पाँच हजार विद्यार्थीलाई ५० लाखको भान्छा

हेटौंडा । सरकारी नीतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ७ प्रदेशको ७ पालिकामा ‘मेगा किचेन’ सञ्चालन गर्ने योजनाअनुरूप हेटौंडाको एक सामुदायिक विद्यालयमा पनि ५ विद्यालय समेटेर ‘मेगा किचेन’ सञ्चालन गरिने भएको छ ।सात प्रदेशका स्थानीय तहमा एकएक भान्सा (मेगा किचेन) स्थापना गरिने तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा उल्लेख गर्नुभएको थियो । अर्थमन्त्री पुनले यस्तो […]

Jun 3, 2025 - 02:54
 0
पाँच हजार विद्यार्थीलाई ५० लाखको भान्छा

हेटौंडा ।

सरकारी नीतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ७ प्रदेशको ७ पालिकामा ‘मेगा किचेन’ सञ्चालन गर्ने योजनाअनुरूप हेटौंडाको एक सामुदायिक विद्यालयमा पनि ५ विद्यालय समेटेर ‘मेगा किचेन’ सञ्चालन गरिने भएको छ ।सात प्रदेशका स्थानीय तहमा एकएक भान्सा (मेगा किचेन) स्थापना गरिने तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा उल्लेख गर्नुभएको थियो । अर्थमन्त्री पुनले यस्तो कार्यक्रमले विद्यार्थी लाभान्वित हुने बताउनुभएको थियो ।

स्थानीय तहभित्रका सबै विद्यालयका विद्यार्थीलाई एकै ठाउँमा एउटै खाजा बनाएर खुवाउने तरिकालाई ‘मेगा किचन’ भनिएको छ । ‘मेगा किचेन’ भनेको स्थानीय तहभित्रका विद्यालयका विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने कार्यक्रम हो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले मेगा किचेन स्थापना र सञ्चालनसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको दरले बजेट तथा कार्यक्रम पठाएको छ ।

नेपाल सरकारबाट संघीय सशर्त कार्यक्रमअन्तर्गत स्थानीय तहको साझेदारीमा मेगा किचनको स्थापना र सञ्चालनका लगि ५० लाख छुट्याइएको हो ।नगर शिक्षा समिति हेटौंडाको चैत ११ को निर्णयानुसार हेटौंडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा मेगा किचनमार्फत दिवाखाजा व्यवस्थापन गर्ने र उक्त कार्यलाई व्यवस्थित गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा छिमेकी हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालय, हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालय र गोरक्षनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू सदस्य, बालबोधका प्रधानाध्यापक सदस्यसचिव तथा सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक आमन्त्रित सदस्य रहने गरी मेगा किचन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ ।

मेगा किचन स्थापना र सञ्चालनसम्बन्धी कार्यक्रम कार्यसञ्चालन निर्देशिकाबमोजिम कार्यसञ्चालनका लागि संघीय सरकारबाट नमुना किचन सञ्चालनका लागि प्राप्त ५० लाख बालबोधलाई अनुदान निकासा उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ । स्थानीय तह हेटौंडाले मेगा किचन कार्यक्रम सञ्चालन गर्ने स्थान, खाजा उपलब्ध गराउने विद्यार्थीको संख्या, खाजा बनाउने जनशक्ति तथा ढुवानी व्यवस्था, स्थानीय, स्वच्छ र पोषणयुक्त खाजा बनाउने विधिप्रक्रियाको प्रतिबद्धता गरेको थियो ।
मेगा किचेन स्थापना कार्यसञ्चालन संहिताअनुसार गर्न निर्देशन दिएको छ ।

स्थानीय तहको साझेदारीमा मेगा किचन स्थापना र सञ्चालन शीर्षकमा ५० लाख रकम छुट्याइएको छ । स्थानीय पालिकाको सबभन्दा बढी विद्यार्थी भएको क्षेत्र रहेका कारण उक्त विद्यालय चयन गरिएको हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो । मेगा किचन स्थापना र सञ्चालनका लागि करिब पाँच हजार विद्यार्थी हुनुपर्ने कार्यविधि भएको र उपमहानगरको उक्त क्षेत्रमा पाँच हजार २ सय विद्यार्थी भएका कारण उक्त स्थान छनौट गरिएको जानकारी उहाँले दिनुभयो ।

आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रममा विद्यालयका विद्यार्थीलाई पोषिलो, ताजा र गुणस्तरीय खाजा खुवाउन दिवाखाजा कार्यक्रम परिमार्जन गर्ने घोषणा गरिएको थियो । बजेटमा ७ वटै प्रदेशको एकएक वटा स्थानीय तहमा एकीकृत भान्साको अवधारणाअनुसार मेगा किचन कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्ने उल्लेख थियो ।मेगा किचनअन्र्तगत स्थानीय तहभरका बालबालिकालाई स्थानीय उत्पादनमा आधारित खाजा एकद्वार प्रणालीमा खुवाउने लक्ष्य राखिएको छ ।

कार्यविधिअनुसार स्थानीय तथा वा वडाभित्रका अगुवा विद्यालयमार्फत केन्द्रीकृत खाजा आपूर्तिको प्रबन्ध गर्नुपर्नेछ । हाल सरकारले कक्षा–५ सम्मका बालबालिकालाई दिवाखाजा खुवाउन विद्यालयमा दैनिक १५ रुपियाँका दरले रकम उपलब्ध गराउँदै आएको छ ।तर, सरकारले उपलब्ध गराएको दिवाखाजाको रकम अपुग भएपछि हेटौंडाका केही विद्यालयले आन्तरिक स्रोतबाट विद्यार्थीलाई खाजाको व्यवस्था गर्दै आएका छन् ।

केहीले अभिभावकबाट सहयोग लिएर दिवाखाजा व्यवस्थापन गर्दै आएका छन् ।गत आवमा सरकारले दिवाखाजाका लागि ८ अर्ब रुपियाँ विनियोजन गरेको थियो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले कक्षा–५ सम्मका ३० लाख विद्यार्थी लाभान्वित हुने गरी ८ अर्ब ३९ करोड रुपियाँ विनियोजन गरेको बताउनुभएको थियो ।

मेगा किचनका लागि ८९ करोड बजेट विनियोजन गरिएको थियो । कार्यविधि बनाउन नै १५ लाख बजेट विनियोजन गरिएको थियो । मेगा किचन कार्यान्वयनका लागि मापदण्ड बनाएर कार्यान्वयन गर्न १० लाख बजेट विनियोजन गरिएको थियो ।मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा पनि मेगा किचेन सञ्चालन हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register