बेलायतका कान्छा प्रधानमन्त्रीको अपत्यारिलो उदय, अप्रत्यासित बहिर्गमन

लन्डन । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि कन्जरभेटिभ नेता निवर्तमान प्रधानमन्त्री ऋषि सुनकले भोलिपल्ट टेन डाउनिङ स्ट्रिट छाडे । बेलायती जनताले मतदानमार्फत कन्जरभेटिभ सरकारको १४ वर्षको शासन अन्त्य गरिदिएपछि सुनक जसरी अपत्यारिलो रुपमा प्रधानमन्त्री बने, बहिर्गमन पनि अप्रत्यासित नै रह्यो ।  डेली मेल अनलाइन संस्करणले लेखेको छ, ‘बेलायतको ५७औँ प्रधानमन्त्री बन्ने क्रममा सुनकले […]

Jul 10, 2024 - 14:14
 0
बेलायतका कान्छा प्रधानमन्त्रीको अपत्यारिलो उदय, अप्रत्यासित बहिर्गमन

ॠषि सुनक । तस्विर- लरेन हर्ले

लन्डन । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि कन्जरभेटिभ नेता निवर्तमान प्रधानमन्त्री ऋषि सुनकले भोलिपल्ट टेन डाउनिङ स्ट्रिट छाडे ।

बेलायती जनताले मतदानमार्फत कन्जरभेटिभ सरकारको १४ वर्षको शासन अन्त्य गरिदिएपछि सुनक जसरी अपत्यारिलो रुपमा प्रधानमन्त्री बने, बहिर्गमन पनि अप्रत्यासित नै रह्यो । 

डेली मेल अनलाइन संस्करणले लेखेको छ, ‘बेलायतको ५७औँ प्रधानमन्त्री बन्ने क्रममा सुनकले आफू चुनौतीबाट कत्ति ‘आतंकित’ नभएको भन्दै टेन डाउनिङ स्ट्रिट प्रवेश गरेका थिए । तर, ६ महिना बांकी छंदै आम निर्वाचन घोषणा गरेर उनले जुन जुवा खेले, निर्वाचन परिणामले सुनक फेरि फाइनान्स करिअरका लागि अमेरिका फर्कने त होइनन् भन्ने अड्कलबाजी गरिंदैछ ।’ 

सुनक लेबरलाई सत्ता सुम्पेर बहिर्गमन हुंदा ब्रिटेन विभाजन, राजनीतिक अस्थिरता र आर्थिक संकटको चेपुवामा छ । 

सुनकले विश्वको छैटौं ठूलो अर्थतन्त्र भएको बेलायत नियन्त्रण गर्ने जिम्मा मध्य–वामपन्थी लेबर पार्टीका नेता किअर स्टार्मरलाई सुम्पेका छन्।

सुनकले कार्यालय छाड्नुअघि शुक्रबार टेन डाउनिङ स्ट्रिटबाहिर सम्बोधन गर्दै भने ‘देशलाई म सबैभन्दा पहिले भन्न चाहन्छु, मलाई माफ गर्नुहोस्। मैले तपाईं (जनता) को क्रोध र निराशा सुनेको छु । म यस निर्वाचनमा भएको सबै क्षतिको जिम्मेवारी लिन्छु ।’

उनले आफ्नो उत्तराधिकारी छान्ने औपचारिक व्यवस्था भइसकेपछि पार्टी नेताबाट पनि राजीनामा दिने घोषणा गरेका छन् । नेपाल जस्तो एकपटक पदमा पुगिसकेपछि कहिल्यै नहट्ने परिपाटी विपरित उनी पराजयसंगै दलको नेता त्याग्ने तयारीमा छन् । 

संसदीय निर्वाचनमा लेबर पार्टीले ४१२ सिटसहित भारी वहुमत प्राप्त गरेर नयां सरकार गठन गरिसकेको छ भने कन्जरभेटिभले १२१ सिटमात्र जितेर  पार्टी इतिहासमै सबैभन्दा नराम्रो पराजय भोग्यो । उसले ५ वर्ष अघिको तुलनामा २५१ सिट गुमाएको हो ।

