समाजमा घटिरहेका स-साना समस्या समाधान गर्नु पनि रिसर्च हो : संजोग क्षेत्री सापकोटा (भिडिओसहित)

काठमाडौं। विद्यार्थीको बौद्धिक क्षमताको विकासको लागि रिसर्च निकै नै महत्त्वपूर्ण पक्ष मानिन्छ । यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक सीपको विकास गर्ने वातावरण सृजना गर्छ। शैक्षिक विकासका लागि यसलाई महत्त्वपूर्ण मानिए पनि स्नातक अध्ययनरत विद्यार्थीलाई रिसर्चमा पूर्ण रूपमा सहभागी गराउन नसकेको देखिन्छ । पाठ्यक्रममा यसलाई अनिवार्य गर्ने प्रावधान राखे पनि त्यसको कार्यान्वयन आफैँमा […]

Jul 10, 2024 - 16:48
 0
समाजमा घटिरहेका स-साना समस्या समाधान गर्नु पनि रिसर्च हो : संजोग क्षेत्री सापकोटा (भिडिओसहित)

काठमाडौं। विद्यार्थीको बौद्धिक क्षमताको विकासको लागि रिसर्च निकै नै महत्त्वपूर्ण पक्ष मानिन्छ । यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक सीपको विकास गर्ने वातावरण सृजना गर्छ।

शैक्षिक विकासका लागि यसलाई महत्त्वपूर्ण मानिए पनि स्नातक अध्ययनरत विद्यार्थीलाई रिसर्चमा पूर्ण रूपमा सहभागी गराउन नसकेको देखिन्छ । पाठ्यक्रममा यसलाई अनिवार्य गर्ने प्रावधान राखे पनि त्यसको कार्यान्वयन आफैँमा बहसको विषय हो।

यसैक्रम रिसर्चको विषयमा थप जानकारी हासिल गर्न, नेपालमा रिर्सचको अवस्थाबारे बुझ्न हामीले नेपालभ्युजको नियमित प्रस्तुति ‘भ्युजटक’ मा सन् २०२२ मा भारतका शारदा यूनिभर्सिटीका सिभिल इन्जिनियर संकायका गोल्डमेडलिस्ट, नेशनल लेभल ह्याकाथोनका विजेता, रिसर्चर, टेक्नोफाइल, अन्टर्पेन्यर, कन्टेट राईटर, अन्तर्राष्ट्रिय जर्नलहरूमा ५० भन्दा बढी रिसर्च पेपर पब्लिश गरिसकेका, भारतमा २० इनोभेसन पेटेन्ट भएका, जीआइएस र मोडलिङमा काम गर्नुको साथै सिभिल इन्फ्रास्टकचरको दिगोपनमा पनि काम गरेका सिभिल इन्जिनियर संजोग क्षेत्री सापकोटासँग कुराकानी गरेका छौँ, प्रस्तुत छ ।

सामान्य भाषामा रिसर्चलाई कसरी बुझ्न सकिन्छ?
रिसर्च भन्नेबित्तिकै हामीले एउटा खोज हो भनेर बुझ्न सकियो। मैले केही गरिरहेको छु भने त्यसबाट नयाँ कुरा के पत्ता लगाउन सक्छु, कसरी समाजमा योगदान पुर्‍याउन सकिन्छ भन्ने एउटा प्रक्रिया हो । ‘रि’ र ‘सर्च’ को सङ्गम हो रिसर्च । सर्च भनेको खोज्नु भयो । नजानेको कुरालाई पनि खोज्ने वा नजानेको कुरालाई पुनः खोज्नु नै रिसर्च भनेर बुझ्न सकिन्छ।

रिसर्च र इनोभेसनबीचको फरक के हो त?
इनोभेसन गर्नको लागि रिसर्च गर्न आवश्यक छ । जस्तै बाटोको समस्यालाई नै लिएर हेरौँ। बाटो बनाउँदा कुन वस्तु कति मात्रामा प्रयोग गर्ने भनेर अध्ययन गर्नु रिसर्च भयो । तर, सामान्य तरिकाले भएपनि त्यो बाटोलाई कम मूल्यमा, नेपालमा उत्पादन हुने पदार्थ नै प्रयोग गरेर बाटो निर्माण गर्दा त्यो इनोभेसन भयो ।

