सियो नबन्ने देशमा धागो उद्योगको तरक्की, ४ हजारलाई जागिर दिएको ‘रिलायन्स स्पिनिङ मिल्स’ आईपीओमार्फत् जनतामाझ जोडिँदै

देशकै ठूलो निर्यातकर्ता र रोजगारीदाता रहेको रिलायन्स स्पिनिङ मिल्स आईपीओमार्फत् सर्वसाधारणमा जान लागेसँगै चर्चा र आलोचना बढेको छ । तर, आईपीओ निष्कासन हुने पूर्वसन्ध्यामा स्थगन भयो । केही दिनपछि आइपीओ जारी हुने र जनतामा जोडिने अवसर प्राप्त हुनेमा रिलायन्स आशावादी छ ।

Jul 10, 2024 - 15:40
 0
सियो नबन्ने देशमा धागो उद्योगको तरक्की,  ४ हजारलाई जागिर दिएको ‘रिलायन्स स्पिनिङ मिल्स’ आईपीओमार्फत् जनतामाझ जोडिँदै

विराटनगर । ‘नेपालमा सियो पनि बन्दैन’ भन्नेहरू सुनसरीस्थित धागो कारखानामा पुग्दा जिब्रो टोक्न बाध्य हुन्छन् । जब देखिन्छ, बिगौँ बिगाहा जमिनमा फैलिएको ठूलो उद्योग र ठुलो क्षेत्रफल ओगटेको दर्जनौँ भव्य संरचना ।’ त्यो देख्दा नेपालमा ‘सियो पनि बन्दैन’ भन्ने भाष्य जो कोहीलाई गलन लाग्न सक्छ ।

उद्योगको संरचनाभित्र विभिन्न युनिट नाम दिइएका अत्याधुनिक मेसिन छन् । मेसिनमा बनिरहेका हुन्छन्, विभिन्न किसिमका धागो । वरिपरि बसेर मेसिन अपरेटिङ गरिरहेका देखिन्छन्, मजदुर तथा कर्मचारी ।

उद्योगमा आठवटा युनिट छन् । विभिन्न फराकिला भवनभित्र धागो उत्पादन गर्ने २०५४ सालको पहिलो मेसिन युनिटदेखि अहिले अत्याधुनिक जापानी प्रविधिको मेसिन युनिटसम्म देख्न सकिन्छ ।

२०५४ सालमा स्थापना भएको पहिलो मेसिनलाई युनिट १ को नामबाट राखिएको छ । अहिलेको अत्याधुनिक प्रविधियुक्त जापानी प्रविधिमा आधारित धागो उत्पादन गर्ने मेसिनलाई ८ औँ युनिटको रूपमा राखिएको छ । जहाँ धमाधम उत्पादनको काम भइरहेको हुन्छ ।

ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन भइरहेको देखिन्छ ।

०००

माथि वर्णन गरिएको दृश्य हो, सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारस्थित रिलाइन्स स्पिङ्स मिलको । ३२ बिघा जमिनमा फैलिएको सो उद्योग मुलुकको ठुलो व्यापारिक घराना गोल्यान समूहको हो ।

जहाँ झन्डै ३० वर्षदेखि धागो उत्पादन हुँदै आएको छ तर चुपचाप । न कतै विज्ञापन देखिन्छ, न त होर्डिङ बोर्ड नै । किनकि त्यहाँ उत्पादन हुने धागोको ८५ प्रतिशत बजार हिस्सा विदेशी बजार हो । नेपालबाट विदेश निर्यात हुने बस्तुको चार प्रतिशत बढी बजार हिस्सा रिलायन्सको धागोले ओगटेको छ ।

विदेशबाट कच्चा पदार्थ ल्याउने, प्रशोधन तथा उत्पादनन गर्ने र सामान विदेश निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने काम रिलायन्सले गरिरहेको छ ।

उत्पादन भारतदेखि युरोपसम्म

मुलुक पछिल्लो समय व्यापार घाटाको चपेटामा छ । दिनानुदिन आयात बढ्दा निर्यात भने एकदमै कम देखिएको छ । कृषिप्रधान मुलुक कृषि उपजमै परनिर्भर बन्नुपरेको अवस्था छ ।

यो अवस्थामा रिलायन्स स्पिनिङ मिल्सबाट उत्पादित बस्तु निर्यातमा चार प्रतिशतभन्दा बढी योगदान गरिरहेको कम्पनीको दाबी छ । एउटै व्यावसायिक घरानाबाट यति ठूलो परिमाणमा निर्यात गर्ने सम्भवतः नेपालमै यही उद्योग नै हो ।

