अब दुई वर्षभित्रै नेपालकै खानीबाट फलाम उत्पादन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विकास निर्माणका कार्यको कार्यान्वयनमा अग्रसरता लिएको छ । गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लास्थित नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा विस्तारित फलाम खानीबाट आगामी दुई वर्षभित्रै फलाम उत्पादन गर्ने गरी कार्य प्रारम्भ गरिएको प्रधानमन्त्री ओलीका निजी सचिवसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले जानकारी दिनुभयो […]

Jul 17, 2025 - 03:26
 0
अब दुई वर्षभित्रै नेपालकै खानीबाट फलाम उत्पादन

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विकास निर्माणका कार्यको कार्यान्वयनमा अग्रसरता लिएको छ ।

गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लास्थित नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा विस्तारित फलाम खानीबाट आगामी दुई वर्षभित्रै फलाम उत्पादन गर्ने गरी कार्य प्रारम्भ गरिएको प्रधानमन्त्री ओलीका निजी सचिवसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । कुँवरका अनुसार यसका लागि आवश्यक कार्य गर्ने गरी यसअघि नै धौवादी फलाम कम्पनी लिमिटेड स्थापना भइसकेको छ ।

ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा नेपाल सरकार मन्त्रिपरिषद्मार्फत मिति २०७६ भाद्र ०४ गते स्वीकृति पाएको धौवादी फलाम कम्पनी लिमिटेड मिति २०७६ असोज ०९ गते कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई कार्य प्रारम्भ गर्दै आएको छ । कुँवरका अनुसार प्रधानमन्त्रीले शुरू गरिएका आयोजनाहरू समयमा नै सम्पन्न गर्नको लागि दिनुभएको निर्देशनका साथै करिब एक महिनाअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, उद्योग सचिव र कम्पनीका कार्यकारी निर्देशक समेतको टोलीले प्रधानमन्त्री

ओलीसमक्ष २०८५ सालको मध्यसम्ममा व्यावसायिक रूपमा नै फलाम तथा स्टिल उत्पादन गर्ने कार्य योजना पेस गरेको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीले त्योभन्दा अगावै २०८४ सालभित्र नै उत्पादन शुरू हुने गरी कार्य योजना अगाडि बढाउन निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार मंगलवार आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयमा धौवादी फलाम खानी उत्खननका लागि अन्तरनिकायगत बैठक सम्पन्न भएको छ ।

सो बैठकमा कम्पनीले धौवादी फलाम खानी सञ्चालनको व्यावसायिक योजना प्रस्तुत गरेको थियो ।गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्ला स्थित नाम्जाकोटदेखि पूर्व धौवादी क्षेत्रमा फलाम खानी उत्खननका लागि सरकारले विशेष प्राथमिकता दिँदै आएको छ । धौवादी फलाम कम्पनी लिमिटेडका तर्फबाट गरिएको प्रस्तुतीकरण अनुसार कम्पनीले हालसम्म धौवादी–पोखरी तथा दुर्लुङ्गा क्षेत्रको भौगर्भिक नक्सांकन, धौवादी–पोखरी तथा दुर्लुङ्गा क्षेत्रको नमुना संकलन र रासायनिक परीक्षणको काम गरिएको छ ।

साथै, उक्त नमुनाहरूको मेटालर्जिकल परीक्षण तथा केही ठाँउमा ड्रिलिङका साथै खानी तथा प्रशोधन क्षेत्रको कित्ताकाट र विस्तृत सम्भाव्यता अध्ययन सकी खानी योजना तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीले सो फलाम खानीबाट वार्षिक करिब ५ लाख टन बिलेट उत्पादन गर्न सकिने सम्भावना भएको विषय प्रस्तुत गरेको थियो । जसअनुसार नेपालको मध्यविन्दु र सडक पूर्वाधारको सहजताका कारण अन्य फलाम खानीहरूलाई समेत एकीकरण गर्न र भविष्यमा उत्पादन र वितरणका लागि पनि प्राविधिक रूपमा सहज देखिएको छ । खानीको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार यस खानीभित्र ९६ मिलियन टन परिणाममा फलाम रहेको देखिएको र ती सबै फलाम उत्खनन गर्न सकिने सम्भावना छ ।

उद्योग सचिव कृष्णबहादुर रावतले उक्त फलाम खानी उत्खनन क्षेत्रमा विद्युत् प्रसारण लाइनका अतिरिक्त जग्गा प्राप्तिका कार्य समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभएकोमा प्रधानमन्त्रीले स्थलगत समस्या तथा खानीजन्य प्राविधिक समस्यालाई तत्काल समाधान गरीे २०८४ सालभित्र उत्पादनको मोडलमा लैजान निर्देशन दिनुभएको प्रधानमन्त्रीका निजी सचिव कुँवरले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीका आर्थिक विकास सल्लाहकार डा. खतिवडाले पनि धौवादी फलाम खानी सञ्चालनको व्यापारिक मोडल तयार गरी निजी क्षेत्रसँगको सहलगानी तथा विद्युत् प्रसारण लाइनका लागि तत्काल कार्य चालू गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले धौवादी फलाम खानीबाट फलाम उत्खनन गरी फलामको आयात प्रतिस्थापन गर्ने विषय राष्ट्रिय गौरवको विषय भएको धारणा व्यक्त गर्दै आइरहनुभएको छ । प्रधानमन्त्रीले पटकपटक दिनुभएको निर्देशन र अग्रसरतालाई ध्यानमा राख्दै सरकारका सरोकारवाला निकायले विभिन्न स्थानमा खानीको अन्वेषण र पहिचानमा तदारुकता देखाएको छ । हालै दैलेखमा देखिएको पेट्रोलियम सम्भाव्यताले सरकारी निकायहरूलाई खानीहरूको पहिचान, अन्वेशण र उत्खननमा थप हौसला प्रदान गरेको प्रधानमन्त्रीका निजी सचिव कुँवरले बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register