प्रवासमा साहित्य, संस्कृति र नेपाली मनहरूको सङ्गम स्थल–नेपाली साहित्य साँझ २०७९ सम्पन्न
समाचार : पर्वत रेग्मी (म्याडिसन, विस्कन्सिन, संयुक्त राज्य अमेरिका)
![प्रवासमा साहित्य, संस्कृति र नेपाली मनहरूको सङ्गम स्थल–नेपाली साहित्य साँझ २०७९ सम्पन्न](https://hamroglobalmedia.com/uploads/images/202303/image_750x_640f1e16c6e76.jpg)
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा १६औं वार्षिक नेपाली साहित्य साँझ कार्यक्रम सुसम्पन्न गरिएको छ । नेपाली अमेरिकी मैत्री सङ्घ (नाफा) ले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व अबिमन पसछेंले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि, तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष वसन्त श्रेष्ठ रहनु भएको थियो ।
उक्त कार्यक्रम मञ्चमा आसिन व्यक्तित्वहरूबाट संयुक्तरूपमा दीप प्रज्वलन गरी समुद्घाटन भएको थियो । सो सभालाई सम्बोधन गर्दै कार्यक्रमका सञ्चालक सन्तोष पौडेल तथा संयोजक पर्वत रेग्मीद्वारा स्वागत मन्तव्यका साथ कार्यक्रम शुरूवात भएको थियो । बालबालिकातर्फबाट ओजस्वी पसछें र सुहानी पाण्डेले कार्यक्रम सञ्चालन र बाल साहित्य संयोजन अर्चना धाख्वा तथा निकिता मिश्र पाण्डेयले गर्नुभएको थियो । “नाफा विजय मल्ल साहित्य पुरस्कार” प्रतियोगताका लागि पुरस्कार प्रायोजक विजय मल्लकी सुपुत्री वन्दना मल्ल श्रेष्ठ तथा कृष्णदास मल्लका स्मृतिमा स्थापित “नाफा बाल साहित्य पुरस्कार” का प्रायोजकका तर्फबाट सुपुत्री धन मल्ल श्रेष्ठले पुरस्कार स्थापनाको औचित्य र प्रयोजनबारे आफ्नो धारणा राख्नु भएको थियो ।
“विजय मल्ल साहित्य पुरस्कार” प्रतियोगितामा भाग लिनुहुने कवि तथा कवयित्रीहरूमा जीवन खड्का, सुश्मा श्रेष्ठ, भीम पुडासैनी, प्रमोद आचार्य, कल्पना रिजाल, बिकी गुरुङ, अप्सरा गिरी, अर्चना धाख्वा, लेखनाथ काफ्ले, सुजाता गौतम एवम् गणेश श्रेष्ठद्वारा कविता वाचन भएको थियो । बालबालिकातर्फबाट आन्या पाण्डेय, आर्जु पुडासैनी, आर्जन पुडासैनी, आभा भारती, आरोश सुबेदी, खुशी श्रेष्ठ, जुना रिजाल, निल पाण्डेय, प्रसङ्ग कटुवाल, प्रियासा गुरागाईं, पुरन बराल, यूभान थापा, समिका पौडेल, सान्भी पाण्डे, सुहानी पाण्डे तथा सुयोग ज्ञवालीद्वारा कविता वाचन भएको थियो ।
त्यसका साथसाथै अप्रतियोगी कवि तथा कवयित्रीहरूमा राजेन्द्र अर्याल, अबिमन पसछें, सीता अर्याल, मित्र पौडेल, गंगा मल्ल श्रेष्ठ, दिनार श्रेष्ठ, निकिता मिश्र पाण्डेय, हेमन्त श्रेष्ठ, बामदेब शर्मा एवम् प्रकास भट्टबाट कविता वाचन भएको थियो । “विजय मल्ल साहित्य पुरस्कार” का लागि प्रतियोगी मध्यबाट कवि लेखनाथ काफ्लेले प्रथम स्थान, कवि जीवन खड्काले दोश्रो स्थान र कवयित्री अप्सरा गिरी भारतीले तेश्रो स्थान हासिल गर्नु भयो । सहभागी प्रतियोगी सबैलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितात्मक कार्यक्रमामा निर्णायको भूमिकामा नेपालबाट सुलोचना मानन्धर धिताल, धीरेन्द्र प्रेमर्षि तथा विनोद अधिकारी रहनुभएको थियो भने आन्तरिक निर्णायककोरूपमा सीता अर्याल, मित्र पौडेल तथा गंगा मल्ल श्रेष्ठ रहनु भएको थियो । विजय मल्ल साहित्य पुरस्कार प्रतियोगीहरूका कविता वाचन पश्चात निर्णायक धीरेन्द्र प्रेमर्षिज्यूको प्रेरणात्मक सन्देश श्रवण पनि गरिएको थियो ।
उक्त समारोहबिच “अपराध–सुधार (अन्तर्राष्ट्रिय कवितासङ्ग्रह)” को पुस्तक विमोचन भयो । विमोचानमा एकबहादुर क्षत्रीबाट सङ्क्षिप्त मन्तव्य र सीता अर्याल, राजेन्द्र अर्याल, दिनार श्रेष्ठ, अबिमन पसछें, कृष्ण सिजापति एवम् राधा सिजापतिद्वारा पुस्तक लोकार्पण भयो । अन्तत कार्यक्रमका प्रमुख अतिथि वसन्त श्रेष्ठज्यूले सो कवितासङ्ग्रहको सङ्क्षिप्त समीक्षा गर्नुभयो ।
What's Your Reaction?
![like](https://hamroglobalmedia.com/assets/img/reactions/like.png)
![dislike](https://hamroglobalmedia.com/assets/img/reactions/dislike.png)
![love](https://hamroglobalmedia.com/assets/img/reactions/love.png)
![funny](https://hamroglobalmedia.com/assets/img/reactions/funny.png)
![angry](https://hamroglobalmedia.com/assets/img/reactions/angry.png)
![sad](https://hamroglobalmedia.com/assets/img/reactions/sad.png)
![wow](https://hamroglobalmedia.com/assets/img/reactions/wow.png)