रिलायन्स स्पिनिङ मिल्स उद्योग अहिले देशकै सबैभन्दा ठूलो रोजगारदाता उद्योग मात्रै बनेको छैन, भारत तथा तेस्रो मुलुकमा आफ्ना उत्पादन पठाउने अग्रणी निर्यातकर्ताका रूपमा पनि स्थापित भएको छ ।

रिलायन्स उद्योग स्थापना हुनुअघि नेपालमा रहेका केही धागोको आन्तरिक माग पूर्ति गर्न सक्दैनथ्यो । छिमेकी र शक्तिशाली मुलुकहरू भारत र चीनबाट धागो आयात गरेर माग धान्नु पर्ने अवस्था थियो । जब गोल्यान समुहले रिलायन्समार्फत् २०५३ सालमा धागो उद्योगबाट उत्पादन थाल्यो ।

तब भारत र चीनबाट भइरहेको आयात प्रतिस्थापन मात्रै भएन, उल्टो भारतलाई नै धागो निर्यात गर्न थाल्यो । त्यसयता टर्कीलगायत युरोपमा समेत धागो निर्यात भइरहेको छ ।

अहिले उद्योगको १५ प्रतिशत स्वदेशी बजारमा खपत हुन्छ । ५० प्रतिशत बढी उत्पादन टर्की यमन, भियतनाम, जापान, कोरियालगायतका मुलुकमा जान्छ । ३५ प्रतिशत उत्पादन भारतमा जान्छ ।

भारतमा २० वटा बिक्री एजेन्ट छन् । अब मलेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई), बेलायत, इटालीमा ७ वटा बिक्री एजेन्टसँग सम्झौता भइसकेको छ ।

उत्पादनको करिब ३० प्रतिशत स्वदेशमै खपत हुने छ । किरण सुज म्यानुफ्याक्चर्स, प्रगति टेक्सटायल इन्डस्ट्रिज, नेपाली सेना बहुव्यवसाय उद्योग, निप्पो इन्डस्ट्रिज, एभरेस्ट टेक्सटायल लगायतले धागो खपत गर्ने गरेका उद्योगका प्रबन्धक महेशकुमार पोखरेल बताउँछन् ।

करिब २ अर्ब हाराहारी लगानीबाट थालनी

करिब २ अर्ब हाराहारी लगानीबाट थालनी गरिएको यो उद्योगको अहिले साढे १५ अर्ब बढी लगानी पुगिसकेको छ  । उद्योगले भारत, चीन, थाइल्यान्ड र इन्डोनेसिया लगायतका देशबाट कच्चा पदार्थ आयात गरिरहेको छ ।

पछिल्लो समय रिलायन्समा दसवटा जापानी प्रविधिका मेसिन थपेर उत्पादन बढाइएको छ । त्योसँगै रोजगारी बढेर ४ हजार पुगेको छ । जसमा महिलाको संख्या १ हजार ५ सय बढी छ ।

भारतीय श्रमिक खासै छैनन् । केही प्राविधिक तथा इन्जिनियरहरू मात्र भारतका छन् । आउँदो वर्ष मेसिन थप्ने योजना कम्पनीको छ । निकट भविष्यमा उद्योग सुनसरीको इनरुवा क्षेत्रमा पनि विस्तार गर्ने योजना सञ्चालकको छ । नयाँ उद्योगका लागि २५ बिघा जमिन खरिद भइसकेको छ ।

पछिल्ला दुई वर्षयता कोरोना महामारीले रिलायन्सको व्यवसायमा ठुलो दक्खल पुर्‍यायो । व्यवसाय पनि सुस्त भयो । बस्तु उत्पादन कम भयो । निर्यात कम हुने नै भयो । स्वाभाविक रुपमा नाफा पनि घट्यो । अहिले असहज परिस्थिति सामना गर्दै उत्पादन बढाउन कम्पनी सफल भइसकेको छ ।

अब चाँडै कम्पनीले दुईवटा नयाँ प्लान्ट सञ्चालन गर्ने योजना रहेको र उत्पादित सामग्रीको निर्यात अझ बढाउने लक्ष्य रहेको उद्योगका प्रबन्धक महेशकुमार पोखरेल बताउँछन् ।

उनी भन्छन्, ‘‘कम्पनी अहिले लयमा आइसकेको छ । अहिले उद्योगले ६ वटा इकाइबाट दैनिक सयदेखि डेढ सय मेट्रिक टनभन्दा बढी धागो उत्पादन गर्दै आएको छ । वार्षिक रूपमा ७ अर्बभन्दा बढीको धागो भारत तथा तेस्रो देश निर्यात भइरहेको छ । अब चाँडै दुईवटा नयाँ प्लान्ट सञ्चालन गर्ने योजना छ, निर्यात पनि बढ्नेछ । कम्पनीको नाफा पनि बढ्ने छ ।’’

