ट्रम्पका लागि टाउको दुखाइ बनिरहेको एपस्टाइन स्क्यान्डल

जेफ्री एपस्टाइनको मृत्यु भएको छ वर्ष बितिसक्यो, तर उनको नाम फेरि एकपटक अमेरिकी राजनीतिमा चर्चाको विषय बनेको छ । उक्त चर्चामा राष्ट्रपति डोनाल्ड ट्रम्प भने विवादको केन्द्र बन्न पुगेका छन् । सन् २००३ मा एपस्टिनको ५०औँ जन्मदिनको नोटसङ्ग्रहमा एक नग्न महिलाको स्केच र ट्रम्पको हस्ताक्षरसहितको पत्र समावेश गरिएको रिपोर्ट वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेपछि यो […]

Jul 20, 2025 - 12:41
 0
ट्रम्पका लागि टाउको दुखाइ बनिरहेको एपस्टाइन स्क्यान्डल

जेफ्री एपस्टाइनको मृत्यु भएको छ वर्ष बितिसक्यो, तर उनको नाम फेरि एकपटक अमेरिकी राजनीतिमा चर्चाको विषय बनेको छ । उक्त चर्चामा राष्ट्रपति डोनाल्ड ट्रम्प भने विवादको केन्द्र बन्न पुगेका छन् ।

सन् २००३ मा एपस्टिनको ५०औँ जन्मदिनको नोटसङ्ग्रहमा एक नग्न महिलाको स्केच र ट्रम्पको हस्ताक्षरसहितको पत्र समावेश गरिएको रिपोर्ट वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेपछि यो विषयमा चर्चा चुलिएको हो ।

ट्रम्पले आफूविरुद्ध फेक समाचार लेखेको भन्दै वाल स्ट्रिट जर्नल, उक्त कम्पनीका मालिक रुपर्ट मर्डोक र दुई पत्रकारहरू खादिजा सफदर र जोसेफ पलाजोलोविरुद्ध मुद्दा दायर गरेका छन् । साथै, उनले १० अर्ब डलर क्षतिपूर्ति माग गरेका छन् । पत्रकारहरूले “राष्ट्रपति ट्रम्पले २००३ मा जेफ्री एपस्टाइनलाई उनको ५०औँ जन्मदिनमा पत्र लेखेको र हस्ताक्षर गरेको तथ्यलाई बनावटी ढंगले प्रस्तुत गरेको” भन्दै आफूमाथिको आरोपलाई ट्रम्पले अस्वीकार गरेका छन् ।

यो विषय एपस्टाइनको ‘ग्राहक फाइल’सँग सम्बन्धित छ । ‘ग्राहक फाइल’ भनेको‍ अमेरिकाका धनाढ्य र शक्तिशाली राजनीतिज्ञहरूका लागि ‘किशोरीहरू यौनसम्बन्धका लागि व्यवस्था गर्ने’ तरिका हो । एपस्टाइनले न्युयोर्क र फ्लोरिडाको पाम–बिचमा रहेका आफ्ना महलमा शक्तिशाली व्यक्तिहरूका लागि मनोरञ्जनको व्यवस्था गर्थे । एपस्टिनको क्यारेबियनमा एउटा निजी टापु नै थियो । उनले आफ्ना पाहुनालाई त्यहाँ लैजान निजी विमान प्रयोग गर्दथे भन्ने विभिन्न रिपोर्ट सार्वजनिक भइसकेका छन् ।

वाल स्ट्रिट जर्नलको रिपोर्टपछि यो विषय फेरि चर्चामा आएको छ ।

एपस्टाइन को थिए ? 

