मीनाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको गोलको वर्षा

खेलको इन्जुरी समयमा सरिता कुमारीले फ्रिकिकमार्फत गोल गर्दै नेपाललाई ७-० को विशाल जित दिलाइन्। यद्यपि, नेपालले यसबाहेक पनि गोलका अन्य धेरै अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।

Jul 16, 2025 - 03:52
 0
मीनाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको गोलको वर्षा

काठमाडौं । मीना देउवाको उत्कृष्ट ह्याट्रिकको मद्दतले नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा गोलको वर्षा गरेको छ । श्रीलंकामाथी नेपालले ७-० को शानदार जित हासिल गरेको हो । यो जितसँगै नेपालको उपाधि जित्ने सम्भावना जीवितै रहेको छ।

भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका लागि मीनाले ह्याट्रिक पूरा गरिन् भने पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारीले १-१ गोलको योगदान दिए। नेपालले पहिलो हाफमै ५ गोल गर्दै खेलमा आफ्नो पकड जमाएको थियो भने दोस्रो हाफमा थप २ गोल गर्यो।

खेलको आठौं मिनेटमै मीनाले डिबक्स बाहिरबाट दर्शनीय गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। त्यसको पाँच मिनेटपछि, अर्थात् १३औं मिनेटमा, समिक्षा मगरले नेपालको अग्रता दोब्बर पारिन्। पहिलो हाफको अन्त्यतिर, ४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाइन्। इन्जुरी समयमा पूर्णिमा राईले दुई गोल थप्दै नेपाललाई ५-० को बलियो स्थितिमा पुर्‍याइन्।

दोस्रो हाफमा नेपालले छैटौं गोलका लागि ७० मिनेटसम्म कुर्नुपर्यो। यसै मिनेटमा मीनाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र नेपाललाई ६-० ले अगाडि बढाइन्। खेलको इन्जुरी समयमा सरिता कुमारीले फ्रिकिकमार्फत गोल गर्दै नेपाललाई ७-० को विशाल जित दिलाइन्। यद्यपि, नेपालले यसबाहेक पनि गोलका अन्य धेरै अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।

यसअघि, नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो। श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ र दोस्रो खेलमा भुटानसँग ५-० को फराकिलो हार बेहोरेको थियो ।

प्रतियोगितामा बंगलादेश ३ खेलबाट ९ अंकसहित शीर्षस्थानमा छ भने नेपालको ३ खेलबाट ६ अंक भएको छ। तेस्रो स्थानमा रहेको भुटानको ३ अंक छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register