नेपालमा प्रतिबन्ध गर्न निर्देशन दिइएको टेलिग्राम के हो ?

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार टेलिग्राम बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो । टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङसमेत यसैमार्फत हुने गरेको भन्दै सरकारले बन्द गर्ने निर्णय लिएको हो । प्राधिकरणले भनेको छ, ‘अनलाइन फ्रडको संख्या निरन्तर […]

Jul 19, 2025 - 10:42
 0
नेपालमा प्रतिबन्ध  गर्न निर्देशन दिइएको टेलिग्राम के हो ?

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार टेलिग्राम बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।

टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङसमेत यसैमार्फत हुने गरेको भन्दै सरकारले बन्द गर्ने निर्णय लिएको हो । प्राधिकरणले भनेको छ, ‘अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङजस्ता गम्भीर अपराधमा संलग्नतासमेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने र बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसुर निवारणसम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको थियो ।

नेपालमा टेलिग्राममार्फत ठगीका घटना बढेको प्रहरीले जनाएको छ । ‘टेलिग्रामबाट विभिन्न ठगीका घटना बढिरहेकोले बन्द गर्ने निर्णल लिइएको हो । मनी लाउण्डरिङ, अनलाइन जुवालगायतमार्फत सोझा नागरिकलाई ठग्ने काम भइरहेको छ,’ नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले नेपालभ्युजसँग भने ।

टेलिग्राम के हो ?

टेलिग्राम एक चर्चित म्यासेजिङ एप हो, जसको सुरुवात सरकारी सेन्सरसिपबाट बच्न गरिएको थियो । तर, सरकारी निगरानी र अभिव्यक्ति स्वतन्त्रताको लडाइँबाट प्रेरित भएर सुरु गरिएको यो एप अहिले गोपनीयता, गलत प्रयोग र कानुनी बहसको केन्द्रबिन्दु बनेको छ ।

टेलिग्राम क्लाउड आधारित म्यासेजिङ एप हो, जसमा प्रयोगकर्ताहरूले सन्देश, फाइल, भिडिओ, आवाज आदानप्रदान गर्न सक्छन् । २ लाख सदस्यसम्मका समूह, खुला च्यानलहरू, तथा गोप्य ‘गोप्य च्याट’ गर्न सकिने यसको प्रमुख विशेषता हो । गोप्य च्याट र भिडिओ कलमा end-to-end encryption लागू हुन्छ, जसले प्रयोगकर्ताबीचको संवाद केवल उनीहरूकै पहुँचमा सीमित राख्छ ।

टेलिग्रामको विकास रूसी उद्यमी पाभेल र निकोलाई डुरोभको व्यक्तिगत संघर्षसँग जोडिएको छ । सन् २००६ मा पाभेलले VKontakte (VK) नामक सामाजिक सञ्जाल स्थापना गरे, जसमा केही वर्षमै १० करोडभन्दा बढी प्रयोगकर्ता जोडिए । तर, सन् २०११ मा रुसको संसदीय निर्वाचनमा भएका विरोध प्रदर्शनलाई सेन्सर गर्न सरकारको दबाब आयो । तर, पाभेलले त्यो अस्वीकार गरे ।

त्यसपछि उनलाई पक्राउ गर्न घरमै सशस्त्र प्रहरी पठाइयो । कम्पनी बेच्न बाध्य पारियो र अन्ततः उनले VK मात्र छाडेनन्, रुस नै छाडे । त्यसपछि सन् २०१३ मा आफ्ना दाजु निकोलाईसँग मिलेर टेलिग्राम विकास गरे, एउटा यस्तो प्लेटफर्म जसलाई कुनै पनि सरकारले सजिलै नियन्त्रण गर्न नसकोस् ।

सन् २०१३ अगस्ट १४ मा टेलिग्राम पहिलोपटक आईओएसमा सार्वजनिक भयो र केही समयमै एन्ड्रोइड संस्करण पनि आयो । मार्च २०२५ सम्म टेलिग्राममा १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता भएको अनुमान छ ।

टेलिग्राम स्मार्टफोन, कम्प्युटर वा वेब ब्राउजरमार्फत सहज पहुँचयोग्य छ र प्रयोगकर्ताको कुराकानी यन्त्रहरूबीच स्वतः समायोजित हुन्छ । हाल यसको मुख्य कार्यालय दुबईमा रहेको छ ।

सफलता र आलोचना सँगसँगै

टेलिग्रामले WhatsApp जस्ता प्रतिस्पर्धीहरूलाई कडा चुनौती दिँदै विश्वभर प्रयोगकर्ता आकर्षित गर्‍यो । तर, गोपनीयता र खुला संरचनाको कारण यसलाई कट्टरपन्थी र आपराधिक समूहहरूले पनि दुरुपयोग गर्न थाले ।