जुलाइ ४ मा भएको ‘नेपलिज इन रिसर्च क्याम्पेन’ आयोजना भएको थियो, तपाईं क्याम्पेन निर्देशक पनि हुनुहुन्थ्यो, क्याम्पेन कस्तो भयो त ?
भारतमा पढेर आएपश्चात् रिर्सचमा केही योगदान गरौँ भन्ने सोच थियो । भारतमा विभिन्न प्रकारको टेक्निक ‘प्रविधि’हरूमा पहिले पनि काम गरिरहेको थिएँ । नेपालमा पहिले पढ्दैगर्दा यस्तो फरकपन महसुस गर्न पाएको थिइनँ । रिसर्च गर्नुपर्छ भन्ने पनि थाहा थिएन । इन्जिनियरिङले पनि रिसर्च गर्नुपर्छ र भन्ने हुन्थ्यो । इन्जिनियरिङले त फिल्डका कुराहरू मात्र जानुपर्छ भन्ने थियो । तर, मैले के पाएँ भने रिसर्च बलियो भने इन्जिनियरिङ आफैँ बलियो हुन्छ ।

त्यही भएर नेपाल आएपछि नेपालीहरूलाई पनि यसमा संलग्न गराउनुपर्छ भनेर थ्रीको अवधारणमध्ये पहिलो ई अर्थात् इन्करेजिङ राखेँ । तर, प्रोत्साहन गरेर मात्र भएन एक्जुकेट पनि गर्नुपर्‍यो । रिसर्च किन आवश्यक छ, त्यसबारे थप ज्ञान हासिल गर्न आवश्यक छ । त्यसपछि आवश्यक हुने इम्पावरिङ गर्ने पाटो हुन्छ । तर, २/४ जना भाइहरूले मात्र जानेर भएन, यसको ज्ञानलाई विश्वविद्यालयस्तरमा नै यसलाई लान सके थप समस्याको समाधान गर्न सकिन्छ भन्ने सोचका साथ यो क्याम्पेन आयोजन गर्‍यौँ ।

यो कम्पेनबाट कस्तो प्रतिक्रिया सफल भयो ?
रिसर्च भनेको अन्डरग्रयाजुएटका लागि नभई मास्टर्स, पीएचडीले गर्ने मात्र हो भन्ने अवधारणा छ । तर, इन्जिनियरिङको फाउन्डेशन त स्तानक स्तरबाट नै बस्ने हो । त्यही भएर त्यो स्तरमा नै रिसर्चको बारेमा बुझे भने माथिल्लो स्तरको अध्ययनमा ब्रेकथ्रु रिसर्चको साथ आउन सक्नेछन् । यो क्याम्पेनले आयोजना गर्दा विद्यार्थीको अवस्था के छ, रिसर्चको आवश्यकता बुझाउनको साथै, स्नातक तहबाट नै कसरी रिसर्चमा संलग्न गराउन सकिन्छ भनेर बुझ्ने पायौँ । हामीले के पायौँ भने धेरै भाइहरू इच्छुक छन् तर, त्यसबारे केही पनि थाहा छैन । कतिले त आफ्नो शिक्षकबाट आफूहरूलाई प्रेरित नगरेको बताए । रिसर्चमा इच्छुक भएका २ भाइहरूलाई आफूले गरिरहेको प्रोजेक्टमा पनि संलग्न गराउन सफल भयौँ ।

कसरी विद्यार्थी स्नातकबाट नै रिसर्च सुरु गर्न सक्छन् त ?
अब ४ वर्षमा हामीले ५० भन्दा बढी विषय पढिएको हुन्छ । कति सान्दर्भिक हुन्छन् भने कति असान्दर्भिक हुन्छन् । त्यही भएर विद्यार्थीले पहिले आफ्नो लगाव केमा छ, थाहा पाउनुपर्छ । किनभने लगाव नभएको विषयमा रिसर्च गर्न सकिन्न । रिसर्चमा धीरता चाहिन्छ। अब आज सुरु गर्‍यो, भोलि नै भइहाल्छ भन्ने हुँदैन नि त । रिसर्चमा निरन्तर एकाग्रता हुनुपर्ने हुन्छ । विद्यार्थी हतोत्साहित नहोऊन् भनेर आफूलाई मन पर्ने विषय छान्नु आवश्यक हुन्छ ।

