दिल्ली विधानसभा चुनाव : पाँच अर्बपति मैदानमा, यी हुन् धनी र गरिब उम्मेदवार

काठमाडौं । दिल्लीमा अर्को महिना हुन लागेको विधानसभा चुनावका लागि उम्मेदवारले आफ्नो सम्पत्तिको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । आयोगलाई दिएको शपथपत्र अनुसार यस चुनावमा भाजपाबाट तीन, काङ्ग्रेसबाट एक र आम आदमी पार्टी (आप)बाट एक जना अर्बपति उम्मेदवार मैदानमा छन् । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर)का अनुसार यस निर्वाचनमा ५ करोडभन्दा बढी सम्पत्ति भएका १२५ […]

Jan 30, 2025 - 06:25
 0
दिल्ली विधानसभा चुनाव : पाँच अर्बपति मैदानमा, यी हुन् धनी र गरिब उम्मेदवार

काठमाडौं । दिल्लीमा अर्को महिना हुन लागेको विधानसभा चुनावका लागि उम्मेदवारले आफ्नो सम्पत्तिको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

आयोगलाई दिएको शपथपत्र अनुसार यस चुनावमा भाजपाबाट तीन, काङ्ग्रेसबाट एक र आम आदमी पार्टी (आप)बाट एक जना अर्बपति उम्मेदवार मैदानमा छन् ।

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर)का अनुसार यस निर्वाचनमा ५ करोडभन्दा बढी सम्पत्ति भएका १२५ जना उम्मेदवार छन् ।

आउनुहोस्, दिल्ली विधानसभा चुनावका पाँच धनी र गरिब उम्मेदवारहरूको बारेमा जानौँ ।

कर्नैल सिंह (भाजपा)

दिल्ली विधानसभा चुनावमा कर्नेल सिंह सबैभन्दा धनी उम्मेदवार हुन् । निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले करिब २६० करोड रुपैयाँको सम्पत्ति विवरण दिएका छन् ।

यससँग ९२ लाख ३६ हजार ९० रुपैयाँको चल सम्पत्ति छ भने करिब २५९ करोड रुपैयाँको अचल सम्पत्ति छ । शकुरबस्तीका उम्मेदवार कर्नैलसँग ७२ हजार रुपैयाँ नगद रहेको छ ।

कर्नेल आम आदमी पार्टीका सत्येन्द्र जैन र काङ्ग्रेसका सत्येन्द्र कुमार लुथरासँग प्रतिस्पर्धा गर्दैछन् । सत्येन्द्र जैन आम आदमी पार्टीको सरकारमा स्वास्थ्यमन्त्री पनि थिए ।

सिंहसँग अमेरिकी बैङ्कमा ५ लाख १४ हजार ६०० रुपैयाँ, ६० ग्राम सुन, १० लाख रुपैयाँको हिराको घडी र २ लाख रुपैयाँको औँठी पनि रहेको छ ।

अचल सम्पत्तिमा क्यालिफोर्नियामा तीनवटा बङ्गला, फार्महाउस र हरियाणाका विभिन्न ठाउँमा घरहरू छन् ।

मनजिन्दर सिंह सिरसा (भाजपा)

दिल्ली विधानसभा चुनावमा मनजिन्दर सिंह सिरसा दोस्रो धनी उम्मेदवार हुन् । निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले कुल २ सय ४९ करोड रुपैयाँको सम्पत्ति विवरण दिएका छन् ।

चल सम्पत्ति ७४ करोड ५ लाख ५२ हजार ४४४ रुपैयाँ रहेको छ । जबकि अचल सम्पत्ति करिब १७५ करोड रुपैयाँको छ । राजौरी गार्डेनबाट भाजपाको टिकटमा चुनाव लडिरहेका सिरसासँग तीन लाख ६९ हजार १२३ रुपैयाँ नगद छ ।

विलासी गाडीको शौकीन सिरसासँग ६ वटा गाडी छन् । सिरसासँग ५५० ग्राम सुन र ९८ लाख ५० हजारको हीरा छ ।

उनकी श्रीमतीसँग २ किलो ६५५ ग्राम सुन र हिरा छ । यसको मूल्य २ करोड २८ लाख ५० हजार रुपैयाँ रहेको छ । उनीसँग तीन लाख ७० हजार रुपैयाँ बराबरको हतियार छ ।

गुरचरण सिंह राजु

दिल्ली विधानसभा चुनावमा काङ्ग्रेसका एक मात्र उम्मेदवार गुरचरण सिंह राजु र दिल्लीबाट तेस्रो अर्बपति उम्मेदवार हुन् ।

निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले १३० करोडभन्दा बढीको कुल सम्पत्तिको विवरण दिएका छन् ।

उनीसँग ५२ करोड ९० लाख ५२ हजार रुपैयाँको चल र ७८ करोड रुपैयाँको अचल सम्पत्ति रहेको छ । उनी काङ्ग्रेसको टिकटमा कृष्णनगर विधानसभा क्षेत्रबाट चुनाव लड्दै छन् ।

गुरचरण सिंह राजुसँग एक लाख नगद र चार किलो ५०० ग्राम सुन रहेको छ । उनकी श्रीमतीसँग ६ किलो सुन छ ।

प्रवेश सिंह वर्मा (भाजपा)

प्रवेश वर्मा नयाँ दिल्लीबाट चुनाव लडिरहेका छन् । उनी पूर्व मुख्यमन्त्री साहिब सिंह वर्माका छोरा हुन् । उनीहरुको अगाडि आम आदमी पार्टीबाट पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र काङ्ग्रेसबाट पूर्व मुख्यमन्त्री शीला दीक्षितका छोरा सन्दीप दीक्षित चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले कुल ११५ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति विवरण दिएका छन् ।