सन् १९५३ मा जन्मिएका एपस्टाइन ७० को दशकमा न्युयोर्कको एक स्कूलमा गणित र भौतिकशास्त्र पढाउँथे । भनिन्छ – त्यो स्कूलमा पढ्ने एक विद्यार्थीका बुबा उनीबाट धेरै प्रभावित थिए । ती व्यक्तिले नै उनलाई वाल स्ट्रिट लगानी बैंक बेयर स्टर्न्ससँग सम्बन्धित एक लगानीकर्तासँग परिचय गराएका थिए ।

त्यसको चार वर्षपछि एपस्टाइन बेयर स्टर्न्समा साझेदार बने । यद्यपि, सन् १९८१ मा एपस्टाइनलाई ठगीको आरोपमा बर्खास्त गरियो । एक वर्षपछि उनले आफ्नै फर्म, ‘एपस्टाइन एण्ड कम्पनी’ खोले । यो फर्मले अर्बपतिहरूलाई वित्तीय सल्लाह प्रदान गर्दथ्यो । त्यसमार्फत उनले धेरै धनी व्यक्तिको पैसा ‘व्यवस्थापन’ गरेको बताइन्छ ।

एपस्टाइन भन्ने गर्थे, “मैले ‘१ अर्ब डलर’ भन्दा बढी सम्पत्ति भएका ग्राहकहरूको पैसा मात्र व्यवस्थापन गरेँ ।” तर, पछि धेरै अनुसन्धानहरूले उनको वास्तविक व्यवसाय धेरै शंकास्पद रहेको पत्ता लगाए ।

उनी केही वर्षमै धेरै धनी भए । एपस्टाइनले चाँडै नै आफ्नो सम्पत्ति खर्च गर्न थाले र न्यू मेक्सिकोमा एउटा फार्महाउस (१९९३), न्यूयोर्कमा सबैभन्दा ठूलो निजी घर (१९९६), र फ्लोरिडामा एउटा हवेली (२००२) किने । उनी त्यतिबेला अमेरिकामा घरघरमा परिचित भइसकेका थिए । ठूला व्यक्तित्वहरूसँग घुलमिल हुन्थे । उनले बिल क्लिन्टन, प्रख्यात वैज्ञानिक स्टीफन हकिङ र पपस्टार माइकल ज्याक्सनजस्ता सेलिब्रेटीहरूले भाग लिने भव्य पार्टीहरू आयोजना गर्थे ।

तस्वीर स्रोत – गेट्टी इमेज

ट्रम्प-एपस्टाइनको भेट र झगडा

ट्रम्प र एपस्टाइनको भेट पनि एउटा पार्टीमा भएको थियो । उनीहरूको सम्बन्ध गज्जबले चलेको थियो । एपस्टिन, ट्रम्प, एपस्टिनकी प्रेमिका म्याक्सवेल र ट्रम्पकी पत्नी मेलानियाले विभिन्न सामाजिक कार्यक्रममा खिचाएका तस्वीरहरू सार्वजनिक भइसकेका छन् ।

सन् २००२ मा एक पत्रिकासँगको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, “म जेफलाई १५ वर्षदेखि चिन्छु, ऊ एकदमै राम्रो मान्छे हो । हामी दुवैलाई जवान सुन्दर केटीहरू मनपर्छ ।”

यो कथन पछि आएर ट्रम्पकै लागि समस्या बन्यो । सन् १९९२ मा ट्रम्पले फ्लोरिडाको आफ्नो मार-ए-लागो रिसोर्टमा एपस्टाइन र चियरलीडरहरूसँग पार्टी आयोजना गरेका थिए । २०१९ मा एनबीसीले यसको फुटेज सार्वजनिक गर्‍यो । जसमा ट्रम्प एक महिलालाई औंल्याउँदै झुकेर भन्छन् – हेर उनी धेरै आकर्षक छिन् ।

