इजरायली हमलामा इरानी राष्ट्रपति पेजेस्कियन घाइते भएको दाबी

काठमाडौं ।। इरानका राष्ट्रपति मसुद पेजेस्कियन गत महिना इजरायलले इरानमा गरेको हमलाका क्रममा सामान्य घाइते भएको खबर बाहिर आएको छ। इरानको  फार्स समाचार एजेन्सीले जुन १६ मा तेहरानस्थित एक गोप्य भूमिगत स्थानमा छ वटा बमले निशाना बनाएको उल्लेख गरेको छ। उक्त समयमा पेजेस्कियन सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सहभागी भइरहेको बीबीसीको रिपोर्टमा जनाइएको छ […]

Jul 14, 2025 - 02:25
 0
इजरायली हमलामा इरानी राष्ट्रपति पेजेस्कियन घाइते भएको दाबी

काठमाडौं ।। इरानका राष्ट्रपति मसुद पेजेस्कियन गत महिना इजरायलले इरानमा गरेको हमलाका क्रममा सामान्य घाइते भएको खबर बाहिर आएको छ। इरानको  फार्स समाचार एजेन्सीले जुन १६ मा तेहरानस्थित एक गोप्य भूमिगत स्थानमा छ वटा बमले निशाना बनाएको उल्लेख गरेको छ। उक्त समयमा पेजेस्कियन सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सहभागी भइरहेको बीबीसीको रिपोर्टमा जनाइएको छ ।

फार्सका अनुसार, बम आक्रमणपछि पेजेस्कियन र अन्य व्यक्तिहरू आपतकालीन सुरुङ हुँदै भाग्ने क्रममा राष्ट्रपतिको खुट्टामा चोट लागेको थियो। इरानले अहिले इजरायली एजेन्टहरूको घुसपैठको अनुसन्धान गरिरहेको बताइएको छ। यद्यपि, फार्सको यो रिपोर्टको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन र इजरायलले पनि यस विषयमा सार्वजनिक रूपमा कुनै टिप्पणी नगरेको जनाइएको छ ।

१२ दिने युद्धका क्रममा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा उत्तर-पश्चिमी तेहरानको पहाडी क्षेत्रमा बारम्बार आक्रमण भएको देखिएको थियो। अहिले खुलासा भएअनुसार, युद्धको चौथो दिनका हमलाहरूले तेहरानको एक गोप्य भूमिगत स्थानलाई निशाना बनाएका थिए, जहाँ इरानका शीर्ष नेताहरू त्यसबेला उपस्थित थिए।

फार्स समाचार एजेन्सीको रिपोर्टमा इजरायली हमलाले गोप्य भूमिगत स्थानका सबै छवटा प्रवेश र निकास बिन्दुहरू, साथै भेन्टिलेसन प्रणालीलाई पनि अवरुद्ध पारेको उल्लेख छ।  उक्त स्थानमा बिजुली पनि काटिएको थियो, तर पेजेस्कियन सुरक्षित स्थानमा पुग्न सफल भए।

सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीपछिको इरानको शीर्ष निर्णय गर्ने निकाय हो। गत हप्ता, पेजेस्कियनले इजरायलमा आफूलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए। इजरायली रक्षामन्त्री इजरायल काट्जले भने यो दाबी अस्वीकार गर्दै ‘शासन परिवर्तन’ युद्धको लक्ष्य नभएको बताएका थिए।

इजरायलले युद्धको सुरुवातमै धेरै शीर्ष आईआरजीसी र सेना कमाण्डरहरूलाई सफाया गरेको थियो। इरानी नेताहरूले आफूहरू पूर्ण रूपमा अचम्मित र आक्रमणपछि कम्तिमा २४ घण्टासम्म निर्णय गर्ने क्षमतामा पक्षाघात (paralysis) भएको स्वीकार गरेका छन्।

इजरायली अधिकारीहरूले आयोतुल्लाह खामेनी पनि निशानामा रहेको तर उनलाई सुरक्षित गोप्य स्थानमा सारिएपछि उनीहरूसँग उनको सम्पर्क टुटेको स्वीकार गरेका छन्। खामेनीलाई गोप्य राखिएको थियो।

जुन १३ मा  इजरायलले इरानको आणविक र सैन्य स्थलहरूमा आश्चर्यजनक आक्रमण सुरु गरेको थियो। इजरायलले तेहरानलाई आणविक हतियार बनाउनबाट रोक्न यो कदम चालेको बताएको छ। इरानले भने इजरायलमा हवाई हमला गरेर जवाफ फर्काएको थियो। इरानले आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको कुरा अस्वीकार गर्दै युरेनियमको संवर्धन शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आएको छ।

जुन २२ मा  अमेरिकाको वायुसेना र नौसेनाले तीनवटा इरानी आणविक क्षेत्रमा हवाई र मिसाइल हमला गरेका थिए।  (बीबीसी)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register