विपद्का बेला काठमाडौं उपत्यकामा निःशुल्क हेलिकप्टर उद्धार सेवा

काठमाडौँ। सरकारले विपद्को अवस्थामा काठमाडौं उपत्यकामा निःशुल्क हेलिकप्टरमार्फत खोज तथा उद्धार सेवा सञ्चालन गर्ने भएको छ। गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच मंगलबार यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सम्पन्न उक्त समझदारी अनुसार अब उपत्यकाभित्र आपतकालीन अवस्थाहरूमा निजी हेलिकप्टर कम्पनीहरूले सामाजिक उत्तरदायित्वको रूपमा उद्धार कार्यमा सहभागी हुनेछन्। गृह मन्त्रालय अन्तर्गतको […]

Jul 1, 2025 - 17:02
 0
विपद्का बेला काठमाडौं उपत्यकामा निःशुल्क हेलिकप्टर उद्धार सेवा

काठमाडौँ।

सरकारले विपद्को अवस्थामा काठमाडौं उपत्यकामा निःशुल्क हेलिकप्टरमार्फत खोज तथा उद्धार सेवा सञ्चालन गर्ने भएको छ। गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच मंगलबार यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सम्पन्न उक्त समझदारी अनुसार अब उपत्यकाभित्र आपतकालीन अवस्थाहरूमा निजी हेलिकप्टर कम्पनीहरूले सामाजिक उत्तरदायित्वको रूपमा उद्धार कार्यमा सहभागी हुनेछन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भएको उक्त सहमति अनुसार अब विपद्‌मा परेकाहरूको जीवनरक्षाको निम्ति तत्काल हेलिकप्टर परिचालन गर्न सकिनेछ।

समझदारी अनुसार, संघले उपत्यकाभित्र विपद्‌को समयमा आवश्यक परेको अवस्थामा निःशुल्क रूपमा हेलिकप्टर परिचालन गर्ने प्रतिबद्धता जनाएको छ। खोज तथा उद्धारका लागि आवश्यकतानुसार पालो मिलाएर निजी हेलिकप्टर सेवा प्रदायक तोक्ने र ती सेवाप्रदायकका सम्पर्क व्यक्तिको विवरण नियमित रूपमा अद्यावधिक गर्ने व्यवस्था गरिएको छ।

गृह मन्त्रालयका अनुसार, हरेक दिन तयारी अवस्थामा रहेका हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले मन्त्रालयको मौखिक वा लिखित अनुरोधमा तुरुन्तै हवाई उडान गर्नुपर्नेछ। मन्त्रालयले उद्धार उडानका लागि नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक समन्वय गरी कार्यान्वयनलाई सहज बनाउने जनाएको छ।

उपत्यका बाहिर विपद्का घटनामा हेलिकप्टर परिचालन गर्नुपरेमा पनि कम्पनीको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै न्यूनतम खर्चमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। उद्धार कार्यमा प्रयोग भएको प्रमाणित कागजात प्राप्त भएपछि मात्र राष्ट्रिय विपद् प्राधिकरणमार्फत भुक्तानी दिने व्यवस्था गरिएको छ।

समझदारीलाई प्रभावकारी बनाउँदै कार्यान्वयनको अनुगमन गर्न गृहमन्त्रालय, प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा संघका प्रतिनिधिहरू सम्मिलित एक समन्वय समिति गठन गरिने बताइएको छ।

यो समझदारी प्रारम्भमा एक वर्षका लागि कायम हुनेछ, तर आपसी सहमतिमा नवीकरण गर्न सकिने उल्लेख गरिएको छ। सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश प्रसाद भट्ट र वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेका थिए।

सम्झौता पश्चात बोल्दै गृहमन्त्री लेखकले यसलाई असल कार्यको सुरुवातको रूपमा लिएका छन्। “हामी अहिले मनसुनको प्रारम्भिक चरणमा छौं। मनसुनजन्य विपद्बाट ठुलो जनधनको क्षति हुने सम्भावना रहेकोले सुरक्षाको लागि राज्य तयारी अवस्थामा छ,” मन्त्री लेखकले भने।

उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई विपद् व्यवस्थापनमा अझ सक्रिय बनाइने जानकारी दिँदै सहयोगका लागि वायुसेवा सञ्चालक संघलाई धन्यवाद दिएका थिए। “हामी एकजुट भएर विपद्को सामना गर्न सक्नेछौं,” उनले भने।

सरकारको यो पहलले काठमाडौं उपत्यकामा भूकम्प, पहिरो, डुबान लगायतका विपद्मा तत्काल उद्धार सम्भव हुने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register