डेङ्गी लागिहाल्यो भने के गर्ने ? प्लेटलेट्स बढाउन के खाने ?

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशभर लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण प्रकोपकै रूपमा फैलिएको छ। डेङ्गी सङ्क्रमण भइहाल्यो भने के कुरामा ध्यान दिने र अरूलाई सर्नबाट कसरी जोगाउने भन्नेबारे धेरैलाई चिन्ता छ । प्रस्तुत छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका फिजिशियन डा. निरज […]

डेङ्गी लागिहाल्यो भने के गर्ने ? प्लेटलेट्स बढाउन के खाने ?

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशभर लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण प्रकोपकै रूपमा फैलिएको छ। डेङ्गी सङ्क्रमण भइहाल्यो भने के कुरामा ध्यान दिने र अरूलाई सर्नबाट कसरी जोगाउने भन्नेबारे धेरैलाई चिन्ता छ ।

प्रस्तुत छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका फिजिशियन डा. निरज बम र भाइरोलोजिस्ट रेश्मा तुलाधरले दिएका सुझावको संश्लेषित रूप।

डेङ्गी लागिहाल्यो भने के गर्नुपर्छ ?

डा शेरबहादुर पुनः लक्षण मिल्ने बित्तिकै डेङ्गी लागेको होला भनेर सम्झनुपर्‍यो। ज्वरो बढ्यो भने सिटामोल दिने त हो भनेर घरमै बस्न भएन। त्यसले हाम्रो शरीरमा रगतको जुन उतारचढाव हुन्छ त्यो थाहा हुँदैन र धेरै मान्छेलाई अचानक गाह्रो बनाउन सक्छ।

तपाईँको छरछिमेक काम गर्ने ठाउँ वा विद्यालयमा कसैलाई डेङ्गी छ र तपाईँलाई पनि लक्षण छ भने एक पटक रगतको अवस्था चेक गराउनूस्। र चिकित्सकले परामर्श दिँदै जान्छन्।

जटिल अवस्था नभएसम्म हामी अस्पताल आउन सल्लाह दिँदैनौँ र यो सामान्यतः ८ देखि १० दिनमा निको हुन्छ। सकेसम्म लक्षण देखिएपछि छिट्टै रगत जाँच्नूस्।

डेङ्गी सर्छ कि सर्दैन ?

डा पुनः डेङ्गी सरुवा रोग अन्तर्गत परे पनि यो मानिसबाट मानिसमा सिधा सर्ने होइन। यसलाई लामखुट्टेले सार्ने गर्छ। एडीज् जातको लामखुट्टेले एउटा बिरामीलाई टोकेको छ र त्यसले ८ देखि १२ दिनमा आफूबाट अरूमा सार्न सक्ने क्षमता विकास गर्छ र त्यसपछि जति जनालाई टोक्छ त्यति जनालाई डेङ्गी सार्दै जान सक्ने सम्भावना रहन्छ।

अहिले परिवारका सबै सदस्यलाई सङ्क्रमण सरिरहेको देखिरहेको छ।

परिवारको सदस्यलाई डेङ्गी भयो भने अरू मानिस कसरी बच्ने ?

डा पुनः परिवारमा कसैलाई सङ्क्रमण भइसकेको छ भने घरबाट लामखुट्टे भगाउने। किनभने त्यही परिवारको पहिले एक जना बिरामी भएर आउने र पछि अर्को मान्छे आउने देखिरहेको छु। उसको उपचारमा लाग्ने व्यक्ति मात्र नभएर अरूलाई सर्नबाट बचाउनुपर्‍यो। यही कुरा कार्यालयमा पनि लागु हुन्छ। सङ्क्रमित व्यक्ति झुलभित्र बस्ने कुरालाई पनि म बेठिक भन्दिनँ।

एक पटक सङ्क्रमण भएको व्यक्तिलाई दोहोर्‍याएर डेङ्गी हुन्छ ?

