पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ अन्तर्गत उनीहरूले खेतीसमेत गरेका छन् । विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ । वालिङ नगरपालिकाको ‘एक विद्यालय एक करेसाबारी अभियान’अन्तर्गत सिक्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयले मौसमी तथा […]

Jun 24, 2025 - 03:18
 0
पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ अन्तर्गत उनीहरूले खेतीसमेत गरेका छन् । विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।

वालिङ नगरपालिकाको ‘एक विद्यालय एक करेसाबारी अभियान’अन्तर्गत सिक्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयले मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आइरहेको छ । विद्यालयले शैक्षिक सत्र २०८१ देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिनुभयो । नगरपालिकाले यो कार्यक्रम सञ्चालनका लागि शैक्षिक वर्ष २०८१ मा १ लाख उपलब्ध गराएको थियो भने चालू शैक्षिक वर्षका लागि पनि १ लाख उपलब्ध गराउने गरी सम्झौता भइसकेको उहाँले बताउनुभयो ।

विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य नगरपालिकाले लिएको छ । तरकारी खेतीमा काम गर्ने किसान नभई विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थी छन् । सरकारले कक्षा १–५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपियाँ उपलब्ध गराउँदै आएको छ । कक्षा १–८ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको प्र.अ. खनालले बताउनुभयो ।

‘विद्यालयसँगै जोडिएको स्थानीयको ३ रोपनी जग्गा भाडामा लिएर शिक्षक विद्यार्थी मिलेर मौसमी तथा बेमौसमी जातका तरकारी उत्पादन गर्दै आएका छौँ’, उहाँले भन्नुभयो– ‘यहाँ उत्पादन भएको तरकारी विद्यालयको दिवा खाजामा प्रयोग गर्छौँ ।’ दिवा खाजामा प्रयोग गरेर रहेको उत्पादनलाई बिक्री गरी चामल, चनालगायतका अन्य खाद्यान्न विद्यालयले खरिद गर्दै आएको छ । कक्षा ६, ७, ८ का विद्यार्थी र शिक्षकहरूले कक्षा खाली भएका बेला, बिदाका दिनमा सामूहिक रूपमा करेसाबारीमा तरकारी लगाउन सिक्ने गरेका छन् ।

विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन नगरपालिकाले नमुनाका रुपमा केही विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ लागू गरेको हो । सोही कार्यक्रमअन्तर्गत विद्यालय करेसाबारी कार्यक्रमबाट आफूहरुले कृषिसम्बन्धी सैद्धान्तिक र व्यवहारिक सिकाइ गर्न पाएको विद्यार्थी बताउँछन् । विद्यार्थी प्रशान्त पौडेल कृषिसम्बन्धी सिकाइ भइरहेको बताउनुहुन्छ । मलखाद बोक्ने, खनजोत गर्ने अथवा भारी कामका लागि कामदार खोज्ने र हल्का काम शिक्षक विद्यार्थीबाट हुने गरेको छ ।

करेसाबारीमा टनेलभित्र र बाहिर गरी मौसमी र बेमौसमी तरकारीअन्तर्गत करेला, घिरौँला, काँक्रा, खुर्सानी, गोलभेडा, काउली, बन्दा, आलु, प्याज, लसुन उत्पादन गरिँदै आएको छ । विद्यालयले गत शैक्षिक सत्र २०८१ मा ८० हजारको गोलभेंडालगायतका तरकारी बिक्री गरेर आम्दानीसमेत गर्न सफल भएको प्र.अ. खनालले बताउनुभयो । यसवर्ष दिवा खाजामा प्रयोग गर्न मिल्ने खालका तरकारीसँगै व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेती गरिएको छ । अहिले विद्यालयको करेसाबारीमा १ हजार बोट अकबरे खुर्सानी लगाइएको छ ।

‘हामीले बारीमा काम गर्न रुचि नै देखाउने गरेका थिएनौँ । घरमा आमाबुबाले बारीमा काम गर्दा हामीले कहिल्यै चासो दिएनौँ’, विद्यार्थी राजीव खाँण भन्नुहुन्छ– ‘अब विद्यालयमा पढाइ नै हुन थालेपछि सिक्न थाल्यौँ, अब घरमा अभिभावकलाई पनि तरकारी खेती गर्ने तरिकाबारे सिकाउँदै छौँ । बल्ल कृषि पनि पढाइ रहेछ भन्ने बुझ्न थालेका छौँ ।’ विद्यार्थीले पढाइसँगै दैनिक जीवनमा प्रयोग हुने ज्ञान सीप विद्यालयमै सामूहिक रूपमा सिक्न पाएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खाँण ठकुरीले बताउनुभयो ।

‘विद्यालयमा सिकेको सीप आफ्नो घरमा आएर पनि प्रयोग गर्न विद्यार्थीहरू सक्ने भएका छन्’, उहाँले भन्नुभयो– ‘यसबाट विद्यार्थी तथा अभिभावकहरूमा सकारात्मक सन्देश गएको छ, सिक्दै कमाउँदै कार्यक्रम प्रभावकारी भएको छ ।’ ग्रामीण भेगमा रहेको उक्त विद्यालयमा ७६ जना विद्यार्थी र ११ जना शिक्षक तथा कर्मचारी रहेका छन् ।

कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन नगरपालिकाले पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ सञ्चालन गरेको छ । करेसाबारी कार्यक्रम सञ्चालन हुँदा आफूले विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा आफ्ना आमाबुवालाई जानकारी गराउने गरेको विद्यार्थी राधिका एसके बताउनुहुन्छ । ‘तरकारी खेतीबारे सिकाइसँगै मिलेर काम गर्दा रमाइलो हुन्छ ।

हामी रमाउँदै खेती गर्न सिकिरहेका छांै’, उहाँ भन्नुहुन्छ– ‘हामीले नयाँ प्रविधि र नयाँ अभ्यास सिकिरहेकाले अभिभावकलाई पनि सिकाउँछौँ ।’ पालिकाले कृषिमा विद्यार्थीको आकर्षण बढाउनका लागि थालेको यो कार्यक्रम प्रभावकारी रहेको स्थानीय बताउँछन् । स्थानीय सुरेश अर्यालले पालिकाले विद्यालयमा कृषि कर्म सिकाउन थाल्नु नयाँ अभ्यास भएको बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register