जस्तै अब तपाईंलाई स्ट्रकचरमा लगाव छ अनि भूकम्प प्रतिरोधात्मक क्षमता भएको भवन बनाउन मन छ भने त्यसको लागि के-के गर्न सकिन्छ त भनेर एउटा खाका बानउनुपर्‍यो । ९०/९५ प्रतिशत विद्यार्थीमा यही कमी छ । धेरैले एक्स्ट्रअर्डिनरी भएमा रिसर्च हुन्छ सोच्छन् । तर, त्यस्तो होइन । सानो कुरामा पनि भएको समस्यालाई सामाधन गर्न पनि रिसर्च गर्न सकिन्छ । कतै छापिनु मात्र रिसर्च होइन, समाजमा घटिरहेका साना समस्यालाई समाधान गर्नु पनि रिसर्च हो ।
त्यही भएर पहिले आफूलाई मन परेको विषय छान्ने, त्यसमा काम गरेर शिक्षकहरूसँग परामर्श लिन सकिन्छ । आफ्नो विषयबारे आफू प्रष्ट भएपछि बल्ल अर्को चरणको सहयोगका लागि शिक्षकसँग परामर्श लिँदा उपयागी हुन्छ ।

हालै सम्पन्न भएको क्याम्पेनले विद्यार्थीहरूलाई यो ज्ञान दिन सफल भएको जस्तो लाग्छ ?
यही क्याम्पेनमार्फत धेरै विद्यार्थीसँग भेट्ने अवसर जुर्‍यो । कति विद्यार्थीको विदेश जानलाई मात्र रिसर्च गर्नुपर्छ भन्ने धारणा रहेको रहेछ । नेपालमा बस्नेलाई रिसर्च गर्न काम नै छैन भन्ने सोचाइ हुँदोरहेछ । जस्तैः यो वर्षाको बेला ढलको समस्या व्यापक हुने गर्दछ । यदि जीआईएसको प्रयोग गरेर यस्तो समस्या ट्रयाक गर्न सकियो भने समस्या समाधानको लागि त सहजता हुन्छ । त्यो पनि त एक प्रकारको रिसर्च हो । तर, रिसर्च भनेको विदेश जानलाई मात्र गर्ने हो भन्ने सोचाइ पनि पाँए । त्यही भएर विभिन्न प्रोफेसरहरूसँग पनि रिसर्चलाई पनि समावेश गरेर अगाडि बढौँ भन्ने कुरा पनि भएको थियो । सबै कुरा एकैचोटी त हुँदैन तर, हामीले विस्तारै लेभलअप गर्दैछौँ ।

स्नातक पढ्दै गरेका विद्यार्थीलाई आफ्नो पाठयक्रम पूरा गर्न धपेडी हुने अवस्थामा रिसर्च गर्न समय निकाल्न कस्तो सुझाव दिनु हुन्छ त ?
अब अहिले विद्यालयस्तरमा हेर्ने हो भने पनि कुनै पनि विद्यार्थीले कुनै पनि एउटा रिसर्च गर्नुपर्ने जस्तो प्रावधान आएको छ । तर, अब कतिको कार्यान्वयन गरियो भन्ने कुरा पनि हुन्छ । रिसर्च भनेको एकजनामात्रले गरिन्छ भन्ने सुनिन्छ । तर, त्यस्तो हुँदैन । ४/५ जनाको एउटा समूह बनाउनुस् । एउटै विषय रुचाउने विद्यार्थीको समूह तयार भइसकेपछि कार्यविभाजन गरिन्छ । विभिन्न संकायका विद्यार्थीलाई संलग्न गराउन सकियो । समस्या यो हो । यसलाई यसरी समाधान गर्न सकिन्छ भनेर अगाडि बढ्न सकिन्छ । विभिन्न कलेजबीच एउटा समन्वय गर्नुपर्ने हुन्छ । जुन एकदम्मै थोरै देखिएको छ । जसमा शिक्षकले पनि भूमिका खेलेमा सन्तुलित तरिकाले अगाडि बढ्न सकिन्छ जस्तो लाग्छ ।