“एपस्टिनको निजी विमानमा समेत ट्रम्पले सातपटक यात्रा गरेको फ्लाइट लगको विवरणले देखाउँछ” भनेर द न्युयोर्क टाइम्सले लेखेको छ । सो कुरा ट्रम्प स्वयंले स्वीकार्दै एपस्टिनको निजी विमानमा यात्रा गरेको बताएका छन् । तर, उक्त विमान चढेर कहिले पनि एपस्टिनको निजी टापुमा नगएको उनको दाबी छ । त्यस्तै, एपस्टिनसँग कुनै अवाञ्छित गतिविधिमा संलग्न नभएको पनि उनको दाबी छ ।

न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले यी यात्राहरू १९९३ देखि १९९७ सम्म गरेका थिए । यद्यपि, यी उडानहरू प्रायः पाम र न्युयोर्क बीचमा भएका थिए । ट्रम्पले भनेका थिए, “म कहिल्यै एपस्टाइनको निजी टापुमा गइनँ र केही गलत गरिनँ ।”

तर, ट्रम्प र एपस्टाइनको मित्रतामा दरार सन् २००४ मा फ्लोरिडाको पाम बिचमा बनेको ‘हाउस अफ फ्रेन्डशिप’ सम्पत्तिलाई लिएर आएको थियो । यो सम्पत्ति नर्सिङ होमका व्यवसायी आबे गोस्म्यानको थियो, जुन व्यवस्थापकीय लापरबाहीका कारण लिलामी भइरहेको थियो ।

ट्रम्प र एपस्टाइन दुवै यो ६ एकडको सम्पत्ति किन्न चाहन्थे । ट्रम्पले यसलाई अमेरिकाको सबैभन्दा राम्रो जग्गाको रूपमा वर्णन गरेका थिए । उनको उद्देश्य यसलाई किन्ने, रूपान्तरण गर्ने र त्यसपछि बेच्ने थियो । जबकि एपस्टाइन भने त्यहाँ बस्न चाहन्थे ।

नोभेम्बर १५, २००४ मा वेस्ट पाम बीचमा यसको लिलामी भएको थियो । ट्रम्प यसमा प्रत्यक्ष रूपमा उपस्थित हुन सकेनन्, तर उनले टेलिफोनमार्फत भाग लिए । एपस्टाइनको तर्फबाट तीन वकिलहरूले बोली लगाएका थिए । ट्रम्पले उनीहरूभन्दा धेरै रकमको बोली लगाएर सम्पत्ति प्राप्त गरे ।

उक्त घर जग्गा विवादपछि ट्रम्प र एपस्टाइनबीच कुनै पनि कुराकानीको सार्वजनिक रेकर्ड छैन । पछि सन् २०१९ मा ट्रम्पले भनेका थिए, “मेरो र एपस्टाइनको बीचमा झगडा भएको थियो र १५ वर्षदेखि एकअर्कासँग कुरा गरेका छैनौँ । म अब एपस्टाइनलाई साथी मान्दिनँ ।”

एपस्टाइनमाथि यौन दुर्व्यवहारको आरोप

सन् २००५ मा १४ वर्षीया बालिकाकी आमाले प्रहरीमा उजुरी दिइन् । जसमा उनले आफ्नी छोरीलाई ‘मसाज’ गर्ने बहानामा एपस्टाइनको विलासी घरमा बोलाएको, तर त्यहाँ पुगेपछि यौनसम्बन्ध राख्न दबाब दिएको उल्लेख गरिन् ।

जब बालिका घर फर्किइन् र आफ्ना आमाबाबुलाई यो कुरा बताइन्, आमाबाबुले तुरुन्तै प्रहरीमा गुनासो गरेका थिए । त्यसपछि पहिलो पटक एपस्टाइनविरुद्ध आधिकारिक उजुरी दर्ता गरियो । प्रहरी अनुसन्धानको क्रममा यो पृथक घटना नभएको कुरा बाहिर आयो ।

बिस्तारै एपस्टाइनविरुद्ध यस्तै आरोप लगाउने लगभग ५० नाबालिग केटीको पहिचान भयो । पाम बिच प्रहरी विभागले यो विषयलाई गम्भीरतापूर्वक लिएर धेरै महिनासम्म अनुसन्धान गर्‍यो । त्यसपछि एपस्टाइनविरुद्ध आपराधिक अनुसन्धान सुरु भयो ।