जसमा ९६ करोड ५२ लाख ८३ हजार १८० रुपैयाँको चल सम्पत्ति र १९ करोड ११ लाख रुपैयाँको अचल सम्पत्ति समावेश छ ।

दिल्ली विधानसभा चुनावमा चौथो अर्बपति उम्मेदवारका श्रीमती, छोरा र दुई छोरी पनि करोडपति छन् । प्रवेशसँग दुई वटा कार र २०० ग्राम सुन छ ।

उनकी श्रीमतीसँग १ हजार ११ सय ग्राम, छोरीसँग ३ सय–३ सय ग्राम र छोरासँग १५० ग्राम सुन छ ।

धनवती चण्डेला (आप)

राजौरी गार्डेनबाट धनवती चण्डेला एक मात्र महिला अर्बपति उम्मेदवार हुन् । उनीसँग ६ लाख ८९ हजार ६८० रुपैयाँ नगद, दुईवटा लग्जरी गाडी, ४ किलो १०० ग्राम सुन र ४ केजी चाँदी छ ।

यसबाहेक उनीसँग ४ करोड ३० लाखको जग्गा पनि छ । श्रीमान् दयानन्द चन्देलाको सम्पत्तिसहित कुल पारिवारिक सम्पत्तिको कुरा गर्दा उनीसँग ९ करोड ७६ ​​लाख ५ हजार ५२२ रुपैयाँको चल सम्पत्ति र १ अर्ब १४ लाख रुपैयाँको अचल सम्पत्ति छ ।

निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनको मुख्य आम्दानीको स्रोत खेती, घरजग्गाको भाडा, ब्याज र विधायकको तलब रहेको उल्लेख छ ।

निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले कुल १०९ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति विवरण दिएका छन् ।

आम आदमी पार्टीकी उम्मेदवार ६५ वर्षीया धनवती चण्डेलाले उत्तर प्रदेशको देवरिया जिल्लाको एक विद्यालयबाट कक्षा १० सम्मको शिक्षा हासिल गरेकी छिन् ।

सबैभन्दा कम आय उम्मेदवार

योगेश (स्वतन्त्र)

मटियाला विधानसभा क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका योगेश एक रुपैयाँ नगद पनि नभएका उम्मेदवार हुन् ।

निर्वाचन आयोगलाई दिएको शपथपत्रअनुसार उनको नाममा चल–अचल सम्पत्ति केही छैन । तर, उनले आफ्नो आम्दानीको स्रोत व्यवसाय नै बताए ।

योगेशको सामाजिक सञ्जालमा कुनै खाता छैन । योगेश दश पास हुन् ।

मोहिन्दर सिंह-राष्ट्रिय रिपब्लिकन पार्टी

मटियालाबाट चुनाव लडिरहेका मोहिन्दर सिंह ल्याब टेक्निसियन हुन् । उनी राष्ट्रिय रिपब्लिकन पार्टीबाट विधानसभा चुनावमा उम्मेदवार हुन् ।

निर्वाचन आयोगलाई दिएको शपथपत्र अनुसार उनीसँग न एक रुपैयाँ नगद छ न चल–अचल सम्पत्ति । उनकी श्रीमती शिक्षिकाको काम गर्छिन् ।

अशोक कुमार (स्वतन्त्र)

अम्बेडकर नगरबाट स्वतन्त्र उम्मेदवार अशोक कुमारसँग कुल ११ सय १ रुपैयाँ छ । ५ सय रुपैयाँ नगद र बैङ्कमा ६०१ रुपैयाँ रहेको छ । श्रीमतीसँग ५ हजार ४ सय ८५ रुपैयाँ नगद र बैङ्क खाता छ ।

निर्वाचन आयोगलाई दिएको शपथपत्रअनुसार उनको कुल सम्पत्ति ६ हजार ५ सय ८६ रुपैयाँ रहेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनी अम्बेडकर नगरका पूर्व विधायक हुन् ।

शबाना (राष्ट्रीय रिपब्लिकन पार्टी)

शबाना सीलमपुरबाट चुनाव लड्दै छिन् । निर्वाचन आयोगलाई दिएको शपथ पत्र अनुसार राष्ट्रिय रिपब्लिकन पार्टीका यी उम्मेदवारसँग कुनै चल–अचल सम्पत्ति छैन ।

आयोगलाई दिएको शपथपत्रमा उनले १६ हजार ५ सय रुपैयाँ मात्र नगद देखाएको छ । शबाना आठ पास हुन् ।

अनिता (स्वतन्त्र)

अनिता नयाँ दिल्ली विधानसभा सीटबाट चुनाव लड्दै छिन् ।

स्वतन्त्र रूपमा चुनाव लडेकी अनितासँग ५ हजार रुपैयाँ नगद छ । उनको बैङ्क खातामा १५ सय रुपैयाँ छ । श्रीमानको तीन हजार रुपैयाँको चल सम्पत्ति छ ।

गरिब उम्मेदवारहरूमध्ये अनिता सबैभन्दा शिक्षित हुन् । एमबीए पढेपछि आफ्नै व्यवसाय गरिरहेकी छिन् । जबकि उनका श्रीमान् बेरोजगार छन् । – बीबीसी हिन्दीबाट

केजरीवाल : भ्रष्टाचार विरोधीबाट ‘सफ्ट हिन्दुत्व’को राजनीतिमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register