नेपालमा एकेडेमिक रिसर्चको अवस्था नै कम भएको हो ?
पक्कै पनि हो । किनभने नेपालमा समाधान गर्न थुप्रै समस्या छ । विदेशको तुलनामा नेपालमा रिसर्च समस्या त धेरै छ । कति विद्यार्थीले त कलेजले हामीलाई केही पनि दिँदैन, हामीले किन गर्ने भन्ने पनि भन्छन् । कति रिसर्चको लागि फन्डिङ पनि आवश्यक हुँदैन । डेटा विश्लेषणले पनि धेरै सहयोग हुन्छ रिसर्चमा । जस्तै ढलको समस्या समाधान गर्न विदेशमा कस्तो कस्तो विधि अपनाइएको छ, त्यसलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भनेर पनि त प्रयोग गर्न सकिन्छ । यसको लागि त कलेजको फन्ड कुर्नु नपर्ला । तर, कुनै रिसर्चको लागि ल्याबबिना गर्नै सकिन्न । जसको लागि भने फन्ड अनिवार्य नै हुन्छ । त्यसकारण पनि रुचिको भयो भने रिसर्च गर्नबाट पछि हट्नुपर्दैन ।

विद्यार्थीको संलग्नतामा देखिने समस्यालाई कसरी समाधान गर्न सकिन्छ ?
विभिन्न विद्यार्थीको विभिन्न रुचि हुन्छ । पुलचोक क्याम्पस र थापथली क्याम्पसलाई उदाहरण लिएर हेरौँ । पुलचोकमा पानीको स्रोतमा रुचि भएको होला, थापाथलीमा भएका केही विद्यार्थीलाई एआईमा रुचि होला वा जीआईएसमा रुचि भएको विद्यार्थी अन्य कुनै कलेजमा होला । एउटा रिसर्च गर्न यदि यो ३ क्षेत्रमा रुचि भएकाहरूको समूह आवश्यक हुन्छ भने यो सबै विद्यार्थीलाई जोडिदिने एउटा निकायको पनि त आवश्यकता पर्छ । जसको अभाव देखिन्छ । अत्यधिक कलेजले पनि आफ्नै विद्यार्थी मात्र प्रयोग गरैर रिसर्च गर्छौँ भन्नु अर्को एउटा समस्या पनि हो ।

इन्टरडिसिप्लिनरी भनेको जस्तै कलेज डिसिप्लिनरी पनि हुनुपर्‍यो । दुईवटा कलेजलाई पनि हामीले जोड्न सक्नुपर्‍यो । यस्तो बेला, हामीले आयोजना गरेको क्याम्पेनले एउटा मध्यस्तकर्ताको भूमिका खेल्न सक्छ, किनभने यसले सबै कलेजका विश्वविद्यालयका विद्यार्थीलाई एकठाँउमा ल्याउने प्रयास गर्छ । नेटवर्कीङ बन्छ । समूह बन्छ । अनि समस्याको समाधानको लागि पहल हुन्छ ।

फन्डिङको कुरा गर्दा सबै कलेजसँग आफ्नो छुट्टै रिसर्च सेल नभएकोले पनि समस्या आएको हो कि ?
यो पनि हो । त्यही भएर पनि अहिले नास्ट, यूजिसीजस्तो संस्थाले प्रोपोजल आह्वान गरिरहेका छन् । यदि प्रोपजल ठीक लाग्यो भने त्यसलाई फन्डिङ गर्ने जस्तो कार्यक्रम ल्याएका छन् । यसको सुरुवात भइसक्यो तर, यसले पकड जमाइसकेको भने छैन । यसको लागि कलेजले पनि राम्रो प्रोजेक्टतर्फ ध्यान केन्द्रित गर्न नसकेको हो कि । कति शैक्षिक संस्थाले त अहिले प्रोजेक्ट गर्दै गर्नु, पछि कलेजले दिन्छजस्तो पनि अवस्थाहरू आएको देखिन्छ । कलेजले रिसर्चबाट आफ्नो प्रतिष्ठा बढाउन सकिन्छ भनेर बुझ्नुपर्‍यो । रिसर्चलाई कलेजले अझै पनि प्रवर्द्धनको हिसाबले सोचिसकेका छैनन् ।

