संविधान र व्यवस्थाको रक्षामा दृढता, कमजोरी सच्याउने प्रतिबद्धता

काठमाडौं । समाजवादी मोर्चाले सरकार र राजावादीलाई खबरदारी गर्दै आफ्ना र व्यवस्थाभित्रका कमजोरी सच्याउने प्रतिबद्धता गरेको छ । राजाधानीमा सभा गर्दै मोर्चामा आबद्ध दलका नेताहरूले सरकारलाई सच्चिन खबरदारी गरे भने राजवादीहरूलाई अराजक गतिविधिमार्फत व्यवस्थाविरुद्ध प्रहार नगर्न चेतावनी दिए । उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा र राजनीतिक दलभित्र देखापरेका विकृतिलाई सच्याउँदै व्यवस्थाको सुदृढीकरणमा अघि बढ्ने प्रतिबद्धता व्यक्त […]

Mar 28, 2025 - 11:42
 0
संविधान र व्यवस्थाको रक्षामा दृढता, कमजोरी सच्याउने प्रतिबद्धता

काठमाडौं । समाजवादी मोर्चाले सरकार र राजावादीलाई खबरदारी गर्दै आफ्ना र व्यवस्थाभित्रका कमजोरी सच्याउने प्रतिबद्धता गरेको छ ।

राजाधानीमा सभा गर्दै मोर्चामा आबद्ध दलका नेताहरूले सरकारलाई सच्चिन खबरदारी गरे भने राजवादीहरूलाई अराजक गतिविधिमार्फत व्यवस्थाविरुद्ध प्रहार नगर्न चेतावनी दिए । उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा र राजनीतिक दलभित्र देखापरेका विकृतिलाई सच्याउँदै व्यवस्थाको सुदृढीकरणमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजावादीलाई खबरदारी

सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले मुलुकमा आतङ्क सिर्जना गर्न खोजेको भन्दै त्यसलाई सफल हुन नदिने बताए । राजावादीहरूले मण्डले अराजकता प्रस्तुत गरेको भन्दै उनले व्यवस्थाविरूद्धका गतिविधिलाई सफल हुन नदिने उल्लेख गरे ।

“जनताको घरमा आगो लगाएर, प्रहरीलाई आक्रण गरेर मण्डले अराजकताको पराकाष्ठा राजवादीहरूले देखाएका छन् । उनीहरू आतङ्क सिर्जना गरेर व्यवस्थाविरोधी गतिविधि गरिरहेका छन् । रैतीबाट नागरिक भएका सार्वभौम जनतालाई रैती बनाउने दुस्साहस सफल हुन दिइनेछैन,” प्रचण्डले भने ।

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रले मुलुकलाई कहिल्यै पनि हित नगरेको भन्दै अहिले पनि नगर्ने बताए । पश्चगमनकारी र प्रतिगामी शक्तिहरूले राजसंस्था पुर्नस्थापनाका लागि आन्दोलन थालेपनि जनतालाई जागरूक गराउँदै उनीहरूको अभियान सफल हुन नदिने नेता नेपालको भनाइ छ । जनता सार्वभौम भएकाले अब फेर दास बन्न नसक्ने भन्दै उनले व्यवस्थाविरोधी गतिविधिमा नलाग्न राजवादीहरूलाई चेतावनी दिएका छन् । “राजतन्त्रले हिजो पनि मुलुकको हित गरेको छैन । आज पनि गर्ने छैन । प्रतिगामी शक्तिहरू होसियार अब मुलुक परिवारको शासनतिर फर्किन सक्दैन । स्वाधिन जनता कसैको दास बन्न चाहँदैनन् जनताको शासन ल्याउन खोज्नेले ठूलो मूल्य चुकाउनुपर्नेछ,” उनको चेतावनी छ ।

सभालाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवले पूर्व राजालाई संविधानको परिधिभित्रै बस्न सुझाएका छन्  । संविधानविपरीत र संविधानविरूद्ध अघि बढे राजावादी र पूर्व राजाले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधि जारी राखे उनीहरूकै लागि प्रत्युत्पादक हुने यादवको चुनौती छ । “संविधानले पूर्व राजालाई नागरिकका रूपमा राखेको छ । सुविधा दिएको छ । हामी चाहन्छौँ पूर्व राजा संविधानको परिधिभित्र बसुन् । संविधानको विरूद्धका अभियानलाई उक्साउने काम प्रत्युत्पादक हुनेछ,” उनको चेतावनी छ ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको भावनाविपरीतका गतिविधि नगर्न राजावादीलाई खबरदारी गरेका छन् । गणतन्त्रमा नेपाली जनताले गौरव गर्ने भन्दै जनताको भावना विपरीत अघि बढे राजवादीहरूले मूल्य चुकाउनुपर्ने उनको चुनौती छ । सभालाई सम्बोधन गर्दै उनले भने, “म राजवादीहरूलाई भन्न चाहन्छु, हामीलाई सामन्तको खाँचो छैन । नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्रमा गौरव गर्ने भएकाले फेरि सामन्तको शासन स्वीकार गर्नेछैनन्। जनताको भावनाविपरीत अघि बढे राजावादीहरूले त्यसको मुल्य चुकाउनेछन् ।”

मोर्चामा आबद्ध दलका नेताहरूले नागरिकका रूपमा पूर्व राजालाई चुनाव लड्ने अधिकार रहेकाले संवैधानिक बाटो अङ्गीकार गर्न पूर्वराजालाई सुझाएका छन् ।

सरकारलाई सच्चिन चेतावनी

समाजवादी मोर्चाको सभामा नेताहरूले सरकारलाई सच्चिनका निम्ति खबरदारी गरेका छन् । सरकारले नागरिकको असन्तुष्टिलाई उक्साउने काम गरिरहेको भन्दै संविधान कार्यान्वयन र सुशानमा गम्भीर बन्न सरकारलाई खबरदारी गरेका हुन् । सरकारले सच्चिने छाँट नदेखाए सरकारविरूद्ध नै कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

बैठकमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार लोकतान्त्रिक मुल्य र मान्यतालाई कुल्चिँदै कुशासनको बाटोमा अग्रसर भएको आरोप लगाए । सरकारकै कारण राजवादीहरूको गतिविधि बढेको उनको आरोप छ । सरकार उल्टो बाटोमा हिडिँरहेको भन्दै सच्चिनका लागि उनले खबरदारी गरेका छन्  । “सुशासनमा हिँड्नुपर्ने सरकार जनताको भरोसा र आशा बोकेको कर्मचारीलाई बर्खास्त गर्छ । यो विषयमा संसद्‌मा जवाफ माग्दा बाहिर बाहिर जवाफ दिँदै संसदमा नबोल्ने चुनौती प्रधानमन्त्रीले दिनुहुन्छ । यो हदको उल्टो दिशामा नहिँड्नुस् बेलैमा सच्चिनुस्,” उनले भने ।

सरकार नसच्चिने हो भने सरकारविरूद्धै आन्दोलन गर्ने चेतावनी उनले दिएका छन् । “हामीले संसद्‌मा जवाफ नदिए आन्दोलन गर्ने भनिसकेका छौँ । हामी आन्दोलनमा जानेछौँ । तपाइँहरू जनताप्रति जवाफदेही हुनुभएन र जनतातिर फर्किनुभएन भने अर्को आन्दोलनले तपाईंहरूलाई बडार्नेछ,” प्रचण्डको चेतावनी छ ।

एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालले पनि सरकारलाई सच्चिनका लागि खबरदारी गरेका छन् । सरकारले जनताको समस्यालाई वेवास्ता गर्दा र विचौलियाको पक्षपोषण गर्दा नागरिकमा असन्तुष्टि बढेको उनले बताए । उनले तत्कालै मति सच्याउन सरकारलाई सुझाएका छन् । “सत्तामा बस्नेहरू यथास्थितिमा रूमलिएका छन् । परिवर्तनको पक्षमा उनीहरू छैनन् । जनताको समस्याबारे उनीहरूलाई कुनै मतलब छैन । कमिसनतन्त्रमा व्यवस्त सरकारलाई जनताको बेदनाले पोलेको छैन । तत्काल मति सच्चियोस्, बुद्धि सच्चियोस्,” उनले भने ।

यस्तै, नेपाल समाजवादी पार्टीका नेता महिन्द्राराय यादवले सरकार नै संविधानलाई कमजोर बनाउन लागेको भन्दै तत्काल सुध्रिन ध्यानाकर्षण गराएका छन् । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रणाली संविधानको खम्भा रहेको भन्दै यादवले सरकार संविधानका खम्भलाई कमजोर बनाउन अग्रस भएको आरोप लगाए । “सरकारले संविधानका खम्भलाई कमजोर बनाउन खोजिरहेको छ । एउटा खम्भा भत्कियो भने संविधान भत्किनेछ । यो सरकारबाट संविधानको रक्षा हुने देखिँदैन । सरकारले संविधानका उपलब्धि जोगाउने विषयमा आफ्नो ध्यान केन्द्रित गरोस्,” उनले भने ।