डा रेश्मा तुलाधर: एक पटक डेङ्गी लागेको व्यक्तिलाई फेरि फेरि डेङ्गी लाग्न सक्छ। जुन सालमा उसलाई डेङ्गी लागेको हो त्यही सालमा चाहिँ लाग्दैन किनभने उसको शरीरमा एन्टिबडी बनिसकेको हुन्छ।

डा निरज बम: परार पनि डेङ्गी फैलिएको थियो उपत्यकामा त्यस बेला ज्वरो आएर डेङ्गी पोजिटिभ भएर उपचार गरेका कतिपय धेरै बिरामीहरू फेरि पनि डेङ्गी भयो भन्दै आइराख्नुभएको छ। एक पटक भएको सङ्क्रमणले छोटो समय सुरक्षा दिने भए पनि डेङ्गीकै अर्को प्रकारको भाइरसबाट कति मात्रामा सुरक्षा दिन्छ भन्नेबारे पर्याप्त अनुसन्धान भइसकेको छैन।

डेङ्गी दिउँसो टोक्ने लामखुट्टेबाट मात्र सर्छ ?

डा पुनः राति टोक्दै टोक्दैन म भन्दिनँ। तर डेङ्गी सार्ने लामखुट्टेको बानी दिउँसो सक्रिय हुन्छ। हामीलाई जुन लामखुट्टेले डेङ्गी फैलाइरहेको छ त्यो बिहान सूर्योदयको समयमा र साँझ सूर्यास्तअघि एकदमै सक्रिय हुने र त्यो बेलामा बढी टोक्ने र सङ्क्रमण पनि हुने सम्भावना रहन्छ। दिउँसो टोकाइबाट बच्न पनि हामी ध्यान दिन पाउँदैनौँ।

डेङ्गी हुँदा के खानु हुँदैन ?

डा पुनः यसको औषधि यही भन्ने छैन तसर्थ सिटामोल भन्दा केही नखानूस्। के केको पात पनि खान हुन्छ की हुँदैन भनेर मलाई सोधिरहेका छन्। यसको म विषय विज्ञ त होइन यस्तो कुरामा नेपाल सरकारले नै प्रस्ट पारिदिनुपर्छ। नामै लिएर भन्नुपर्दा पसलमा पाउने नामहरू फ्लेक्सन, निम्स, ब्रुफिन जस्ता औषधी नखानूस्।

खानेकुरामा यही कुरा नखानूस् म भन्दिनँ जाँडरक्सी खानु भएन।

प्लेटलेट्स बढाउने खानेकुरा के–के हुन् ?

डा पुनः डेङ्गी सङ्क्रमण हुँदा कतिपयको रगतमा प्लेटलेट्स मात्रा घट्ने भए पनि यसैले प्लेटलेट्स बढ्छ भन्ने छैन। प्लेटलेट्स बढाउँछ थकान कम गर्छ भन्ने कुनै पनि कुरा विषय विज्ञसँग सल्लाह नलिई नखानूस्। आफ्नो अवस्था त्यसको मात्राका लागि पनि चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ। त्यो मिलेन भने फाइदा नै गर्ने कुराले पनि हानी गर्न सक्छ।

तागतिलो खानेकुरा खानु राम्रो हुन्छ। यो बेलामा कमजोर हुने र पचाउन सजिलो चाहिने भएकाले झोलिलो खानेकुरा र प्रशस्त जीवनजल खानुहोस् भनेर हामी सल्लाह दिन्छौँ।

यस पटक डेङ्गीको प्रकोप किन धेरै भएको ?

डा पुनः यो पटक तीन वर्षअघि सन् २०१९ मा भन्दा व्यापक रूपमा डेङ्गी फैलिएको छ।

यसअघि जुन समयमा पानी पर्‍यो त्यही समयमा हामीले लामखुट्टेको वासस्थान खोजेर नष्ट गर्नुपर्थ्यो तर हामी केही ढिलो भइसक्यौँ। अझै पनि घर कलकारखाना वा विद्यालय पनि केही दिन रोकेर लामखुट्टे नष्ट गर्नुपर्छ। नभए यो अझै अझै बढिरहन्छ। बीबीसीबाट