लुम्बिनीमा बढ्दो सडक दुर्घटना : एक वर्षमा ५०६ जनाको मृत्यु

बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले गत वर्षको तुलनामा दुर्घटना र त्यसबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । ट्राफिक कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा मात्रै ३ हजार ४७९ वटा सडक दुर्घटना भएका र त्यसबाट ५०६ जनाको मृत्यु हुनुका साथै ५ हजार ६११ जना घाइते भएका छन् […]

Jul 20, 2025 - 15:53
 0
लुम्बिनीमा बढ्दो सडक दुर्घटना : एक वर्षमा ५०६ जनाको मृत्यु

बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले गत वर्षको तुलनामा दुर्घटना र त्यसबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । ट्राफिक कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा मात्रै ३ हजार ४७९ वटा सडक दुर्घटना भएका र त्यसबाट ५०६ जनाको मृत्यु हुनुका साथै ५ हजार ६११ जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा एक हजार १२० दुर्घटनाबाट १०४ जना महिला र ३९२ जना पुरुष गरी ४९६ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । भर्खर सकिएको आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटना झन्डै तेब्बरले वृद्धि भएको छ । मृत्यु हुनेको सङ्ख्या भने १० जनाले वृद्धि भएको छ ।

२०८१ साउनदेखि २०८२ असार मसान्तसम्म लुम्बिनीका १२ जिल्लामा ४०५ पुरुष र १०१ जना महिला गरी ५०६ जनाको मृत्यु भएको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए ।  दुर्घटनामा परी ५ हजार ६११ जना घाइते भएका छन् । अघिल्लो आर्थिक २०८०/०८१ मा १ हजार ६९३ जना घाइते भएका थिए ।

त्यस्तै , आर्थिक वर्ष २०८१/०८२ मा लुम्बिनीका १२ जिल्लामध्ये दुर्घटनामा परी सबैभन्दा धेरै रुपन्देहीमा १२१ जनाको मृत्यु भएको छ । त्यसै गरी दाङमा ७८ जना, कपिलवस्तुमा ७३, बाँके ७० जनाको मृत्यु भएको तथ्याङ्क छ । यसै गरी नवलपरासी (पश्चिम) मा ४६, पाल्पामा २६, गुल्मीमा १०, अर्घाखाँचीमा १५, बर्दियामा ३८, प्युठानमा ९, रोल्पामा १७ र रुकुम पूर्वमा ३ जनाको मृत्यु भएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।

उनका अनुसार १२ वटै जिल्लामा एक वर्षको अवधिमा सवारी नियम उल्लङ्घन गरेका १ लाख ७० हजार ८० सवारीलाई कारबाही गरिएको छ । सवारी चालकलाई कारबाही गरी जरिवाना बापत १७ करोड ८३ लाख ८३ हजार ४९१ रुपैयाँ राजस्व सङ्कलन भएको छ । सवारी नियमको पालना भने अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा कम भएको देखिएको छ । ०८०/०८१ मा २ लाख ३३ हजार ९६ सवारीलाई कारबाही गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register