सुनकले विपक्षी पार्टीका रुपमा असहमति जे भए पनि नवनियुक्त प्रधानमन्त्री स्टार्मरलाई एउटा शिष्ट, उत्साही सेवक भन्दै सम्मान गरे ।

नयां प्रधानमन्त्री स्टार्मरले पनि बेलायतमा एसियालीमूलको पहिलो प्रधानमन्त्रीका रुपमा सुनकले हासिल गरेको उपलब्धि र देशको सेवामा पुरयाएको योगदानको प्रशंसा गरेका थिए ।

कन्जरभेटिभ नेताहले पहिले आफ्नो पार्टीलाई मतदान गर्ने ठूलो संख्याका मतदाताले देश सुधारका लागि मतदान गरेको स्वीकार्दै कन्जरभेटिभले अब फेरि समर्थन जित्न गम्भीर भएर सोच्नुपर्ने बताएका छन् । 

४२ वर्षको उमेरमा टेन डाउनिङ पुगेका थिए कान्छा प्रधानमन्त्री सुनक । करिब १४ वर्ष विजनेश करिअरपछि राजनीतिक करिअर शुरु गरि सांसद भएको ७ वर्षमै जम्मा ४२ वर्षको उमेरमा उनी डाउनिङ स्ट्रिट छिरेका थिए । 

भारतीयमूलको पहिलो प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रिट प्रवेश गर्दा उनले विश्वकै ध्यान खिचे । आधुनिक समयमा नम्बर टेनमा छिर्ने उनी सबैभन्दा कान्छो ब्रिटिश–भारतीय पनि हुन्।  

बोरिस जोन्सनपछि लिज ट्रसको उत्तराधिकारीका रुपमा २५ अक्टोबर २०२२ मा सुनक प्रधानमन्त्री बनेका थिए । उनी यसअघि १३ फेब्रुअरी २०२० देखि ५ जुलाई २०२२ सम्म अर्थमन्त्री नियुक्त भएका थिए ।

पहिलो पुस्ताका आप्रवासीका छोरा सुनकलाई महंगो वीन्चेस्टर कलेजमा पढाउन उनको परिवारले कडा मेहनत गरेका थिए ।

हाल ४४ वर्षीय सुनकका आमाबाबु पूर्वी अफ्रिकाबाट बेलायत आएका थिए र उनीहरु दुवै भारतीय मूलका हुन्।

सुनक सन् १९८० मा बेलायतको साउथह्याम्पटनमा जन्मिएका थिए । उनले वीन्चेष्टर कलेज, अक्सफोर्ड युनिभर्सिटी र स्ट्यानफोर्ड युनिभर्सिटीबाट शिक्षा लिएका हुन् । उनका बुबा जनरल प्राक्टिस (जिपी) डाक्टर थिए भने आमाले आफ्नै फार्मेसी चलाएकी थिइन् । सुनककी श्रीमति अक्षतामूर्ती धनाढ्य बाबुआमाकी उद्यमी छोरी हुन् । 

सुनकले अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीमा पढ्दा अक्षता मूर्ति (श्रीमति) लाई भेटेका थिए । उनी भारतीय टेक कम्पनी इन्फोसिसका अर्बपति संस्थापककी छोरी हुन्। सन्डे टाइम्सको २०२४ को धनी सूची अनुसार, उनको सम्पत्ति अनुमानित ६५१ मिलियन पाउण्ड छ । उनीहरु बेलायती राजा चाल्र्स तृतीय भन्दा पनि धनी रहेको बताइन्छ । उनीहरुका दुई छोरी छन् । 

रिचमण्ड योर्कसायर उनको संसदीय निर्वाचन क्षेत्र हो । अहिले सो क्षेत्र रिचमन्ड एण्ड नर्थआलेटनमा परिवर्तन भएको छ, जहांबाट सुनक यसपटक पनि विजयी भएका छन् ।

