नीतीश कुमार र नायडु निर्णायक बन्दा मोदीलाई सकस

काठमाडौं । भारतको इतिहासमा प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि लगातार तेस्रोपटक प्रधानमन्त्री निर्वाचित हुने कीर्तिमानी कायम गर्दै भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी तेस्रोपटक प्रधानमन्त्री बन्नुहुने भएको छ। भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को बुधबार अपराह्न प्रधानमन्त्री मोदी निवासमा बसेको बैठकले मोदीलाई गठबन्धनको नेता चुनेको छ। १६ राजनीतिक दलका २१ नेताहरूको […]

Jun 6, 2024 - 02:30
 0
नीतीश कुमार र नायडु निर्णायक बन्दा मोदीलाई सकस

काठमाडौं ।

भारतको इतिहासमा प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि लगातार तेस्रोपटक प्रधानमन्त्री निर्वाचित हुने कीर्तिमानी कायम गर्दै भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी तेस्रोपटक प्रधानमन्त्री बन्नुहुने भएको छ।

भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को बुधबार अपराह्न प्रधानमन्त्री मोदी निवासमा बसेको बैठकले मोदीलाई गठबन्धनको नेता चुनेको छ। १६ राजनीतिक दलका २१ नेताहरूको सहभागिता रहेको उक्त बैठकले आगामी शुक्रबार अर्थात् जुन ७ मा राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने निर्णय गरेको छ । मोदीले आगामी जुन ८ तारिखमा प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने लगभग तय भएको छ।

यसअघि बुधबार अपराह्न प्रधानमन्त्री मोदीको राजीनामा स्वीकार गर्दै राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ प्रधानमन्त्रीको नियुक्ति नभएसम्मका लागि मोदीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिनुभएको थियो।

मोदीको तेस्रोपटकको आगमनसँगै अब भारत फेरि अस्थिर गठबन्धनको चरणमा प्रवेश गरेको छ । लोकसभाको ५४५ सिटमध्ये राष्ट्रपतिले मनोनयन गर्ने २ सिट छाडी बाँकी ५४३ सिटका लागि भएको निर्वाचनको मंगलबार राति सार्वजनिक भएको नतिजाले अबको सरकार अस्थिर गठबन्धनको सरकार हुने देखाएको हो। विगत २४ वर्षमा भारतले अटल विहारी बाजपेयीको एक कार्यकाल र डा. मनमोहन सिंहको दुई कार्यकाल र पछिल्लो समय मोदीको दुई कार्यकाल गरी पाँच कार्यकालमात्रै स्थीर सरकार पाएको छ।

‘अबकी बार चार सौ पार’ को नारा लिएर चुनावी मैदानमा उत्रिएका मोदीको भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले २ सय ९२ सिटमा विजय हासिल गरेर सरकार बनाउने चाबी हात पारे पनि भाजपा २४० सिटमा खुम्चिएपछि अस्थिर गठबन्धनको चरण शुरू भएको हो । एकमना सरकार बनाउन चाहिने बहुमत अर्थात् २७२ सिटभन्दा ३२ सिट कम भएपछि भाजपा नीतीश कुमार नेतृत्वको विहार केन्द्रित १६ सिटे जनता दल (युनाइटेड) जेडीयू) र चन्द्र बाबु नायडु नेतृत्वको आन्ध्र प्रदेश केन्द्रित १२ सिटे तेलुगु देसम पार्टी (टीडीपी)सँग मिलेर सरकार गठन गर्न बाध्य भएको छ । जसले गर्दा यसपटक नीतीश कुमार र नायडुको सहमति नलिई मोदी कुनै पनि महत्वपूर्ण विषयमा अघि बढ्न सक्ने अवस्था रहेन । यदि, यी दुई नेतामध्ये कुनै एक मात्र बिच्किए पनि मोदीको सरकार ‘तासको घर’ झंै ढल्न बेर लाग्ने छैन ।

नीतीश कुमार र नायडु दुवै मोदीको काम गर्ने तौरतरिका मन नपराउने नेताका रूपमा परिचित छन् । त्यसैले यी दुईलाई साथमा लिएर सत्ता सञ्चालन गर्न मोदीलाई हम्मेहम्मे पर्ने भारतीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। यसअघि सन् २०२२ मा नीतीश कुमारले भाजपाको साथ छाडेर विपक्षी एकताको पहल गर्दै ‘इन्डिया’ गठबन्धन बनाउनुभएको थियो। उहाँ गत जनवरीमा मात्रै पुनः एनडीएमा फर्कनुभएको हो । यसैकारणले पनि नीतीश कुमारले मोदीलाई अन्तिमसम्म साथ देलान् भन्नेमा शंकाउपशंकाहरू शुरू भइसकेको छ । सत्ताका मुख्य घटक यी दुई नेताको पार्टी भए पनि मोदीले लोकसभामा प्रतिनिधित्व गर्ने अन्य १२ सहयोगी दलसँग पनि तालमेल गर्नुपर्ने हुन्छ ।

अर्कोतर्फ भारतीय राष्ट्रिय कंग्रेसले भने पछिल्ला दुईवटा लोकसभा निर्वाचनमा भन्दा यसपटक उत्साहजनक नतिजा हासिल गरेको छ । कंग्रेस एक्लैले ९९ सिट हात पार्दा उसको नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिब अलायन्स (इन्डिया)ले २३४ सिट ल्याएको छ । पछिल्लो समय भारतको राजनीतिमा कंग्रेसका नेता राहुल गान्धीको प्रभाव बढ्दै आएको छ। यस पटकको निर्वाचनमा गान्धी मात्र एक यस्ता उम्मेद्वार हुन् जसले दुई स्थान (रायबरेली र वायनाड)बाट निर्वाचन जित्नुभएको छ । यद्यपि, उहाँले दुईमध्ये एक सिट छाड्नुपर्नेछ ।

इन्डिया गठबन्धनमा रहेको समाजवादी पार्टी (सपा) ३७ सिट ल्याएर लोकसभाको तेस्रो ठूलो दल बनेको छ। अघिल्लोपटक दिल्लीमा एक सिट ल्याएर दिल्लीको मुख्यमन्त्री बनेका अरबिन्द केजरीवालको आम आदमी पार्टीले भने दिल्लीमा आफ्नो पकड गुमाएको छ। भ्रष्टाचारको आरोपमा जेल परेका केजरीवालको आम आदमीलाई दिल्लीको जनताले नजिताए पनि पंजाबबाट भने ३ सिट ल्याउन सफल भएको छ।

कुन दलको कति सिट

१. भारतीय जनता पार्टी–२४०
२. भारतीय राष्ट्रिय कंग्रेस–९९
३. समाजवादी पार्टी–३७
४. अल इन्डिया तृणमुल कंग्रेस–२९
५. ड्रभिडा मुनेत्रा काजगम–२२
६. जनता दल–१२
७. राष्ट्रिय जनता दल–७
८. युवाजन श्रमिक रितु कंग्रेस पार्टी–४
९. आम आदमी–३
१०. अन्य–९३

कुन गठबन्धनको कति सिट

भाजपा नेतृत्वको एनडीए–२९२
कंग्रेस नेतृत्वको आईएनडीआईए–२३४

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register