चार्डपर्व लक्षित बैंकहरुका अफर, कसका कार्यक्रम कस्ता ?

काठमाडौं । चार्डपर्वलाई लक्षित गरी वाणिज्य बैंकहरुले विभिन्न अफरका कार्यक्रम संचालनमा ल्याएका छन् । बैंकहरुले क्यासब्याकदेखि विभिन्न छुटका कार्यक्रम सार्वजनिक गरेका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी पैसा भुक्तान गर्दा ग्राहकले छुटका साथै उपहारसमेत पाउनेछन् । कुमारीको ‘डिजिटल धमाका अफर’मा ग्राहकलाई छुटैछुट कुमारी बैंकले दशैं–तिहार लक्षित ‘डिजिटल धमाका अफर’ सार्वजनिक गरेको छ […]

चार्डपर्व लक्षित बैंकहरुका अफर, कसका कार्यक्रम कस्ता ?

काठमाडौं । चार्डपर्वलाई लक्षित गरी वाणिज्य बैंकहरुले विभिन्न अफरका कार्यक्रम संचालनमा ल्याएका छन् । बैंकहरुले क्यासब्याकदेखि विभिन्न छुटका कार्यक्रम सार्वजनिक गरेका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी पैसा भुक्तान गर्दा ग्राहकले छुटका साथै उपहारसमेत पाउनेछन् ।

कुमारीको ‘डिजिटल धमाका अफर’मा ग्राहकलाई छुटैछुट

कुमारी बैंकले दशैं–तिहार लक्षित ‘डिजिटल धमाका अफर’ सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न उक्त योजना ल्याएको बताएको छ । बैंकले दशैं, तिहार र छठ पर्वको अवसरमा डिजिटल सेवा प्रदायक एफ १ सफ्ट र फोन पेको सहकार्यमा उक्त अफर ल्याएको हो ।

यस योजनाअन्तर्गत एकजना भाग्यशाली ग्राहकले आइफोन प्राप्त गर्न सक्नेछन् । जसको लागि बैंकको कार्डबाट असोज ४ गतेदेखि कात्तिक १३ गतेसम्म २०० रुपैयाँको ५ पटक भुक्तानी भएको हनुपर्छ । त्यस्तै, पहिलो पटक भिसा कार्ड वा क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ३० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

त्यस्तै, बैंकको कार्ड र क्युआरमार्फत कारोबार गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले र इलेक्ट्रिक स्कुटर पाउने बैंकले जनाएको छ । कुमारी मोबाइल बैंकिङएपमार्फत एनटिसी, एनसेल र स्मार्टसेलका लागि पहिलो पटक टपअप गर्दा ३० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउने बताइएको छ । त्यस्तै, दशैं टिकाको साइतको समयमा दक्षिणा पोर्टल प्रयोग गर्ने पहिलो २० जना ग्राहकलाई १०० प्रतिशत क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ ।

नेपाल बैंकबाट अनलाईन सपिङ्गमा छुट

नेपालकै पहिलो बैंक नेपाल बैंकले दशैंका लागि बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजमा किनमेल गर्दा छुट पाउने योजना ल्याएको छ । बैंकले ल्याएको ‘दराज दशैं धमाका’ योजनाअन्तर्गत दराजमा किनमेल गर्दा बैंकका कार्ड प्रयोगकर्ताहरुले रु २,००० देखि रु २,५०० सम्म छुट पाउने जनाएको छ ।

एनएमबिले स्टल राखेरै ग्राहकलाई सहुलियत

एनएमबि बैंकले दशैं–तिहारलाई लक्षित ‘एनएमबि बजार’ आयोजना गर्ने भएको छ । बैंकले स्वदेशी सीप र उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन गर्ने प्लाष्टिक रहित ‘एनएमबि बजार’ आयोजना गर्न लागेको जनाएको छ । दशैं र तिहारलाई लक्षित गरी संचालन गरिएको एनएमबि बजारमा ६० भन्दा बढी स्टलहरु राख्ने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआररपोस मार्फत सहूलियत मूल्यमा खरिद गर्न सकिने छ । एनएमबि बैंकले असोज ८ गते सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म आयोजना गर्ने जनाएको छ ।

साथै, बैंकले ‘दराज दशैं धमाका’ योजना ल्याएको छ । बैंकले दशैंका लागि बैंकको डेविट÷क्रेडिट कार्ड प्रयोग गरी दराजमा किनमेल गर्दा छुट पाउने योजना ल्याएको हो । बैंकले ल्याएको यस योजनाअन्तर्गत दराजमा किनमेल गर्दा बैंकका कार्ड प्रयोगकर्ताहरुले रु २,००० देखि रु २,५०० सम्म छुट पाउने जनाएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै एनआईसी, २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले ‘दशैं–तिहार महोत्सव’ कार्यक्रम सञ्चालनमा ल्याएकाे छ । जसअन्तर्गत  भाटभटेनी, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट लगायतमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २०% सम्म क्यासब्याक तथा छुट योजना ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुनेछ । जसअनुसार २०७९ आश्विन १ देखि २०७९ कात्र्तिक १५ सम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त गर्नेछ ।