मुद्दाको अनुसन्धानबाट एपस्टाइनको म्यानहट्टन र पाम बिचमा विलासी भिल्ला रहेको पत्ता लाग्यो । एपस्टाइनले त्यहाँ हाइ-प्रोफाइल पार्टीहरू आयोजना गर्थे, जसमा धेरै ठूला सेलिब्रेटीहरू उपस्थित हुन्थे ।

एपस्टाइनले आफ्नो निजी जेट ‘लोलिता एक्सप्रेस’मा नाबालिग केटीहरूलाई पार्टीहरूमा ल्याउँथे । उनी युवतीहरूलाई पैसा र गहना दिने र धम्की दिएर जबरजस्ती गर्थे । एपस्टाइनकी प्रेमिका र पार्टनर घिसलेन म्याक्सवेलले यसमा उनलाई साथ दिएका थिए ।

यद्यपि, प्रारम्भिक अनुसन्धानपछि पनि एपस्टाइनले लामो समय जेलमा बिताउन परेन । उनको प्रभाव यति थियो कि सन् २००८ मा उनलाई केवल १३ महिनाको सजाय सुनाइएको थियो । जुन अवधिमा उनी दिनको समयमा जेलबाट बाहिर निस्केर काम गर्न सक्थे । विवादास्पद प्रावधानका आधारमा हरेक दिन १६ घन्टासम्म कामका लागि जेलबाहिर जान दिने व्यवस्था गरियो । राजनीतिक पहुँचकै कारण उनले त्यस्तो सहुलियत पाएका थिए ।

सन् २००९ मा जेलबाट बाहिर आएपछि एपस्टाइनले आफूलाई ‘लो प्रोफाइल’मा राखे । त्यसको ठीक आठ वर्षपछि अमेरिकामा ‘मी टू’ आन्दोलन सुरु भयो । सन् २०१७ मा अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले हलिउड निर्माता हार्वे वाइन्स्टाइनले गरेका खराब कामहरूको विषयमा धेरै रिपोर्ट प्रकाशित गर्‍यो ।

तस्वीर – “हट मेस” समूहले एपस्टाइनको विरोध गर्दै / गेट्टी इमेज

वाइन्स्टाइनले दशकौंसम्म अभिनेत्री, मोडेल र कर्मचारीहरूको यौन शोषण गरेको रिपोर्ट आएको थियो । यो घटनाले विश्वभर सनसनी मच्चायो । करिब ८० भन्दा बढी महिलाले सामाजिक सञ्जालमा वाइन्स्टाइन विरुद्ध ‘मी टू’ आरोप लगाए ।

यसमा एन्जेलिना जोली, सलमा हायेक, उमा थर्मन र एश्ले जुडजस्ता ठूला नामहरू समेत थिए । त्यसपछि लाखौं महिलाहरूले सामाजिक सञ्जालमा ‘#MeToo’ लेखेर आफ्ना शोषणका कथाहरू सार्वजनिक गरे ।

भर्जिनिया ग्रिफी नामकी एक महिला पनि तीमध्ये थिइन् । जसले एपस्टाइनविरुद्ध धेरै गम्भीर आरोप लगाएकी थिइन् । उनले गरेको दाबीमा आफूमाथि ३ वर्षसम्म यौन दुर्व्यवहार भएको भनिएको थियो ।

भर्जिनिया ग्रिफीले डोनाल्ड ट्रम्पको क्लब मार-ए-लागोमा काम गर्दा आफू १६ वर्षकी भएको उल्लेख गरेकी थिइन् । त्यहीँ उनको घिसलेन म्याक्सवेलसँग भेट भएको थियो ।