आत्मसमीक्षासहित सुध्रिने प्रतिबद्धता

समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलका नेताहरूले आफूहरूबारे पनि आत्मसमीक्षा गर्दै कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान व्यवस्थाबाट नागरिकका असन्तुष्टि र आक्रोश सम्बोधन गर्न राजनीतिक दलहरू पनि असफल भएको आत्मसमीक्षा गरेका छन् । उनले राजनीतिक दलभित्रका कमजोरी र संविधानका कमजोरीलाई सुधार्दै  अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“म छातीमा हात राखेर गल्ती कमजोरीको समीक्षा गर्छु । हामीले नागरिकका असन्तुष्टि सम्बोधन गर्न नसकेकै हो । त्यसैले आफ्नो वर्ग र समुदायतिर र आफ्नो राजनीतिक विचारतर्फ माओवादी फर्किएको छ,” प्रचण्डले भने ।

विगतका गल्ती र कमजोरीबाट पाठ सिक्दै माओवादी केन्द्र ज नताको फर्किएको उनले बताए । संविधान र दलभित्रका कमजोरी सुधार गर्दै जनताका असन्तुष्टि सम्बोधन हुनेबाटोमा समाजवादी मोर्चा अग्रसर हुने उनले बताए । “गल्ती र कमजोरीबारे म आत्मालोचना गर्न चाहन्छु । संविधान संशोधन अधिकार खोस्न होइन अधिकार थप्न हुनुपर्नेछ । लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउन होइन सुदृढ बनाउन हुनुपर्ने छ । आर्थिक दृष्टीमा नयाँ खाका प्रस्तुत गरेर संविधान संशोधन हुनेछ । संविधानका कमजोरी र हामी आफैँभित्रका कमजोरी सुधार गर्दै जनताको हितका पक्षमा अघि बढ्न समाजवादी मोर्चा प्रतिबद्ध छौँ,” उनले भने ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले समाजवादी मोर्चाले आफ्ना कमजोरीको समीक्षा गर्दै जनताका निराशा चिर्ने राजनीतिमा केन्द्रित भएको बताए । संविधानले समाजवादी व्यवस्थाको परिकल्पना गरेकाले अब उक्त व्यवस्थामार्फत नागरिकका असन्तुष्टि सम्बोधन गर्ने खाका निर्माण गरिएको उनको भनाइ छ । “हामीले यो व्यवस्थामार्फत नागरिकका अपेक्षा पुरा गर्न नसकेको विषय स्वीकार गरेका छौँ । हाम्रा गल्ती कमजोरीलाई पनि सुधार्दै अब मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन हामी प्रतिवद्ध छौँ । नेपाली विशेषता सहितको समाजदबाट समृद्ध, न्यायोचित र समानतामुलक समाज हामी स्थापना गर्नेछौँ,” उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव चन्दले पनि राजनीतिक कमीकमजोरी सच्याउँदै समाजवादको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “हामीले नागरिकका असन्तुष्टि सम्बोधन गर्न नसकेकै हो । जनतासँग माफी माग्दै हामीले जनताका जीवन उकास्ने कार्यक्रम लिएर जानैपर्छ । यसका लागि संविधानले परिकल्पना गरेको समाजवाद नै उत्तम विकल्प हो,” उनले भन् ।

नेपाल समाजवादी पार्टीका नेता महिन्द्राराय यादवले जनअपेक्षा पूरा गर्न नसकेकोमा  जनता समक्ष माफी माग्दै समाजवादबारे बुझाउनुपर्ने उल्लेख गरे । “नेपाली जनतालाई सम्पन्नता र समृद्धिको यात्रामा अघि बढाउने भनेकै समाजवादी व्यवस्थाले हो । यो व्यवस्थाभित्र नागरिकका अपेक्षा पुरा गर्न नसकेकोमा हामीले माफी माग्नुपर्छ,” उनले भने ।

संविधान संशोधनमा नागरिकका अधिकार सुदृढ गरेर जनताको जीवनस्तर उकास्ने कार्यक्रम अघि सार्दे मुलुक र नागरिकलाई समृद्ध बनाउने प्रतिबद्धता नेताहरूले व्यक्त गरेका छन्  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register