आम्दानी नभएपछि कोदो खेती छोड्दै भोजपुरका किसान

युवराज विष्ट, भोजपुर । बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले […]

आम्दानी नभएपछि कोदो खेती छोड्दै भोजपुरका किसान

युवराज विष्ट, भोजपुर । बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो ।

यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरुपमा खेती गरे पनि व्यावसायिकरुपमा कोदो खेती नगरेका किसानले यसबाट जीवनयापन गर्नसक्ने अवस्था नरहेको बताउँछन् । परम्परागत तरिकाले केही किसानले मात्र यसको खेती गरिरहेका छन् ।

कोदोबाट खास आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती कमी हुँदै आएको टेम्केमैयुङ–७ कोटका कृषक धनबहादुर प्रधान बताउछन् । विगतका वर्षमा धेरै किसानले खेती गर्ने गरेकामा पछिल्लो समय छाड्दै गएको उनको भनाइ छ । ‘‘पछिल्लो समय हाम्रो क्षेत्रमा कोदो खेती घट्दै गएको छ”, कृषक प्रधान भन्छन्, “कोदो खेतीमा कमैको मात्र रुचि देखिन्छ । कोदो खाने चलन गाउँघरमा घट्दै गएको छ । विगतका दिनमा जस्तो उत्पादन पनि हुन्न ।”

कोदो स्थानीय बजारमा प्रतिपाथी रु एकसय ६० मा बिक्री हुने गरेको छ । आफ्नो बारीमा उत्पादन भएको कोदो स्थानीय सौर्य बजार लगेर बेच्ने गरेको उनी जानकारी दिन्छन् । मानिसले ढिँडो वा रोटी बनाएर खानेभन्दा पनि जाँडरक्सी बनाउन मात्र बढी प्रयोग हुने गरेको छ । दसैँ, तिहार, किरात राईहरुको उधौली, उभौलीलगायत चाडमा बढी कोदोको माग हुने कृषक प्रधान बताउछन् ।

उनी भन्छन् “यसको परिकार बनाएर खाने चलन कम छ । कहिलेकाहीँ मानिसले ढिँडो बनाएर खान्छन् तर गाउँघरमा दैनिकरुपमा ढिँडो, रोटीलगायत परिकार बनाएर खाने चलन घट्दै गएको छ । खास गरेर जाँडरक्सी बनाउनका लागि नै कोदोको खोजी हुने गरेकामा चाडबाडको समय बाहेक अरु समयमा खास कोदोको खोजी हुँदैन ।” वार्षिकरुपमा आफूले १० देखि १२ मुरीसम्म कोदो फलाउँदै आएको र अहिले गाउँमा करिब २० देखि ३० मुरीको हारहारीमा मात्र कोदो उत्पादन हुने गरेको छ । कृषक प्रधान बताउछन् ।

“खासमा कोदो खानुको फाइदा थाहा नभएर पनि खेतीमा रुचि देखिँदैन”, उनी भन्छन्, “सहर बजारबाट सहजरुपमा चामल आउने अवस्था छ । मानिस त्यसैलाई मिठो मानेर खान्छन् तर मैले भने कोदो उत्पादन हुने क्षेत्र घटाएको छैन । दैनिकरुपमा उपभोग गर्छु । यसको महत्वका बारेमा जानकारी दिएर उत्पादनमा जोड दिन आवश्यक छ । यस्तै अवस्था हो भने कोदो लोप हुने अवस्था पनि आउन सक्छ ।” खाद्यसुरक्षा तथा स्वास्थ्यको दृष्टिकोणले कोदोलाई महत्वपूर्ण बालीका रुपमा लिइन्छ । यसलाई ढिँडो, रोटी, सातु, लिटो, खोलेलगायत परिकार बनाएर खान सकिने स्थानीय किसानको भनाइ छ । कोदोको खोलेलाई चिसोका कारण हुने रोगको औषधिका रुपमा लिन सकिन्छ । चिसोले सताए कोदोको खोले खाएमा ठिक हुने उनीहरु बताउँछन् ।

केही सिमित कामका लागि मात्र खोजी हुने भएकाले कोदो खेतीमा किसानको रुचि कम हुँदै गएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपाल बताउछन् । आफ्नो वडाका धेरै मानिसले कोदो खेती गर्न छाड्दै गएको उनको भनाइ छ । किसानमा परम्परागतरुपमा हुँदै आएको कोदोलगायत बालीको विकल्पमा अन्यबाली लगाउने चलन बढेको छ ।

