कुमाल बस्तीका ६ घर–गोठ जलेर नष्ट, पीडित खुला आकाशमा रात काट्न बाध्य

तानसेन । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर र गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको ६ घर–गोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरू खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् । आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको […]

Mar 4, 2025 - 07:00
 0
कुमाल बस्तीका ६ घर–गोठ जलेर नष्ट, पीडित खुला आकाशमा रात काट्न बाध्य

तानसेन । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर र गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको ६ घर–गोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरू खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् ।

आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको घर जलेर नष्ट भएको रैनादेवी छहरा–३का वडाध्यक्ष प्रदीप पौडेलले बताए ।

आगलागीबाट घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्त्वपूर्ण काजजात जलेर नष्ट भएपछि आगलागी प्रभावित परिवार पीडामा थिए । खाद्यान्न र त्रिपालको पर्खाइमा रहेका यहाँका पीडितपरिवार गाउँपालिकाले राहत सामग्री वितरण गरेपछि भने खुसी भएका छन् ।

गाउँपालिकाले तत्कालका लागि एक–एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाललगायत राहत सामग्री दिएपछि पीडितको अनुहारमा खुसी छाएको हो । ‘आगलागीबाट हाम्रा सबै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र घरका अन्य सामान सबै जलेर नष्ट भए । हामीसँग खाने अन्न थिएन, ओत लाग्ने त्रिपाल पनि थिएन, दुई–चार दिन निकै दुःखले दिन बितायौँ, अहिले पालिकाले दिएको राहत सामग्रीले केही सहयोग मिलेको छ,’ पीडित पदमबहादुरले भने ।

गाउँपालिकाले घरमै पुगेर आवश्यक राहत सामग्री वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईसहितका जनप्रतिनिधि, कर्मचारीको टोलीले आगलागीपीडितको घरमा पुगेर राहत सामग्री वितरण गरे । अहिले तत्काल आवश्यक देखिएका सामानसहितको राहत प्रदान गरिएको उनले बताए । पछि प्रहरीको मुचुल्काअनुसार क्षतिका आधारमा पालिकाले घर निर्माणका लागि रकमसमेत उपलब्ध गराउने उनको भनाइ छ । आगलागीपीडित घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले पालिकासँगै अन्य पक्षबाट हुने सहयोगका लागि समन्वय गरिने अध्यक्ष भट्टराईले बताए ।

आगलागीपीडित परिवारका लागि गाउँपालिकासँगै अन्य सङ्घसंस्था तथा व्यक्तिले पनि सक्दो सहयोग गर्न थालेका छन् । पाल्पासहित देशका विभिन्न क्षेत्रमा केही सातायता आगलागी र वन डढेलोका घटना बाक्लै भइरहेका छन् । आगोले घरसँगै लत्ताकपडा, अन्नपात जलेपछि बिचल्ली बनेका परिवारको सङ्ख्या सयौँ छ । पछिल्लो समय आगलागी–डढेलोका कारण वायु प्रदूषण बढेर लाखौँ मानिस प्रभावित भइरहेका छन् ।

डढेलोले वन पैदावार र जीवजन्तुमा पुर्याएको क्षति बेहिसाब छ । यही सुक्खायाममा हुरीबतास पनि चलिरहेको छ र तत्काल ठूलो वर्षा हुने सम्भावना देखिएको छैन । आगो सल्किहाले तीव्रगतिमा फैलने जोखिम रहेकाले व्यापक सचेतना र सतर्कताको जरुरी देखिएको छ । कतै आगलागी–डढेलोका घटना भइहाले नियन्त्रण गर्न सम्बन्धित संयन्त्र तम्तयार राख्नुपर्ने खाँचो छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register