सन् २०१५ मा पेरिसमा इस्लामिक स्टेट (आईएसआईएस) ले गराएको आक्रमणपछि खुला रूपमा आतंकवादी च्यानलहरू टेलिग्राममा भेटिएको थियो । संस्थापक पाभेल डुरोभले सार्वजनिक च्यानलहरू हटाउने घोषणा गरे पनि निजी कुराकानीमा हस्तक्षेप नगर्ने अडान दोहोर्‍याए । ‘Privacy is paramount (गोपनीयता सर्वोपरि हो)’ भन्नेमा उनी अडिग रहे ।

त्यसपछि सन् २०१९ मा Anti-Defamation League (ADL) ले टेलिग्रामलाई ‘श्वेत सर्वश्रेष्ठवादीहरूको नयाँ सुरक्षित थलो’ भने । यस्ता समूहहरूले ब्ल्याक, यहूदी र LGBTQ+ समुदायमाथि धम्की दिने च्यानलहरू चलाएको प्रमाणित भयो ।

टेलिग्राम अहिले युद्ध, राजनीतिक विखण्डन र जनआन्दोलनमा समेत प्रभावशाली सञ्चारमाध्यम बनेको छ । सन् २०२३ मा रुसको निजी सेना वाग्नर ग्रुपका नेता येभगेनी प्रिगोजिनले विद्रोहको बेला १३ लाखभन्दा बढी फलोअरलाई टेलिग्रामबाट अपडेट दिइरहेका थिए । अर्कोतर्फ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले पनि युद्धका बेलामा भिडिओ अपडेट दिन यही एप प्रयोग गरे ।

तर, टेलिग्रामको स्वतन्त्रता र गोपनीयताको सिद्धान्तमा आधारित यात्रा अहिले गम्भीर मोडमा पुग्यो,जब टेलिग्रामका संस्थापक पावेल डुरोभलाई फ्रान्सले सेप्टेम्बर २०२४ मा पक्राउ गरेको खबर प्रकाशित भयो, जहाँ उसलाई सार्वजनिक सामग्री नियन्त्रणमा ढिलाइ गर्ने, फ्रड र बाल दुर्व्यवहार सामग्री सम्बन्धी आरोप लागेको थियो । त्यसपछिका कानुनी विवादले गोपनीयता र नियमन सन्तुलनमा विश्वव्यापी बहस दियो ।

उनी पक्राउ परेका बेलामा टेलिग्रामलाई डार्कवेबसँग तुलाना गरिएको थियो । डार्कवेब इन्टरनेटको संसारमा यस्तो प्लेटफर्म हो, जहाँ निश्चित सफ्टवेयरको प्रयोगबाट मात्र पहुँच गर्न सकिन्छ । त्यसमार्फत गैरकानुनी सामान र सेवाहरू बिक्री गरिन्छ र प्रयोगकर्ताको कुनै पनि किमिसको रेकर्ड रहँदैन ।

कुन-कुन देशमा प्रतिबन्ध ?

टेलिग्राम विश्वकै दोस्रो धेरै जनसंख्या रहेको देश चीनमा पूर्णरुपमा प्रतिबन्धित छ । चीनले सूचना बहाव नियन्त्रण गर्न भन्दै सन् २०१५ देखि Great Firewall मार्फत उक्त एपमाथि पूर्ण प्रतिबन्ध लगाएको छ ।

यस्तै, मध्यपूर्वी देश इरानले पनि सन् २०१८ मै यस एपमाथि प्रतिबन्ध लगाएको थियो । सरकारविरुद्धको विरोध प्रदर्शन व्यवस्थापन गर्न तथा आन्तरिक सुरक्षा कारणले बन्द गरेको इरानी सरकारले बताएको थियो । तर, अहिले पनि आधाभन्दा बढी जनसंख्याले भीपीएनमार्फत उक्त एपमाथि पहुँच राख्दै आएको बताइन्छ ।

यस्तै, पाकिस्तानले पनि अक्टोबर २०१७ मा सामानधारा प्रयोगको निरीक्षणको अभावमा टेलिग्राम ब्लक गरेको थियो । केही आईएसपीमा स्थायी रूपमा प्रतिबन्ध छ ।

थाइल्याण्डमा पनि सन् २०२० मा विरोध प्रदर्शन समन्वयनका लागि प्रयोग भएको आरोपमा टेलिग्राममाथि प्रतिबन्ध छ ।

क्युबामा सन् २०२१ मा सरकारविरोधी आन्दोलन रोक्न टेलिग्राम बन्द गरिएको थियो । यस्तै, भियतनाममा पनि मे २०२५ मा सरकारद्वारा आपराधिक गतिविधि, ठगी र आतंकवादसम्बन्धी सामग्री फैलिएको भन्दै टेलिग्राम बन्द गर्न टेलिकम सेवा प्रदायकहरूलाई निर्देशन दिइएको थियो ।

