एनआरएनए यूके अध्यक्ष रेसबाट पछि हटे काशीराम, अध्यक्षमा तीनसहित अरु सबै उम्मेदवार कायम

लन्डन- एनआरएनए यूके अध्यक्ष पदको उम्मेदवारीबाट स्कटल्यान्डका अभियन्ता काशीराम भण्डारी पछि हटेका छन् । उम्मेदवारी फिर्ताको लागि निर्धारित मंगलबार बेलुका ७ बजेसम्मको समयसीमाभित्र अध्यक्ष उम्मेदवार भण्डारीले मात्रै उम्मेदवारी फिर्ता गराएको निर्वाचन समिति स्रोतले नेपालीलिंकलाई बताएको छ । भण्डारी पछि हटेपछि अध्यक्ष पदमा अब तीन उम्मेदवार राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द खरेलको उम्मेदवारी कायम रहेको […]

Jul 15, 2025 - 19:35
 0
एनआरएनए यूके अध्यक्ष रेसबाट पछि हटे काशीराम, अध्यक्षमा तीनसहित अरु सबै उम्मेदवार कायम

लन्डन- एनआरएनए यूके अध्यक्ष पदको उम्मेदवारीबाट स्कटल्यान्डका अभियन्ता काशीराम भण्डारी पछि हटेका छन् ।

उम्मेदवारी फिर्ताको लागि निर्धारित मंगलबार बेलुका ७ बजेसम्मको समयसीमाभित्र अध्यक्ष उम्मेदवार भण्डारीले मात्रै उम्मेदवारी फिर्ता गराएको निर्वाचन समिति स्रोतले नेपालीलिंकलाई बताएको छ ।

भण्डारी पछि हटेपछि अध्यक्ष पदमा अब तीन उम्मेदवार राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द खरेलको उम्मेदवारी कायम रहेको छ ।

एनआरएनए यूकेका खुला उपाध्यक्ष, महासचिव, सचिव र स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षका साथै आइसीसी सदस्य, इंग्ल्यान्ड परिषद अध्यक्ष र स्कटल्यान्ड परिषदको सचिवलगायतका पदमा भने अझै पनि आवश्यक पदसंख्याभन्दा बढीको उम्मेदवारी कायम रहेकाले निर्वाचन हुने अवस्था सिर्जना भएको छ ।

जुलाइ २६ मा आसन्न एनआरएनए यूके निर्वाचनका उम्मेदवारको अन्तिम नामावली बुधबार साँझ ५ बजेभित्र प्रकाशन गर्ने तालिका छ । सोहि समयसीमाभित्रै केही उम्मेदवारमाथि प्राप्त दावीविरोध उजुरीमा समेत छानबिन पूरा गरेर उम्म्ेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समिति प्रमुख रामशरण सिम्खडाले नेपालीलिंकलाई जानकारी दिए ।

यसअघि मंगलबार साँझ ५ बजेसम्म निर्धारित समयसीमाभित्र मात्र दुई उम्मेदवारको उम्मेदवारीमा दावीविरोध परेको थियो ।

स्कटल्यान्ड राज्य परिषदको अध्यक्षमा निर्विरोध उम्मेदवारी परेका शेर केसी र स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने एनआरएनए यूकेमा उपाध्यक्ष उम्मेदवारी दिएका रामप्रसाद कंडेलको उम्मेदवारीमाथि दावीविरोध उजुरी परेको हो ।

केसीविरुद्धको उजुरीमा उनले यसअघि परिषदका कुनै पनि पदमा रहेर काम नगरेकाले उनी सिधै अध्यक्ष उम्मेदवार बन्न नमिल्ने दावी गरिएको छ । त्यस्तै, अर्का उम्मेदवार कंडेलले भने उम्मेदवारी दर्ताको लागि तोकिएको समयसीमा गुज्रिएपछि उम्मेदवारी दिएकाले उनको उम्मेदवारी अवैध हुनुपर्ने माग गरिएको छ ।

दावीविरोध उजुरी परेका दुवै उम्मेदवारलाई इमेलमार्फत् सम्पर्क गरी प्राप्त उजुरीबारे स्पष्टिकरण पेश गर्न आग्रह गरिएको निर्वाचन समितिका सदस्यसचिव श्याम लुईंटेलले नेपालीलिंकलाई बताए।

सम्बन्धित उम्मेदवारहरुबाट स्पष्टिकरण प्राप्त भइसकेपछि निर्वाचन समितिले आवश्यक छानबिन गरेर उनीहरुको उम्मेदवारीबारे अन्तिम निर्णय लिने उनले बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register