पहाडदेखि हिमालसम्मै फैलियो डेंगु

–जनस्वास्थ्यमा गम्भीर चुनौती–मनसुनसँगै झाडा–पखाला, टाइफाइड, ज्वरो र अन्य रोग पनि बढ्दै काठमाडौं । नेपालमा यो वर्षको मानसुन शुरू भएसँगै डेंगु तथा अन्य पानीजन्य सरुवा रोगहरू तीव्र रूपमा फैलिन थालेको छ । जनवरीदेखि जुनसम्म मात्रै ७२ जिल्लामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये वागमती, कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी देखिएका छन् । नेपालमा डेंगु संक्रमण […]

Jul 4, 2025 - 02:33
 0
पहाडदेखि हिमालसम्मै फैलियो डेंगु

–जनस्वास्थ्यमा गम्भीर चुनौती
–मनसुनसँगै झाडा–पखाला, टाइफाइड, ज्वरो र अन्य रोग पनि बढ्दै

काठमाडौं ।

नेपालमा यो वर्षको मानसुन शुरू भएसँगै डेंगु तथा अन्य पानीजन्य सरुवा रोगहरू तीव्र रूपमा फैलिन थालेको छ । जनवरीदेखि जुनसम्म मात्रै ७२ जिल्लामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये वागमती, कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी देखिएका छन् । नेपालमा डेंगु संक्रमण पहिलोपटक २०६१ सालमा चितवनमा देखिएको थियो । त्यसयता डेंगु देशभर फैलँदै गयो । २०७९ सालमा डेंगु सबै ७७ जिल्लामा फैलिएर लगभग ५५ हजार केस र ८८ जनाको मृत्यु भएको थियो । गत वर्ष करिब ४२ हजार केस रिपोर्ट भएका थिए ।

यस वर्षको पहिलो ६ महिनामै लगभग १ हजार ५ सय संक्रमित भेटिइसकेका छन् । विशेषगरी काठमाडौं उपत्यका, पोखरा, विराटनगर, धरानलगायत सहरी क्षेत्रमा दैनिक ४–५ नयाँ केस देखा परिरहेका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार डेंगु फैलाउने लामखुट्टेहरू वर्षा शुरू हुनेबित्तिकै पानी जम्ने ठाउँमा प्रजनन गर्छन् । तापक्रम र आद्र्रताको वृद्धिले यो संक्रमण पहाडी तथा हिमाली जिल्लासम्म पनि फैलिएको छ । हालसम्म १७ वटा पहाडी जिल्लामा डेंगु पुष्टि भइसकेको छ । असार देखियता बढ्दै गएको छ र आगामी हप्ता अझै बढ्दै जाने अवस्था छ । सरकारले लामखुट्टे खोज र नष्ट गर अभियानमा ध्यान दिएको अवस्था छैन । कोभिडअगाडि यस्तो अभियान जारी थियो ।

सन् २०२२ मा आउटब्रेक भएको थियो । पछिल्लो समय कुनै पनि समयमा काठमाडौंलगायतका कुनै पनि ठाउँमा आउटब्रेकको रूप लिन सक्छ । आउटब्रेक भएपछि हैन पहिला नै सतर्कता अपनाउनुपर्छ । तनहुँमा आउटब्रेक भइसकेको सूचना आएको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यस वर्ष दक्षिण एसियामा लम्बिएको मनसुन र अत्यधिक गर्मीका कारण डेंगु र अन्य कीटजन्य रोगहरूको जोखिम उच्च रहेको चेतावनी दिएको छ ।
उहाँ भन्नुभयो– ‘डेंगुसँगै झाडा–पखाला, कोलेरा, टाइफाइडजस्ता रोगहरू पनि बढेका छन् ।

काठमाडौं उपत्यकाका टेकुलगायतका अस्पतालहरूमा दैनिक १२ जनाभन्दा बढी डायरियासम्बन्धी केस रिपोर्ट भइरहेका छन् । दूषित खानेपानीकै कारण बाढी प्रभावित क्षेत्रहरूमा संक्रमण फैलिन सक्ने जोखिम उच्च छ । झाडापखालाभन्दा हैजा कडा देखिएको छ ।