“मानिसले वैकल्पिक बालीको खोजी गर्ने भएकाले कोदोप्रति कम रुचि देखिन्छ”, वडाध्यक्ष नेपाल भछन्, “ आठ, दश वर्षअघिसम्म प्रशस्त कोदो उत्पादन हुन्थ्यो । त्यसको खपत यही नै हुने गरेको थियो तर अहिले यो अवस्था छैन । सामान्यरुपमा खेती गरे पनि धेरै मानिसले कोदो रोप्न छाडेको अवस्था छ ।” जिल्लामा छ हजार हेक्टर कोदोबालीका लागि खेतीयोग्य जमिन रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । व्यावसायिकरुपमा किसानले खेती गर्न छाड्दै गएको ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास अम्गाईं बताउछन् ।

अहिले किसानले गरिरहेको कोदोखेती निर्वाहमुखी मात्र रहेको उनको भनाइ छ । कोदोको महत्वलाई नबुझेर नै किसानले खेती गर्न छाडेको देखिन्छ । कोदो खानु स्वास्थ्यका लागि अति नै लाभदायक छ । तौल घटाउन पनि कोदो खान नै राम्रो मानिन्छ । कोदो खाएको लामो समयसम्म भोक नलाग्ने भएकाले र तौल नियन्त्रणमा सहयोग पुग्ने भए पनि ग्रामीण भेगका किसानलाई कोदोका फाइदाका विषयमा जानकारी नहुँदा खेती कम भएको हुनसक्ने सूचना अधिकारी अम्गाईंको भनाइ छ । “कोदोखेतीमा किसानको खास उत्साह देखिँदैन”, उनी भन्छन्, “यसको फाइदाका विषयमा जानकारी नहुँदा पनि खेती घट्दै गएको देखिन्छ । यसलाई व्यवसायीकरण गर्नसके किसानलाई पनि लाभ पुग्ने थियो तर अहिलेको खेती प्रणाली निर्वाहमुखी मात्र देखिन्छ ।”

मधुमेह तथा मुटुका बिरामीका लागि कोदोको रोटीलगायत परिकार लाभदायक मानिन्छ । कोदोमा धेरै मात्रामा नियासिन हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्र कम हुने सूचना अधिकारी अम्गाईंको भनाइ छ । कोदोमा हुने क्याल्सियमले हाड र यसमा हुने आइरन तत्वले रगतको कमीले हुने रोगबाट बचाउने गर्दछ ।

कोदो समुन्द्री सहतबाट पाँच सय मिटरदेखि दुई हजार चार सय मिटरसम्म खेती गर्न सकिन्छ । कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै हावापानी हुने गर्दछ । कोदोखेती गर्दा धेरैजसो स्थानीय जातको प्रयोग हुने भएकाले उन्नत जातको तुलनामा उत्पादकत्व कम हुने कृषि ज्ञान केन्दले जनाएको छ । कोदोसँगै रैथाने बालीको संरक्षणमा योजनाबद्धरुपमा काम गर्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत जोड दिन्छन् । गाउँपालिकाले यहाँका यस्ता परम्परागत बालीको तथ्याङ्क सङ्कलन गरेर तिनको विकास र संरक्षणका लागि काम गर्ने उनको भनाइ छ ।

पछिल्लो समयमा कोदोखेतीमा किसानको रुचि कम हँुदै गएकाले उनीहरुलाई खेतीमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने सोच रहेको र किसानले उत्पादन गरेको कोदोको बजारीकरणका लागि बाहिर बजार खोजी गर्नका लागि कुराकानी भइरहेको अध्यक्ष बस्नेत उल्लेख गर्छन् । यहाँ उत्पादन भएको कोदो जाँडरक्सी बनाउनका लागि मात्र सबैभन्दा बढी खपत हुने गरेको छ । कोदोबालीलाई विस्तार गरेर किसानलाई सहजरुपमा बेचबिखन गर्ने वातावरणसँगै आयआर्जनमा जोड्ने लक्ष्य रहेको र सरकारका तर्फबाट पनि कोदोको उत्पादन वृद्धिका लागि कोदो प्रवद्र्धन कार्यक्रम ल्याउन आवश्यक रहेको उनी बताउछन् ।