त्यसैगरी, सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवम् साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस तथा मोबाइल बैंकिङ्ग (एनआईसी एसिया मो बैंक) मार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा रू. ३०० सम्म छुट तथा क्यासब्याज उपलब्ध हुने बैंकले जनाएको छ ।

ग्लोबल आईएमईको ३३.३३ प्रतिशतसम्म क्यासब्याक अफर

ग्लोबल आईएमई बैंकले “एससीटी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” ल्याएको छ । यस अफर अन्तर्गत बैंकका कार्ड प्रयोगकर्ताले क्यासब्याक पाउने भएका छन् । बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका हुन् ।

बैंकका अनुसार स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) सँगको सहकार्यमा बैंकले ल्याएको यसपालीको दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित “एससीटी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक पाउन सक्ने छन् ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात १ हजार रुपैयाँ (अधिकतम) सम्म क्यासब्याक पाउने बैंकले जनाएको छ । यस योजनापश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई ५०० सय रुपैयाँ तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने छ । साथै, क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० सय रुपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।

सानिमाको “दशैं धमाका” : अनलाईन सपिङ्गमा २० प्रतिशतसम्म छुट

सानिमा बैंकले “दशैं धमाका” योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले दराजमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुका लागि दराजसँग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य गरेको हो ।

बैंकका अनुसार योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकले ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने जनाएको छ । साथै, योजना अवधिभर सहभागी हुने ग्राहकहरुले “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्राप्त गर्ने छन् ।

दशैं लक्षित नबिलको आर्कषक आवास कर्जा योजना

दशैं तिहारलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । यस योजना सिमित अवधिका लागि ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ । बैंकले पहिलो घर खरिदकर्ताका लागि घरको मुल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको जनाएको छ ।

बैंकले ३५ वर्षसम्मकोे कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधासमेत प्रदान गरेको जनाएको छ ।

प्रभुको मुद्दतीमै १५.१३ प्रतिशत ब्याज

प्रभु बैंकले बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी मुद्दती खाता योजना ल्याएको छ । बैंकले विदेशबाट रेमिट्यान्स गरी पठाएको रकम बैंकको खातामा मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत ब्याज भुक्तानी गर्ने जनाएको हो ।

बैंकले यसो हुँदा विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने जनाएको छ । साथै, विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन टेवा पुग्ने बैंकले जनाएको छ । साथै, बैंकले उन्नति बचत खातामै बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

साथै, बैंकले विभिन्न अनलाईन भूक्तानीमा छुटका अफरहरु सञ्चालनमा ल्याएको छ । प्रभुको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी विभिन्न अनलाईन कम्पनीबाट सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइन्छ ।

एनसीसीको ‘दशैं धमाका’ : डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

एनसीसी बैंकले पनि ‘दशैं धमाका’ योजना ल्याएको छ । बैंकले एनसीसी भिसा कार्ड र एनसीसी स्मार्ट एपमार्फत अनलाइन किनमेल गर्दा २० प्रतिशतसम्मको छुट पाइने जनाएको छ । बैंकका अनुसार यस योजनाअन्तर्गत दराज अनलाईन, सस्तोडिल डटकम र ग्यापु डट कममा पहिलो खरिदमा रु २ हजार ५ सम्म छुट पाइने छ । दराजमा एनसीसीको डेभिटभन्दा क्रेडिट कार्डको प्रयोग गरि धेरै छुट प्राप्त गर्न सकिन्छ ।

सेन्चुरीमा “ब्याजको बहार” अफर

सेन्चुरी कमर्सियल बैंकले “पाउनुहोस चाडपर्वको लहरमा अधिकतम ब्याजको बहार” योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकको रेमिट्यान्स प्रिमियम बचत खातामा १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती डिपोजिट खातामा १४.१४ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ ।

एभरेष्टको अनलाईन सपिङ्गमा २० प्रतिशतसम्म छुट

एभरेष्ट बैंकले ‘दशैँ धमाका, खुशी बाडौँ दराजको साथ’ अफर ल्याएको छ । यो अफर सेप्टेम्बर १४ देखि सुरु भइसकेको छ । यस अफरअन्तर्गत बैंकको डेबिट÷क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा रु २ हजार पाँच सयसम्मको छुट पाउने बैंकले जनाएको छ ।
यस्तै, बैंकको डेबिट÷क्रेडिट कार्डको प्रयोग गरि सस्तो डिल अनलाईनमा पनि २० प्रतिशतसम्म छुट पाइने छ ।