रुहरु परिवारजनलाई खोज्दै

घटनास्थलको दृश्य कारुणिक देखिन्छ । सवारीसाधन क्षतविक्षत भएका छन् । शवहरु पुरिएको ठाउँबाट निकालिएकाले अनुहार चिनिने अवस्था छैन । शवहरु गाडीभित्रै पुरिएको अवस्थाबाट निकालिएका छन् ।

यात्रुका आफन्तहरु आफ्नाहरुको अवस्थाबारे बुझ्न आइपुगेका छन् । उनीहरु आफन्तको खोजीका लागि हारगुहार गरिरहेका छन् । उनीहरु आँसु रोक्न सकिरहेका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना उद्धारमा सक्रिय छ ।

केही सवारीसाधनबाट शव निकालिएको छ भने गोरखाबाट आएको सवारीसाधन पुरिएकै अवस्थामा छ । निकाल्ने काम जारी छ । अहिलेसम्म ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register