म्याक्सवेलले उनलाई मसाज थेरापीको प्रस्ताव राखेको र त्यसपछि उनलाई एपस्टाइनको घरमा लगिएको उनले बताएकी थिइन् । जहाँ एपस्टाइन र म्याक्सवेलको लागि लगभग ३ वर्ष मसाजको काम गरेको उनको भनाइ छ ।

यस समयमा उनलाई निजी जेटहरूमा विश्वभरका ठाउँहरूमा पठाएर प्रभावशाली व्यक्तिहरूसँग ‘यौन सम्बन्ध’ राख्न बाध्य पारिएको उनको आरोप थियो ।

ग्रिफीले बेलायती शाही परिवारका राजकुमार एन्ड्रयुलाई आफू नाबालिग हुँदा जबरजस्ती गरेको आरोप पनि लगाएकी थिइन् । यो विषय बेलायती मिडियामा ठूलो विवादको विषय बनेको थियो । ग्रिफीले ट्रम्पबाट भने आफूमाथि दुर्व्यवहार भएको भनेर भनेकी छैनन् । तर, मार-ए-लागो क्लब —जहाँ उनलाई “भर्ती” गरिएको थियो, त्यो नै ट्रम्पको थियो ।

गिफ्रेको यस वर्ष अप्रिल २०२५ मा मृत्यु भयो । यसलाई आत्महत्या भनिएको छ । तर, यसले फेरि एकपटक यो मुद्दालाई बहसमा ल्याएको छ ।

जेलमै मृत्यु

एपस्टाइनविरुद्ध दबाब बढ्दै गइरहेको थियो । ६ जुलाई २०१९ मा एपस्टाइनलाई यौन बेचबिखनको गम्भीर आरोपमा न्युयोर्कमा फेरि पक्राउ गरियो । त्यसपछि २३ जुलाईमा उनी कोठरीमा बेहोस अवस्थामा फेला परेका थिए । उनको घाँटीमा निशानहरू थिए । कसैले उनलाई मार्ने प्रयास गरेको विश्वास गरिएको थियो ।

त्यसपछि उनको सुरक्षा व्यवस्था बढाइ पनि केही समयपछि हटाइएको थियो । १० अगस्ट २०१९ मा एपस्टाइन त्यही उच्च सुरक्षा जेलमा मृत फेला पारे । आधिकारिक प्रतिवेदनमा उनले झुण्डिएर आत्महत्या गरेको भनिएको थियो । तर धेरै चिकित्सा र कानुनी विज्ञहरूले यसमाथि प्रश्न उठाएका थिए ।

पोस्टमार्टम रिपोर्टमा एपस्टाइनको घाँटीको केही हड्डी भाँचिएको खुलेको थियो । यी चोटको प्रकृति सामान्य आत्महत्यासँग नभइ घाँटी थिचेर गरिने हत्या प्रयाससँग सम्बन्धित हुन्छन् । एपस्टाइनको मृत्यु भएको दिन उनी बसेको कोठा बाहिरका सुरक्षा क्यामेराहरूले काम गरिरहेका थिएनन् र फुटेज गायब भएको भनिएको थियो ।

एपस्टाइनको ग्राहक सूचीमा ठूला नामहरू समावेश भएकोले गोप्य कुरा पर्दाफास हुने डरले उनको हत्या गरिएको भनेर समेत चर्चा भएको थियो । एपस्टाइनको मृत्युपछि एफबीआई र न्याय विभागले यसको अनुसन्धान गरे । एपस्टाइनको मृत्युपछि उनकी प्रेमिका म्याक्सवेललाई सन् २०२० मा पक्राउ गरेर र सन् २०२२ मा यौन बेचबिखनको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

