६ वर्षदेखि पाँडमा नारकीय जीवन बिताउँदै धनविरे

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ को याङ्गु गाउँका धनविरे कामी भने कुष्ठरोग लागेपछि ६ वर्षदेखि घरको अन्तिम तला पाँडमा अलग्गिएर एक्लै बस्न बाध्य हुनुभएको छ । विकट हिमाली जिल्ला हुम्लामा अझै पनि जनचेतना अभावका कारण कुष्ठरोग लागेपछि घरपरिवार र समाजभन्दा पर एक्लै छुट्टै ठाउँमा रोगीलाई राख्ने चलन अझै कायमै रहेको छ । समाजमा बढ्दै गएको […]

Jul 18, 2025 - 03:55
 0
६ वर्षदेखि पाँडमा नारकीय जीवन बिताउँदै धनविरे

हुम्ला ।

हुम्लाको सिमकोट गाउँपालिका–८ को याङ्गु गाउँका धनविरे कामी भने कुष्ठरोग लागेपछि ६ वर्षदेखि घरको अन्तिम तला पाँडमा अलग्गिएर एक्लै बस्न बाध्य हुनुभएको छ । विकट हिमाली जिल्ला हुम्लामा अझै पनि जनचेतना अभावका कारण कुष्ठरोग लागेपछि घरपरिवार र समाजभन्दा पर एक्लै छुट्टै ठाउँमा रोगीलाई राख्ने चलन अझै कायमै रहेको छ ।

समाजमा बढ्दै गएको चेतना र औषधि उपचारको सहजतापछि पनि यस्ता घटना हिमाली जिल्लाका दुर्गम गाउँबस्तीमा जरो गाडेर बसेको पाइन्छ । न राम्रो बस्ने ठाउँ न त ओछ्याउने कपडा, न अरूले दिएको खानेकुरा आफैं खान सक्नुहुन्छ धनविरे । दिसापिसाब गर्न पनि अरूको साहरा चाहिने भएको छ धनविरेलाई । उहाँले आफ्नो बाँकी जीवन दिनरात कटाउन थालेको ६ वर्ष बढी भइसक्यो । अहिले आफन्तजन र गाउँलेको गरेको व्यवहारले झन् बिरामी कामी दिनप्रतिदिन रोगले थलिनुभएको छ । कामी पूर्ण अपाङ्ग र सुस्त मनस्थितिको हुनुहुन्छ । कान राम्रो नसुन्ने उहाँ हातको इसारामा आफ्नो पीडा पोख्ने गर्नुहुन्छ । जो मान्छे भेटे पनि आफूलाई उपचारको अपेक्षा गर्नुहुन्छ उहाँ ।

तीन भाइका धनी धनविरे सबैभन्दा जेठा हुनुहुन्छ । सबै भाइहरू अलगअलग छुटिएर बसेका छन् । तीनै भाइले बिरामी धनविरेलाई हरेक महिनामा पालनपोषण गर्न एक÷एक महिना पालो राखेका छन् । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डरले उहाँ घरको माथिल्लो तला पाँडमा बस्नुहुन्छ ।

उहाँको जिल्ला अस्पातल हुम्लाबाट औषधि ल्याएको केही महिनामा सेवन गरेको देखिन्छ । तर, औषधि नियमिति नहुँदा झन् समस्या बल्झिएको छ । उहाँले साङ्केतिक भाषाको प्रयोग गर्दै भन्नुभयो– ‘मलाई जुन दिन रोग लाग्यो, घरबाट अलग बस्न पठाइदिए । मलाई आफन्तले नछुने हुँदा घरभन्दा टाढाको छाउ बस्ने गोठम सुताए । मैले भनेजस्तो औषधि पाइनँ । राम्रोसँग खाना पनि पाइनँ । लगाउने, ओछ्याउने कपडा पनि पाइनँ, कुष्ठरोगको औषधि पहिलो महिना खाएँ र त्यसपछि औषधि खान पनि छोडेँ ।’

पहिला घरको खेतीपाती र गाईगोठालो जाने गरेका धनविरेले रोगले दिनप्रतिदिन थला पर्दै गएपछि भाइबुहारीले पनि अलग्गै कोठामा बस्न लगाएको बताउँदै भन्नुभयो– ‘पहिला त घरदेखि झन्डै १० मिटर टाढा छाउगोठमा राखे । शरीरमा फाटेका लुगा न त गाँस न त बास नै वर्षाको झरी र हिउँदको माइनस २५ डिग्रीभन्दा माथिको चिसो जस्तोसुकै मौसममा पनि अँध्यारो माथिल्लो तलाको कोठाभित्र दिनचर्या चलिरहेको छ ।’

बुवा आमाको मृत्युपछि बेसाहारा हुनुभएका ५६ वर्षीया कामीले आफू ६ वर्षदेखि अगल बस्दै आएको बताउनुभयो । ६ वर्षसम्म कोठे जिन्दगीमा कहिल्यै पेटभरि खान नपाएको बिरामी कामीले बताउनुभयो ।सरकारले देशबाटै सन् २००९ मा कुष्ठरोग निवारणको घोषणा गरे पनि विगत ६ वर्षदेखि कुष्ठरोगकै कारण नारकीय जीवन बिताएका धनविरे कामीकोे बारेमा सिमकोट गाउँपालिकालगायतका सम्बन्धित स्वास्थ्य संस्थाले समेत बेवास्ता गरेका छन् ।

सिमकोट गाउँपालिका–८ का वडा अध्यक्ष कमल बुढाले आफ्नो वडामा यस्ता खालका बिमारी उपचार गर्नको लागि सरोकारवाला निकायलाई आग्रह गरेको बताउनुभयो । कुष्ठरोगका कारण त्यसरी नारकीय जीवन जिउनु निकै दुःखद् भएको बताएका वडाअध्यक्ष बुढाले थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय, गाउँपालिका र केन्द्रमा समेत पहल गर्ने बताउनुुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register