आइपीओमार्फत् जनतामाझ जोडिँदै रिलाइन्स

३० वर्षको विरासत बोकेको देशकै ठूलो निर्यातकर्ता र रोजगारीदाता रहेको रिलायन्स स्पिनिङ मिल्स आईपीओमार्फत् सर्वसाधारणमा जान लागेको छ ।

यससँगै चर्चा र आलोचना दुवै बढेको छ । रिलायन्सले बिहीबार (असार २७ गते) आईपीओ निष्कासन गर्ने तयारी गरे पनि पूर्वसन्ध्यामा स्थगन भएको छ ।

कम्पनीले बुक बिल्डिङमार्फत प्रिमियम मूल्य (प्रतिकित्ता ८२०.८० रुपैयाँ) मा आईपीओ ल्याउन लागेको थियो । सर्वसाधारणबाट १ अर्ब ५८ करोड रुपैयाँ उठाइन लागिएको थियो ।

योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ६० हजार ६ सय ४० कित्ता र सर्वसाधारण (उद्योग प्रभावित, कर्मचारी समेतलाई) ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर जारी गर्ने भनिएको थियो ।

कम्पनी आईपीओमार्फत् सर्वसाधारणमा जाने कुरालाई वित्तीय कोणबाट र पृष्ठभूमिगत कोणबाट चर्चा भइरहँदा तत्कालको लागि आईपीओ स्थगन भएको हो ।

अहिले स्थगन भए पनि केही समयपछि आईपीओ खुल्ने कम्पनीको दाबी छ । कोरोना महामारीले पछिल्लो वर्षमा कम्पनीको घट्दो नाफा रहेको थियो ।

यही पृष्ठभूमिमा रिलायन्सको आइपीओ जारी हुनु अघिल्लो दिन स्थगन भएको छ । केही दिनपछि आइपीओ जारी हुने र जनतामा जोडिने अवसर प्राप्त हुनेमा कम्पनी आशावादी छ ।

कम्पनीले आईपीओको पैसा के मा लगाउँछ ?

कम्पनीले निष्कासन गर्ने आईपीओको रकमबाट आव २०८२\८३ भित्र उद्योगको प्रस्तावित परियोजना (युनिट सी) को क्षमता विस्तार गर्ने लक्ष्य लिएको छ । उक्त नयाँ परियोजनाका लागि कम्पनीले जग्गा खरिद प्रक्रिया सकेको जनाएको छ ।

उद्योगको उत्पादन क्षमता हाल प्रतिदिन १ सय ३६ टन रहेको छ । यसलाई बढाएर १ सय ८२ टन पुर्‍याउने योजना कम्पनीको छ । एसिया, युरोप तथा अफ्रिकी देशमा बजार सम्भावना पहिचान गर्ने र बेच्ने योजना छ ।

२०५१ चैतमा जग हालेको उद्योगले इटहरीको खनारमा जमिन खरिद गरी २०५३ माघबाट उत्पादन सुरु गरेको थियो । अस्थिर राजनीति, चर्को लोडसेडिङजस्ता यावत् समस्याका पहाड नाघ्दै रिलायन्स यहाँसम्म आइपुगेको हो । समस्यालाई पन्छाउँदै रिलायन्स निरन्तर अघि बढिरहेको छ ।

यो उद्योग स्थापना ३० वर्षअघि भए पनि स्थापनाको लागि व्यापारिक घराना गोल्यान समूहले पचास वर्षभन्दा बढीको इतिहास बोकेको छ । सोहनलाल गोल्यानले जग उठाएको यो समूहलाई उनका छोरा पवनले आकार दिएर बलियो बनाए ।

रिलायन्सको अध्यक्ष पवनकुमार गोल्यान हुन् भने अक्षय गोल्यान र शशिकान्त अग्रवाल सञ्चालक हुन् । कम्पनीका अनुसार सर्वसाधारणमा धितोपत्र बाँडफाँटपछि ती सेयरधनी समेतको उपस्थितिमा सम्पन्न हुने साधारण सभामार्फत थप सञ्चालक चयन हुनेछन् । जसमा सर्वसाधारण सेयरधनीका तर्फबाट समेत प्रतिनिधित्व हुनेछ । सञ्चालकहरूको कार्यकाल चार वर्षको हुन्छ ।

उद्योगभित्रका केही फोटोहरू

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register