अदालतका कागजातहरू, उडान लगहरू र पीडितहरू (जस्तै भर्जिनिया गिफ्रे) का बयानहरूले एपस्टाइनका ग्राहकहरूमा धेरै ठूला नामहरू समावेश भएको हुनसक्ने सम्भावना देखाएका थिए । केही कागजातहरू सन् २०१९, २०२४ र जनवरी २०२५ मा सार्वजनिक गरिएका थिए । जसमा बिल क्लिन्टन र प्रिन्स एन्ड्रयू जस्ता नामहरू प्रकाशमा आएका थिए । यद्यपि, उनीहरू विरुद्ध कुनै ठोस प्रमाण भने फेला परेन ।

तस्वीर स्रोत – ब्लूमबर्ग

विवाद

न्याय विभाग र एफबीआईमाथि एपस्टाइनको मृत्यु हुनुभन्दा अघि जानाजानी उनको सुरक्षा व्यवस्था कमजोर बनाएको आरोप छ । जेलका क्यामेराहरू किन बन्द थिए र गार्डहरू किन सुतिरहेका थिए भन्ने बारेमा अझै पनि कुनै स्पष्ट जवाफ आएको छैन । धेरै महत्त्वपूर्ण फाइल र प्रमाणहरू हराइरहेका छन् वा अझै सार्वजनिक गरिएका छैनन् ।

मिडिया र पीडित महिलाहरूले ‘ग्रान्ड जूरी’ कागजातहरू (जुन अझै गोप्य छन्) बाहिर ल्याउन माग गरेका छन् । एफबीआईले जानाजानी धेरै उच्च-प्रोफाइल नामहरूको अनुसन्धान नगरेको वा तिनीहरूलाई बचाउने प्रयास गरेको आरोप छ । तर, एफबीआईका प्रमुख काश पटेल र उपप्रमुख डयान बान्जिनोले उक्त सूची एफबीआईसँग सुरक्षित रहेकव भनेर दाबी गरेको छ । तर, सार्वजनिक गरेको छैन ।

एपस्टिनले आफ्ना शक्तिशाली ग्राहकको सूची नै बनाएर राखेका छन् भन्ने पनि ट्रम्पका समर्थकको दाबी थियो । त्यही सूची बाहिरिने डरले डेमोक्र्याटिक पार्टीका शक्तिशाली नेताले एपस्टिनको हत्या गरेको उनीहरू बताउँथे ।

भनिन्छ – एपस्टिनले आफ्ना शक्तिशाली ग्राहकको सूची नै बनाएर राखेका छन् । त्यही सूची बाहिरिने डरले डेमोक्र्याटिक पार्टीका शक्तिशाली नेताले एपस्टिनको हत्या गरेको केही व्यक्ति बताउँछन् ।

यस्तो आरोप लगाउनुमा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग एपस्टिनको घनिष्ठ सम्बन्ध एउटा मुख्य कारण भएको समेत आरोप छ । सन् २००१ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि क्लिन्टनले धेरैपटक एपस्टिनको निजी जहाजमा यात्रा गरेका थिए ।

यस्तै, यही वर्षको जुन ५ मा अर्बपति इलोन मस्कले ट्रम्पको नाम एपस्टाइन फाइलहरूमा रहेको र यही कारणले गर्दा फाइलहरू सार्वजनिक नगरिएको दाबी गरे । ट्रम्पले पदभार ग्रहण गर्दा एपस्टाइनका फाइलहरू सार्वजनिक गर्ने वाचा गरेका थिए । तर, अहिलेसम्म गरेका छैनन् ।

अहिले जब वाल स्ट्रिट जर्नलको रिपोर्ट बाहिर आयो, ट्रम्प फेरि विवादमा परे । ट्रम्पका समर्थकहरूले पनि उनीमाथि प्रश्न उठाइरहेका छन् । न्याय विभागले अब रिपोर्ट सार्वजनिक गर्ने बताएको छ । यद्यपि, यसको समय अझै खुलासा गरिएको छैन ।

(यो रिपोर्ट विभिन्न एजेन्सीको सहयोगमा तयार गरिएको हो।)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register