खानेपानी तथा सरसफाइ विभागका अनुसार हाल काठमाडौंमा आपूर्ति हुने पानीमा फेकल कोलिफमको मात्रा सामान्यभन्दा धेरै भेटिएको छ, जुन पेटको रोग फैलाउने मुख्य कारण हो । नाकबाट रगत बग्ने, पेट दुख्ने, थकान र अत्यधिक ज्वरोजस्ता लक्षणहरू देखिन थालेको डा. पुनले बताउनुभयो । धेरै बिरामीहरू सामान्य लाग्ने लक्षण लिएर पनि गम्भीर अवस्थामा अस्पताल आउने गरेका छन् । डेंगुका चार सिरोटाइपमध्ये हाल डीईएनभी–३ सबैभन्दा बढी सक्रिय छ, जसले दोस्रोपटक संक्रमण हुँदा गम्भीर रूप लिन सक्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पूर्वतयारीमा रहन निर्देशन दिएको भनिए पनि खासै जनचेतनाको स्तरमा काम भएको देखिएको छैन । काठमाडौं महानगरपालिकालगायतका केही स्थानीय निकायले जनचेतनाका लागि विगत वर्षहरूमा कार्यक्रम गरेको र यो वर्ष भने कुनै कार्यक्रम भएको देखिएको छैन ।

विशेष गरी पहाडी तथा सुदूर जिल्ला स्वास्थ्य केन्द्रहरूमा डेंगु परीक्षणका उपकरणको अभाव, प्रशिक्षित जनशक्तिको कमी र तत्काल उपचारको सुविधा नहुनु वर्तमान समस्याका मूल विषय हुन् । साथै, केही स्थानहरूमा परीक्षण नै नगरी सामान्य ज्वरो भनेर घर फर्काइने क्रमले संक्रमण नियन्त्रणमा बाधा पुगेको पनि विज्ञहरूको ठम्याइ छ । नेपालमा डेंगु र अन्य मनसुनी रोगहरूको जोखिम वर्षेनी बढ्दो छ । जलवायु परिवर्तन, अस्वच्छ वातावरण, अपर्याप्त पूर्वतयारी र स्वास्थ्य सेवा पहुँचको अभावले गर्दा यी रोगहरू नियन्त्रणभन्दा बाहिर जाने खतरा छ ।


अबको चार महिना उच्च जोखिम

६० हजार बढी बिरामी हुने अनुमान

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष नेपालभर डेंगु संक्रमणका कारण ६० हजार बढी बिरामी हुन सक्ने अनुमान सार्वजनिक गरेको छ ।

कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले साउनदेखि डेंगु संक्रमितको संख्या तीव्र गतिमा र भदौ–असोजमा संक्रमण बढ्ने सम्भावना रहेको औंल्याउनुभयो । ‘अबको चार महिना उच्च जोखिममा रहनेछौं’ –डा. दाहालले बताउनुभयो ।

डेंगु संक्रमणको चक्र वर्षेनी दोहोरिरहने भएकाले दीर्घकालीन रणनीतिबिना यो रोग नियन्त्रणमा आउन नसक्ने विज्ञहरूको ठम्याइ छ । ‘अब एक–दुई वर्ष होइन, दशकौंसम्म डेंगुसँग लड्नुपर्नेछ’ –डा. दाहालले भन्नुभयो ।

विगत पाँच वर्षदेखि संक्रमणको दर उकालो लागिरहेकाले, रोग शून्यमा ल्याउन सरकार, स्थानीय तह र नागरिक सबैको साझा प्रयास अपरिहार्य रहेको विज्ञहरूको भनाइ छ । जनस्वास्थ्य विज्ञहरूले लामखुट्टे नष्ट गर्ने अभियान, परीक्षण–उपचारको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा जोड दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register