अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

May 26, 2023 - 04:50
 0
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

काठमाडौं । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वन जङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । 

हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरनालगायतका आधा दर्जन बढी मनमोहक झरना छन् । 

पदमार्गमा सबैभन्दा आकर्षणका रूपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलो पटक झरनाको अवलोकनका लागि पुग्नुभएका आन्तरिक पर्यटक प्रदीप  पुनले बताउनुभयो । “सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ, झरनाबाट बग्ने निलो रङको पानीले झरनालाई नियालेर धित नै नमर्ने रहेछ”, पुनले भन्नुभयो ।

निलगिरी र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा यस क्षेत्रमा जाने अधिकांश पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । घना जङ्गल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दुःख र थकानलाई झरनाको मनमोहक दृश्यले भुलाइदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताउनुभयो । 

यस झरनाकै अगाडि अन्नपूर्ण हिमशृङ्खलाबाट बग्ने अर्को आकर्षक झरना रहेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत गुफा फाँटमा अन्नपूर्ण हिमशृङ्खलाबाटै बग्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षणका रूपमा रहेको छ । अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँच वटा झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुसी भएर आवतजावत गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो । 

पदमार्गअन्तर्गत भुसकेटमेला नजिकै रहेको रातो झरना पनि पर्यटकको अर्को आकर्षणका रूपमा रहेको छ । अन्नपूर्ण पदयात्रामा जाने पर्यटकका लागि अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनसँगै मनमोहक झरनाको दृश्यावलोकन गर्न पाउनु प्रमुख आकर्षण रहेको छ । झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनमा आवश्यक तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, फुतफुते झरना वारपारका लागि अहिले रहेको झोलुङ्गे पुललाई मर्मत गर्न आवश्यक बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिने उहाँले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पदमार्गलगायतका पूर्वाधार निर्माण भएपछि पर्यटकको आगमन बढेको छ । नारच्याङबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदल यात्रा गरेर आधार शिविर पुग्न सकिने भएपछि अन्नपूर्ण आधार शिविर एक दिनको यात्रामा छोटिएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.