उनले अमेरिकाको क्यालिफोर्नियामा पनि समय बिताए । राजनीतिमा प्रवेश गर्नु अघि उनले लगानी बैंक गोल्डम्यान स्याक्स र दुईवटा मल्टिबिलियन डलर हेज फण्ड्समा काम गरेका थिए । 

उनले बोरिस जोनसनको राजीनामापछि नेतृत्वको लडाईंमा लिज ट्रससंग पराजय भोगे । तर, पूर्ववर्ती लिज ट्रसको प्रधानमन्त्री कार्यकाल पनि उथलपुथलबीच ४५ दिनमात्र टिक्यो । अक्टोबर २०२२ मा आफ्ना चान्सलर (अर्थमन्त्री) को मिनी बजेटमा ठूलो मात्रामा कर कटौती गर्ने र ऋण लिने जस्तो आर्थिक अस्थिरता निम्त्याउने घोषणापछि हंगामा भएर उनले राजीनामा दिएकी थिइन्। 

लिज ट्रसको राजीनामापछि सुनक असाधारण परिस्थितिमा प्रधानमन्त्री बनेका थिए । ८ वर्षमा पांचौं कन्जरभेटिभ प्रधानमन्त्री भएका थिए उनी । 

ट्रसले बोरिस जोनसनको राजीनामा पछि पार्टी नेतृत्वको लडाईंमा सुनकलाई हराएकी थिइन् । बोरिस मुख्यतया कोभिड १९ महामारी ह्यान्डल गर्ने सवालमा निकै विवादित बने । आफ्नो पार्टीभित्र गहिरो ध्रुवीकरण गर्ने नेता मानिएका उनी जुन २०२२ मा अविश्वासको मतबाट जोगिए तर आफ्नो क्याबिनेटबाट सामूहिक राजीनामा आउन थालेपछि जुलाईमा राजीनामा दिन वाध्य भएका थिए । 

सुनककै निर्वाचन क्षेत्रमा विगत १२ वर्षदेखि काउन्सिलर रहेका डा. जगन्नाथ शर्माको भनाइमा आर्थिक रुपमा देशलाई बलियो बनाएर इनोभेसन, आइडियामार्फत मात्र जनताले रोजगारी पाउंछन् भन्ने विश्वास सुनकमा थियो । 

शर्माले सुनकलाई सन् २०१५ मा सांसद उम्मेदवार छनोट प्रक्रियाबाट नै राम्ररी चिन्ने बताए । ‘उहां निकै नम्र र अरुलाई आदर
गर्ने स्वभावको हुनुहुन्छ । उहां बहुसंस्कृतिमा जोड दिनुहुन्थ्यो’, सुनकको चुनावी अभियानमा समेत सामेल शर्माले भने, ‘सुनक साउथ र नर्थ इंग्ल्याण्डलाई स्तरिकरण गरे जनताले हरेक सेवा सुविधामा पहुंच पाउंछन् भन्नु हुन्थ्यो । फ्रि पोर्ट र हिमालयन डेल्स् मल्टिकल्चरल हल बनाउन उहां क्रियाशील रहनुभयो ।’

बेलायती परराष्ट्रमन्त्रीको एक सल्लाहकार भएर काम गरिसकेका लिड्स विश्वविद्यालयमा अन्तरर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी सुनकले चाहे राजनीतिक आस्था होस् वा धार्मिक आस्था, आफ्ना मूल्य र मान्यतामा कुनै सम्झौता नगरी शीर ठाडो गरि निष्कलंक राजनीति गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउंछन् । ‘आफ्नो युवा शक्ति र विचारको परिपक्वतालाई तालमेल गर्न सक्ने र मुलुकको दूरकालीन हितमा सोच्न र काम गर्न सक्ने व्यक्तिको रूपमा उनले आफ्नो छवी बनाए’, सुवेदी भन्छन् ।

