१ वर्षको सम्झौता गरेका प्याट्रिकले एक महिनामै दिए राजीनामा

काठमाडौं। बेल्जियन प्याट्रिक डे वाइल्डले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट शनिबार राजीनामा दिएका छन् । यसको पुष्टि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ । उनले बेल्जियमबाट पत्रमार्फत् राजीनामा दिएको एन्फाले जानकारी गराएको हो ।उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्केको थियो भने प्याट्रिक उतैबाट उनको देश फर्केका […]

Jul 19, 2025 - 16:56
 0
१ वर्षको सम्झौता गरेका प्याट्रिकले एक महिनामै दिए राजीनामा

काठमाडौं।

बेल्जियन प्याट्रिक डे वाइल्डले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट शनिबार राजीनामा दिएका छन् । यसको पुष्टि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ । उनले बेल्जियमबाट पत्रमार्फत् राजीनामा दिएको एन्फाले जानकारी गराएको हो ।
उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्केको थियो भने प्याट्रिक उतैबाट उनको देश फर्केका थिए । ६१ वर्षीय प्याट्रिकले एन्फा नसुधे्रेसम्म नेपाल नफर्कने भन्दै बेल्जियम फर्केका थिए ।

एक वर्षका लागि एन्फासँग सम्झौता गरेका प्याट्रिकले एक महिनामा नै राजीनामा दिनु परेका छन् । उनको प्रशिक्षणमा नेपाली महिला टोलीले ३ खेलमा अपराजित रह्यो । जसमा २ जित र १ बराबरी रह्यो ।

लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको नेपालले उज्वेकिस्तानसँग ३–३ को बराबरी खेलेको थियो । पेनाल्टी शूटआउटमा भएको हार जितलाई आधिकारिक रूपमा नतिजा राखिने प्रावधान छैन ।

एसियन कपको फाइनल चरणका लागि जित्नै पर्ने खेलको पेनाल्टी सुट आउटमा नेपाल पराजित भएको थियो । यो हारसँगैं नेपालले आगामी वर्ष अस्टे«लियामा हुने एएफसी महिला एसियन कप खेल्न पाएन । साथै आगामी विश्वकप २०२७ को लागि पनि छनोट खेल खेल्न पाएन ।

उज्बेकिस्तानमा कप्तान छनोटका विषयमा प्याट्रिक र व्यवस्थापनबीच चर्को विवाद भएपछि राष्ट्रिय टोलीको अव्यवस्था छताछुल्ल भएको थियो । असार २५ गते नेपाली टोली प्रतिनिधिकी प्रमुख सरिला श्रेष्ठ मालेकु, व्यवस्थापक विन्द्रा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङलगायतले संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै उज्बेकिस्तानमा विकसित घटनाक्रमको जिम्मेवार विदेशी प्रशिक्षक रहेको आरोप लगाएका थिए ।

त्यसको केहि दिनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उज्बेकिस्तानमा भएको घटनालगायतका विषयमा स्पष्टीकरण सोधेको थियो । उनलाई पत्रमा पुनः नेपाल फर्केर टोलीमा आबद्ध हुने वा नहुने जवाफ एक साता भित्र दिन पनि भनिएको थियो । उनले एक साता नपुग्दै एन्फालाई राजीनामा पठाएको स्रोतले जानकारी दियो ।

प्याट्रिकले नेपालको एक अखबारलाई दिएको अन्तर्वार्तामा एन्फाको कमजोर व्यवस्थापन, खेलाडीमाथिको दबाबलगायतका विषयमा बोलेपछि एन्फामा भुँइचालो आएको थियो । उनले उज्वेकिस्तानसँगको पेनाल्टी सुटआउटमा ५÷६ खेलाडी पेनाल्टी हान्न तयार नहुनु दबाबकै कारण भएको समेत बताएका थिए । उनले त्यति बेला आफू फर्केमा खेलाडीका लागि मात्र फर्कने समेत बताएका थिए ।

एसियन कप छनोटमा पहिलो खेलमा कप्तानको नाम दिनु पर्नेमा उनले निकै ढिलो दिएको बताइएको थियो । उनले खेल हुन केही समयअघि मात्र सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तान बनाएका थिए । उनलाई कप्तानी दिनावितिकै उनी र व्यवस्थापकबीच मतभेद शुरु भइसकेको थियो । एन्फाले रेणुका नगरकोटेलाई कप्तान बनाएको थियो । तर, प्याट्रिकले सावित्रालाई कप्तानको आर्मब्यान्ड लगाएपछि विवाद सिर्जना भएको दाबी गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register