शिक्षक पेशाबाट अवकाश लिएपछि बाख्रापालनबाट मनग्य कमाउँदै हमाल

सुशीला ओली, घोराही । जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक छन् । जागिरे जीवनबाट अवकाश भएपछि उनले बसीबसी आनन्दको जीवन व्यतित गर्न सक्थे तर उनी केही नगरी बसेनन् । घोराही उपमहानगरपालिका– ७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०७५ देखि केही बाख्रा पालेर व्यवसाय सुरु गरेका उनी त्यसपछि सायिकरुपमा […]

शिक्षक पेशाबाट अवकाश लिएपछि बाख्रापालनबाट मनग्य कमाउँदै हमाल

सुशीला ओली, घोराही । जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक छन् । जागिरे जीवनबाट अवकाश भएपछि उनले बसीबसी आनन्दको जीवन व्यतित गर्न सक्थे तर उनी केही नगरी बसेनन् । घोराही उपमहानगरपालिका– ७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

विसं २०७५ देखि केही बाख्रा पालेर व्यवसाय सुरु गरेका उनी त्यसपछि सायिकरुपमा जनसेवा बाख्रा तथा कृषि फार्म दर्ता गरेर खसी बोकाको मासु बिक्री र पाठापाठी पनि उत्पादन गर्दै आएका थिए ।

रोल्पा रुन्टीगढी गाउँपालिका–३ बाट बसाइँ सरी दाङ झरेका हमाल लामो समय शिक्षण पेशामा आबद्ध थिए । बीस वर्षपछि अवकाशप्राप्तपश्चात् खाली समयलाई सदुपयोग गर्दै बाख्रापालन व्यवसाय गर्न थालेको उनको भनाइ छ ।

हमालको परिवार विसं २०५२ सालमा दाङको देउखुरीमा र त्यहाँ करिब २० वर्षको बसाइपछि फेरि घोराही–७ जवरपुरमा बसाइँ सर्दै आएको हो । जगिरको समय सकिएपछि केही काम गर्नुपर्छ भन्ने सोचका साथ कृषि व्यवसायमा आबद्ध भएको उनी बताउँछन् ।

“मैले खसी, बोकासँगै बीउका लागि बोयर जातको पाठापाठी बिक्री पनि गर्दै आएको छु”, हमाल भन्छन्, आफूसँग नभएका मात्र अन्यत्रबाट पाठापाठी खरिद गरेर ल्याउने गरेको छु । हाल मेरो फार्ममा १३\१४ वटा पाठापाठीसहित ८० बढी बाख्रा छन् । यसबाट वार्षिकरुपमा रु १०/१२ लाख जति आम्दानी गर्दै आएको छु ।” यहाँ उत्पादन भएको शुद्ध बोयर जातको बोका तथा पाठीको माग विभिन्न जिल्लाबाट आउने गरेको छ । “यहाँ उत्पादन भएका बोयर जातको बोका तथा पाठीलाई बीउका रुपमा जिल्लाको विभिन्न ठाउँबाट माग हुने गरेको छ”, उहाँ बताउछन् “उत्पादन गर्नसके बजारको कुनै समस्या छैन तर मागअनुसार उत्पादन गर्न सकिएको छैन ।”

बाख्रापालनका लागि आवश्यक घाँस हमाल आफैँले उत्पादन गर्दै आएका छन् । उन्नत र आधुनिक जातको घाँस बर्सिम, जै लगाउनाका साथै घाँसको पनि खेती गर्छन् । योसँगै मसुरो, गहुँको भुस पनि उनले खुवाउने गरेका छन् । डाले घाँसको भने हमाललाई समस्या छैन । बाख्रापालन नै परिवारको मुख्य आम्दानीको स्रोत भएको र यसबाट प्राप्त भएको आम्दानीले छोरा छोरीका लागि शिक्षा तथा घर खर्च मनग्य छ । बाख्रापालनमा उहाँको श्रीमती र छोराले पनि सहयोग गर्दै आएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१६ फचकुलुवाका किसान दिपेन्द्र वलीले पनि २०७५ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन व्यावसाय गर्दै आएका छन् । उनीसहित अन्य तीन साथी पनि मिलेर उक्त व्यावसाय गर्दै आएका छन् । उनीहरुको फार्ममा हाल पाठापाठी र अन्य गरेर एक सय ५० बढी बाख्रा छन् । सुरुआती चरणमा रु एक करोड २५ लाखबाट व्यवसाय गरेको उक्त समूहले अहिले रु तीन करोड बराबरको कारोबार गर्न सफल भएको छ ।

केही रकम बैंकमा ऋण तिर्न बाँकी रहेको वली बताउछन् । एकीकृत कृषि तथा पशुपक्षी सहकारी संस्थामार्फत उक्त टोलीले व्यवसाय गर्दै आएको हो । पैसा कमाउनकै लागि विदेशिनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि व्यवसायअन्तर्गत बाख्रापालन गर्दै आएको वलीको भनाइ छ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घ दाङ जिल्ला अध्यक्षका अध्यक्षसमेत रहेका वलीले खसीबोका बिक्रीका लागि महासङ्घमार्फत समन्वय गरेर बिक्री गर्दै आएको बताउछन् । उक्त फार्ममा बोयर जातका खसीबोका पालिएका छन् ।

बाख्रालाई घाँसका लागि उक्त समूहले सात कट्ठा जग्गामा घाँस लगाएको छ । पछिल्लो समय भने व्यावसायिकरुपमा कृषि व्यवसाय गर्दै आएका किसानले अनुदान नपाउने र विचौलियाको हातमा पर्ने हुँदा धेरै व्यवसायी बाख्रापालन व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको वली बताउछन् । साथै नेपाल व्यावसायिक बाख्रापालक महासङ्घ दाङ जिल्ला अध्यक्ष भएको हुँदा किसानलाई कसरी व्यावसायिक र स्वरोजगारमुखी बनाउन सकिन्छ भन्नेतर्फ लागेको उनको भनाइ छ ।

“सरकारले पनि किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्नुपर्छ”, वली भन्छन्, “बजारीकरणको समस्या हुँदा किसानले उत्पादन गरेका वस्तुले उचित मूल्यसमेत पाउन सकेका छैनन् ।”  रासस