कन्जरभेटिभ पराजयको प्रमुख कारण 

गत वर्ष जनवरी २०२३ मा सुनकले बेलायती जनतालाई प्राथमिकताका साथ पांचवटा वाचा गरेका थिए । मुद्रास्फीति घटाउने, अर्थतन्त्र वृद्धि गर्ने, कर्जा कम गर्ने, एनएचएसमा प्रतिक्षा समय घटाउने र गैर कानूनी रुपमा आप्रवासी छिर्ने डुंगा रोक्ने । तर, उनका वाचामध्ये मुद्रास्फीति मात्र लक्ष्य अनुरुप झरेको थियो । 

कतिपय विश्लेषकहरुले सुनकले मुद्रास्फीति घटेका बेला मतदाताको समर्थन बटुल्न ६ महिना अगावै आमनिर्वाचन घोषणा गरेको बताएका थिए ।

कन्जरभेटिभ पराजयको प्रमुख कारण उक्त दलमा बारम्बार नेता परिवर्तन हुनु र दलभित्रको अस्थिर राजनीति, निर्वाचन र त्यसपछि गरेका वाचा एवं आफ्ना नीति कार्यान्वयन गर्न नसक्नु तथा देखिने गरि जनताको स्तर, देशको अवस्था र अर्थतन्त्रमा अपेक्षित परिवर्तन गर्न नसक्नु रहेको लेबर पार्टीबाट सांसद उम्मेदवार भइसकेका डा. बच्चु कैलाश कैनीको बुझाइ छ ।  

सन् २०१९ को आम निर्वाचनपछि उक्त दलमा तीन पटक नेता फेरिए । जनता संधै स्थिर राजनीति र सरकारको पक्षमा हुन्छन्।

कुल आप्रवासी संख्या हजारको संख्यामा मात्रै सिमित राख्ने भनिएकोमा डिसेम्बर २०२३ मा नेट माइग्रेसन वा कुल आप्रवासी संख्या ६ लाख ८५ हजार पुगेको थियो। आप्रवासी नीति घटाउने उनको नीति पूर्ण असफल भयो । 

त्यस्तै, नेशनल हेल्थ सर्भिस (एनएचएस) मा पनि नीतिमा लेखे अनुसार प्रगति हुन सकेन । अर्थतन्त्र, दैनिक जनजिवीकाको सवालमा पनि टोरी चुक्यो ।

वेटर पनि बने, गुलियोको दुर्व्यसनी

अल्कोहल कहिल्यै नपिउने सुनक गुलियो भने एकदम मन पराउने दि टेलिग्राफ अखबारले लेखेको छ । जब कठिन समय हुन्छ, अरु रक्सी पिउंछन् तर सुनक गुलियो पदार्थ खोज्छन् । उनका समकालिनहरु उनी बारम्बार केकको टुक्राका साथ डाउनिङ स्ट्रिट वरिपरि देखिने गरेको बताउंछन् । 

एक भाइरल भिडियो क्लिपमा सुनकले एकपटक दुई स्कूलका सहपाठीलाई आफू कोकको दुर्व्यसनी भएको घोषणा नै गरेका देखिन्थ्यो । सुनक क्रिकेटको फ्यान पनि हुन् ।

ए लेभल सकेर लिंकन कलेज, अक्सफोर्डमा स्थान पाइसकेपछि उनले करी हाउसमा वेटरको रूपमा बिताए । त्यतिखेर उनी १८ वर्षका थिए । 

सुनकले भनेका छन्- ‘उनका बुबाले उनलाई साउथह्याम्प्टन डक्स् नजिकैको कुटीज् ब्रासेरीमा काम गर्न जोड गरेका थिए किनभने उनी आफ्नो छोरालाई कडा परिश्रमको मूल्य सिकाउन चाहन्थे ।’

सुनक तुरुन्तै रेष्टुरेन्टको वातावरणमा पनि घुलमिल भए । जागिरको शुरुवातमा टेबल क्लिनरबाट शुरु गरेर उनी जागिर छाड्ने बेला पूर्ण रूपमा अनुभवी वेटर भइसकेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register