भारतबाट नेपाल फर्किएपछि नेपालमा रिसर्चको अवस्था कस्तो देख्नुभयो ?
तुलानात्मक रूपमा भारतमा रिसर्चमा थर्डपार्टी जस्तै कर्पोरेट हाउसहरूले पनि रिसर्चको लागि आफूसँग यति बजेट भएको भनेर प्रस्ताव लिएर आउने गरेको पाइन्छ । जबकि नेपालमा शिक्षककहरूले आफ्नो पाठ्यक्रमलाई बढी मान्यता दिँदा रिसर्चमा सहयोग गर्न खोजे पनि पूर्ण रूपमा संलग्न हुन नसकेको जस्तो देखिन्छ ।

२०७२ सालको भूकम्पपछि नेपालमा रिसर्चको लागि केहि काम भयो होला भने सोचेको थिएँ । तर, नेपाली प्रोफेसरहरू विदेशी प्रोफेसरसँग काम गरे पनि विद्यार्थीको संलग्नता भने न्यून पाएँ । मैले विद्यार्थीहरूको समूह बनाएर पनि केहीलाई प्रस्ताव गरेँ । प्रशंसा भयो तर, पहल भने भएन । विभिन्न कारणले प्रस्ताव प्रस्तावै मात्र सीमित रहे ।

यसकारण मैले आफ्नै पहलमा सानो समूह बनाएर समाधान गर्न सकिने सम्भावनाको पनि अध्ययन गर्न सुरु गरेँ । अमेरिकामा समस्या यसरी समाधान गरियो भनेर त्यस प्रक्रियालाई नेपालमा लागू गर्न खोज्दा विफल हुनसक्छ । किनभने नेपालको समस्यालाई यहाँको नै शैलीमा समाधान गर्नुपर्ने हुन्छ। १९६० को प्रक्रियालाई प्रयोग गर्नुभन्दा बरु अहिले एआई सबैको लागि नै नयाँ हो, बरु त्यसको प्रयोगले समस्या समाधान गर्न सकिएला भनेर विभिन्न तरिकाहरूको खोजी गर्ने अवस्थामा छौँ ।

रिसर्च गर्ने र रिसर्च आर्टिकलबीचको फरकलाई विद्यार्थीले कसरी बुझ्ने ?
एकजना भाइले मलाई भनेको थियो, दाइ बाहिर जानको लागि रिसर्च पेपर हेर्छ रे । उसले मलाई रिसर्च हेर्छ भनेन कि रिसर्च पेपरको कुरा गर्‍यो । अनि मैले भने यदि तिमीले राम्रो रिसर्च गर्छौ भने रिसर्च पेपर आवश्यक पर्दैन । रिसर्च पेपर भनेको केवल त्यसको बाइप्रडक्ट मात्र हो । मैले काठमाडौंको एउटा समस्याको समाधान गर्छु भने त्यसलाई विश्वमा चिनाउनको लागि देखाउने, बुझाउने माध्यम भनेको रिसर्च पेपर हो । रिसर्च पेपर भनेको भविष्यमा यसले थप रिसर्च गर्न सक्छ भनेर देखाउने एउटा विश्वास जस्तो हो । रिसर्च पेपरबिना पनि पेटेन्टहरू लिन सकिन्छ ।

विज्ञान रिसर्चमा पनि अन्य क्षेत्रको विद्यार्थीहरूको संलग्नता गराएर अघि बढ्न सक्ने सम्भावना कति छ त ?
यसको सम्भावना धेरै छ । राष्ट्रको विकासका लागि भौतिक विज्ञानमा मात्र केन्द्रित भएर रिसर्च गर्नु मात्र पनि आवश्यक हुँदैन । अर्थतन्त्रबारे अध्ययन गर्ने रिसर्चरको पनि आवश्यकता पर्दछ । जस्तै अबको पाँच वर्षमा कति जनाले बैंक अकाउन्ट खोज्छन् त भनेर पनि व्यवस्थापनको एकजना भाइ आउनुभएको थियो । क्राइम साइकोलोजीको कस्तो असर, फेसबूकको इमोजीले पार्ने भावनात्मक असरको पनि रिसर्च गर्न सकिन्छ । चुनावको बेला मान्छेको सेन्टिमेन्टको कस्तो हुन्छ भनेर पनि रिसर्च हुन्छ । जसले उम्मेदवारहरूले जितको लागि पनि प्रयोग गर्छन् । जुन पनि एउटा इन्टरडिस्प्लिनरी रिसर्च बन्न सक्छ । यस्तौ रिसर्चमा भने धैरै विधामा विद्यार्थीलाई संलग्न गर्न सकिन्छ ।