केही देशमा यस एपमाथि आंशिक प्रतिबन्ध लागेको छ । युरोपेली देश नर्वेमा सन् २०२३ देखि सरकारका उच्च अधिकार क्षेत्रमा टेलिग्राम प्रयोग निषेध गरिएको छ । बेलारुसमा पनि आधिकारिक रुपमा प्रतिबन्धित नभए पनि सरकारी आलोचना गर्ने केही च्यानलहरूलाई ‘उग्रवादी’ घोषणासँग जोडिएको र सहभागी भएर जेल सजाय हुन सक्छ ।

यस्तै, युद्धग्रस्त देश युक्रेनमा पनि सरकारी कामकाजमा उक्त एप सञ्चालनमा रोक लागेको छ, विशेषगरी जहाँ गोप्य सैन्य वा संवेदनशील क्रियाकलाप हुन्छन् । व्यक्तिगत प्रयोग जारी छ, तर सावधानी अपनाउन भनिएको छ । यता, रूसले सन् २०१८-२० को बीचमा encryption keys सुरक्षा निकायहरूलाई नदिएको भन्दै टेलिग्राममाथि प्रतिबन्ध लगाउने प्रयास गरेको थियो । तर, प्रतिबन्ध पछि हटाइयो ।

अमेरिका, बेलायत, फ्रान्समा यस एपमाथि प्रतिबन्ध छैन । भारतमा पनि प्रतिबन्ध छैन । तर, फेक समाचार, अवैध लेनदेन र अवैध जानकारीको विज्ञापनलाई प्रवर्द्धन गर्ने गरेको गुनासोपछि सरकारले निगरानीमा भने राखेको छ ।

के टेलिग्राम खराब र गैरकानुनी कामका लागि मात्र प्रयोग हुन्छ ?

होइन । टेलिग्राम वैध कामका लागि पनि व्यापक रूपमा प्रयोग गरिन्छ, जस्तै – व्यवसाय, शिक्षा, एक्त्टिभिज्म, चेतनामूलक कार्य आदि । अन्य कुनै उपकरण वा एपझै टेलिग्रामको प्रयोग र उपायोग पनि कसले कसरी गरिरहेको छ भन्ने कुरामा भर पर्दछ । यो वाक स्वतन्त्रताका लागि एउटा प्लेटफर्म पनि हुनसक्छ, खराब मानिसका लागि गलत कामका लागि हतियार पनि ।

टेलिग्रामको खुला संरचना जस्तै – बोट, विशाल च्यानल, प्रयोगकर्ता नाममार्फत संवादले यसलाई अन्य एपभन्दा फरक बनाएको छ ।

संस्थापक पावेल डुरोभले अघिल्लो प्रतिबन्धको सन्दर्भमा भनेका थिए, ‘हामी आतंकवादी च्यानलहरू हटाउँछौं, तर प्रयोगकर्ताको व्यक्तिगत संवादमा हस्तक्षेप गर्दैनौं ।’

टेलिग्रामभन्दा पहिला नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाएको थियो । त्यसबेला भने सामाजिक विकृति भनिएको थियो । पछि टिकटकको प्रतिबन्ध चाहिँ हटाइएको छ । सरकारले केही समयदेखि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मूल कम्पनी मेटालाई नेपालमा दर्ता गर्न दबाब दिइरहेको छ । नेपाल सरकारले पटक-पटक दर्ता गर्न आह्वान गर्दै दर्ता नगरेको खण्डमा मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको छ । तर, कुनै कारबाही पनि अगाडि बढेको छैन ।

हालैका वर्षहरूमा प्रतिबन्ध नेपाल सरकारको सजिलो उपाय भएर आएको छ । कुनै पनि मुद्दालाई सम्बोधन गर्न नसकेमा प्रतिबन्ध घोषणा गर्नु सरकारको आदत जस्तै भएको छ ।

सन् २०१८ मा सामाजिक मूल्यमान्यतामा आएको विचलन र बढ्दो लैंगिक हिंसाको नाममा सरकारले करिब २४ हजार पोर्नोग्राफिक साइटहरू बन्द गर्‍यो । उक्त प्रतिबन्ध अहिले पनि कायम छ । तर, उक्त कदमले सरकारले चाहेको उद्देश्य पूरा भयो कि भएन भन्ने विषयमा भने कुनै अध्ययन छैन ।

अहिलेको युगमा पूर्ण प्रतिबन्ध भने करिब-करिब असम्भव कुरा हो । टिकटकमा प्रतिबन्ध लाग्दा पनि VPN प्रयोगकर्ताले एप प्रयोग गर्न सकेकै थिए । अहिलेको टेलिग्राममाथिको प्रतिबन्ध पनि प्रयोगकर्ताको पहुँच इन्टरनेट सेवा प्रदायकको स्तरमा हो र VPN प्रयोग गर्नेले यो एप खोल्न सक्नेछन् ।

बन्द र प्रतिबन्ध आजको युगमा समाधान होइन भन्दै कतिपय विज्ञहरू थप्छन्, ‘प्रविधिमा सुधार र डिजिटल शिक्षा बढाएर मात्र समस्या रोक्न सकिन्छ ।’

(यो रिपोर्ट विभिन्न स्रोतको आधारमा तयार गरिएको हो ।)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register