धान नबिकेपछि झापाको धान सुपरजोनका कृषक चिन्तित

नविन उप्रेती/ सन्तोष शर्माबनियानी, २९ जेठ । धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका कृषक चिन्तित बनेका छन् । यहाँका किसानले उत्पादन गरेको करिब दुई सय टन चैते धान बिक्रीका लागि राखिएको छ । तर, धान मिलले हामीलाई धान पुग्यो भन्दै किन्न छाडेपछि यहाँका कृषक समस्यामा परेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई कृषकले प्रतिमन रू एक [...] The post धान नबिकेपछि झापाको धान सुपरजोनका कृषक चिन्तित appeared first on Jhapa Online.

Jun 11, 2024 - 03:38
 0
धान नबिकेपछि झापाको धान सुपरजोनका कृषक चिन्तित

नविन उप्रेती/ सन्तोष शर्मा
बनियानी, २९ जेठ । धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका कृषक चिन्तित बनेका छन् । यहाँका किसानले उत्पादन गरेको करिब दुई सय टन चैते धान बिक्रीका लागि राखिएको छ । तर, धान मिलले हामीलाई धान पुग्यो भन्दै किन्न छाडेपछि यहाँका कृषक समस्यामा परेका छन् ।

केही समयअघि स्थानीय व्यापारीलाई कृषकले प्रतिमन रू एक हजार ५० देखि रू एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ कृषक दुर्गाप्रसाद थापाले बताउनुभयो ।

“मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ”, उहाँले भन्नुभयो, “किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।” खेतमा धान पाकेर अलपत्र परेको उहाँले बताउनुभयो ।

धान स्थान सुपरजोन समन्वय समितिका सदस्य समेत रहनुभएका उहाँले कृषकले सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताउनुभयो । उहाँले कृषकले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।

करिब तीन बिघा क्षेत्रफलमा चैते धान खेती गर्नुभएका कचनकवल–३ का अर्का कृषक तोयानाथ मिश्रले यो वर्ष दुई सय ५० मन धान उत्पादन हुने अनुमान गर्नुभएको छ ।

“शुरु–शुरुमा १२ सय रुपैयाँ प्रतिमन धान बिक्री भयो”, उहाँले भन्नुभयो, “सबैतिर धान पाक्न थालेपछि अहिले प्रतिमन नौ सय रुपैयाँ भएको छ ।” एक बिघाको धान काटेर थुपार्नु भएका उहाँले व्यापारीले धान धेरै भयो, मिलले किन्न मानेन भनेर मूल्य कम दिनुका साथै अहिले बिक्री नै ठप्प भएको बताउनुभयो । एक साताभित्र धानको मूल्य प्रतिमन रू तीन सयले घटेको उहाँको भनाइ छ ।

चैते धानमा चिस्यान बढी हुने भएकाले कृषकले भण्डार गरेर राख्ने अवस्था नरहेको कृषक बताउँछन् । मूल्य कम पाए पनि बेच्नै पर्ने बाध्यता रहेको कृषकहरुको गुनासो छ । विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन बृद्धि भएको छ ।

“किसानले धान उत्पादन गरे पनि उचित मूल्य नपाउँदा कि त धान कुहिएर जाने अवस्था छ, कि त जतिमा भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ”, कृषक मिश्रले गुनासो गर्नुभयो, “नबेच्दा पनि उपाय छैन, अहिले किसानलाई निकै घाटा हुने अवस्था छ ।”

नेपालमा बर्सेनि धान आयात भइरहेको अवस्थामा कृषकले उत्पादन गरेको धानले मूल्य नपाउनु र कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको कृषक मिश्र बताउनुहुन्छ ।

केही समय अघि ३२ सय रुपैयाँमा प्रतिक्वीन्टल बिक्री भइरहेको धान हाल २४ सयमा पनि नबिकेको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।

“अहिले यहाँका किसानले झण्डै दुई सय टन धान उत्पादन गरेका छन्”, उहाँले भन्नुभयो, “धान बिकेन भनेर किसानको गुनासो धेरै आइरहेको छ ।” धान बिक्रीको वातावरण बनाउन संघीय कृषिमन्त्रीलाई खबर गरेको उहाँले बताउनुभयो । “मैले सहजीकरण गरिरहेको छु”, उहाँले भन्नुभयो, “गाउँपालिकाले पनि काँचो धान किनेर राख्ने अवस्था छैन ।”

तस्वीरहरु : नवीन उप्रेती

The post धान नबिकेपछि झापाको धान सुपरजोनका कृषक चिन्तित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register