रिसर्चरलाई थप प्रभावकारी रूपमा अघि बढाउन के गर्नुपर्ला ?
एउटा रिसर्च विङको स्थापान गर्नु आवश्यक छ । यसलाई सरकारी निकायबाट स्थापना गर्न आवश्यक छ । त्यसलाई राजनैतिक रूपले परिचालन गर्न आवश्यक छैन । इनोभेसनलाई छुट्टै स्थान दिनुपर्छ, राजनीतिसँग जोडेर मात्र आवश्यक हुँदैन । त्यसरी जाँदा रिसर्चर विङ उत्कृष्ट हुन्छ ।

रिसर्चको सम्भावना हुँदाहुँदै पनि विभिन्न क्षमतावान् विद्यार्थीहरू विदेसिँदै छन्, उनीहरूलाई  के भन्न चाहनुहुन्छ?
यसमा मेरो २ तरिकाको धारणा छ । एउटा छ, म विदेश गएर सिक्छु, त्यसपछि नेपाल फर्केर अरु केही राम्रो गर्छु भन्ने जमात छ । अर्को भनेको मैले यहाँ केही पनि देखिनँ, म यहाँ बसेर केही पनि हुँदैन । म बाहिरको कम्पनीमा नै काम गर्छु । त्यतै रमाउँछु ।

जस्तै अब म पीएचडी विद्यावारिधि गर्न खोजेको विषय नेपालमा नै छैन । अब त्यसको सेटअपको मूल्य नै ६/७ करोड पर्छ । त्यो नेपालमा बनाउन सम्भव पनि त भएन । अब बाहिरको विश्वविद्यालयमा त्यो छ । अब मलाई विदेश नजानुको विकल्प नै भएन । गएर, अध्ययन गरेर, फर्केर त्यही हिसाबको सानो शुलभ मूल्यमा वर्किङ मोडलमा संलग्न भएर काम गर्न सक्छु ।

त्यसरी नै त्यस्तो स्कोप देखे मात्र विद्यार्थी फर्कने छन् । अब अहिले कति अवस्थामा नमूनाहरू टेस्ट गर्न बाहिर पठाउनुपर्ने हुन्छ । कति फर्किएर आएका पनि छन् तर, अहिले पीएचडी गर्न जाने अत्यधिक मानिसहरू फर्केर आउँदैनन् । यस्तो मानिसहरूबाट ‘ब्रेन ड्रेन’ भइरहेको छ । यस्तो किन भइरहेको छ भने सरकारको नीति तथा कार्यक्रम राम्रो छैन । क्षमता भएपनि सीमित तलबमा बस्नु बाध्य हुन्छन् । आवश्यक ठाँउमा कम लगानी छ भने अनावश्यक स्थानमा अत्यधिक लगानी देखिएको छ । यसलाई उल्टाउनुपर्ने हुन्छ। नेपालमा अवसर सृजना गर्न सकेमा अत्याधिक बौद्धिक क्षमता भएकालाई बचाउन सक्नेछौँ ।

नेपालमा भएका युवा रिसर्चरको जमातलाई नेपाललाई बचाउन के गर्दा ठीक होला त ?
पाठ्यक्रममा नै रिर्सचलाई संलग्न गरेर, विभिन्न सरोकारवालाहरूलाई लगानीको लागि बाटो बनाएर स्नातक तहबाट नै रिसर्चले पार्न सक्ने प्रभावलाई बुझाउन सक्यो, लोकसेवामा प्रवेश गरेर गर्न सक्ने योगदान बुझाउन सकेमा युवा जमातको रिसर्चरलाई बचाउन सकिने छ ।

रिर्सचमा संग्लन हुन चाहने सम्पूर्ण विद्यार्थीलाई के भन्न चाहनुहुन्छ?
तपाईंको इच्छा भएपनि सबै पक्षको ज्ञान तपाईंसँग नहुन सक्छ । त्यसकारण एउटै रुचि भएको समूह बनाउँदा अघि बढ्न सहज हुन्छ । कार्यविभाजन भएर काम गरेमा एउटा एकीकृत नतिजा स्वतः देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register