सिनामंगल घटना: ६ वर्षे रियानले दिए दागबत्ती, छोराबुहारी गुमाएका हजुरबाको जल्यो मन !

६ वर्षे रियानको सानो हात समाउँदै हजुरबाले छोराबुहारीलाई दागबत्ती दिए । सपनाको महल ढाल्ने गरी छोरा बुहारीको मृत्युको घटना भोगेका सुनसरीका कच्छु माझीलाई जीवनभरको गर्वबाट शोकको महासागरमा पुर्‍याएको थियो । ‘ड्याडी मम्मी कहिले उठ्नुहुन्छ ?’ भन्ने नाती रियानको अबोध प्रश्नले सबैलाई स्तब्ध बनायो । सिनामंगलमा दम्पतीको रहस्यमय मृत्यु प्रकरणपछि देखिएको दृश्य ।

Nov 25, 2024 - 12:47
 0
सिनामंगल घटना: ६ वर्षे रियानले दिए दागबत्ती, छोराबुहारी गुमाएका हजुरबाको जल्यो मन !

काठमाडौं । ६ वर्षे अबोध बालक, आफ्ना बाबुआमासँग रमाउने बेला तर, रियान माझी पशुपति आर्यघाटमा आफ्ना बाबुआमाका शव अगाडि उभिएका थिए ।

पुजारीले दागबत्ती दिनुपर्ने विधि सम्झाए । शव जनाउने तयारी भयो । दाहसंस्कारको पालो थियो । ५५ वर्षीय कच्छु माझीले नाति रियानलाई कपासको बत्ती बालेर दिए । अगाडि लडिरहेका आफ्नो बुबाआमाको मुखमा राख्न भने ।

रियानले आफ्ना साना हात पछाडि तान्दै रुँदै भन्यो, ‘अहँ मेरो ड्याडी ममुलाई पोल्छ हुँदैन।’

कच्छुका आँखा भरिए । भित्रभित्रै मन जलेर खाग भइसकेको थियो । आँसु रोक्दै कच्छुले भने, ‘बाबु, तिमीले यो गर्नैपर्छ । यो हाम्रो संस्कार हो । तिमीले दागबत्ती देउ ।’

रियानका सानो हात समाएर हजुबाले छोरा रमेश, बुहारी शर्मिला शवको मुखमा आगो झोसे । ‘नाइँ, मेरो ड्याडी ममीलाई पोल्छ,’ भन्दै रियान जोडले रुन थाले ।

‘ड्याडी, मम्मी कहिले उठ्नुहुन्छ ?’ रियानको अबोध प्रश्नले मलामी सबैलाई स्तब्ध बनायो ।

कच्छुले पनि कहाँ मन थाम्न सकेका थिएनन् । ‘छोरा, तिमीले त मभन्दा पहिले जाने निर्णय लियौँ । तर, मैले तिम्रो चिताको अगाडि उभिने कल्पना कहिल्यै गरेको थिइनँ,’ कच्छुको आँसु पुछ्नै नसकिने गरी बग्यो ।

कच्छुकी पत्नी अघि नै भूँइमा ढलिसकेकी थिइन् । आफन्तले सम्हाल्दै थिए । दागबत्ती दिएपछि शवलाई अगाडि रहेको विद्युतीय शवदाह भट्टीमा गुडाएर पठाइयो ।

हिन्दु परम्परा अनुसार नै विद्युत् शव दाहगृहमा अन्तिम संस्कार गर्न मिल्ने व्यवस्था छ । सोही अनुसार कच्छुले छोरा बुहारीलाई बिदाइ गरेका थिए ।

सपनाको महल ढलाउने त्यो फोन

आइतबार बिहान मात्र सुनसरीको दुहबीबाट काठमाडौंसम्मको यात्रा गरेका ५५ वर्षीय कच्छु माझीका लागि यात्रा जति लामो थियो, त्यसभन्दा धेरै गहिरो चोट थियो ।

उनी सधैँ गर्व गर्थे, छोराले विदेशमा राम्रो पढाई सक्यो, बुहारीलाई पनि साथमा लिएर गएको छ । तर, आइतबार बिहान ८ बजे आएको एउटा फोनले उनको जीवनभरको गर्वलाई धुलोमा मिलाइदियो ।

समुदायमा पछि पारिएको माझी जाति । छोरा रमेशले उच्च अंक ल्याएर मास्टर्स गरेका थिए । ‘छोराबुहारी क्यानडामा पौरख गरिरहेका छन् । बाउबाजेदेखि मेरो पुर्खाले यहाँबाट अन्त जान सकेन । धन्य मेरो छोरा’ भन्दै कच्छु गर्व गर्थे ।

तर, आज उनैलाई दुनियाँकै सबैभन्दा कमजोर मानिस बनाइदियो ।

‘तपाईँको छोराबुहारीको लास फेला परेको छ । लास बुझ्न छिटो आइहाल्नुस्’ गौशालाबाट आएको यो फोनको अर्थ बुझ्नै कठिन भयो ।

सुरुमा ‘गलत फोन नम्बर परेको’ र आफू सम्बन्धित मानिस नभएको भन्दै प्रहरीलाई जवाफ फर्काए । कच्छुले जवाफ फर्काए, ‘मेरा छोरा बुहारी क्यानडा छन् । तपाईँले गलत नम्बरमा फोन गर्नुभयो ।’

२ वर्षअघि छोराबुहारी र नातीसँग कच्छु माझी दम्पती

सिनामंगलस्थित जन्मभूमि होटलको बरन्डामा आइतबार मृत भेटिएका थिए, एक दम्पती ।

पासर्पाेट हेर्दा परिचय खुल्यो, सुनसरीको दुहबी ८ का ३४ वर्षीय रमेश माझी र उनकी २९ बर्सिया श्रीमती शर्मिला रहेछन् ।

प्रहरीले उनीहरूको मृतकको बुबाको नाम र पासर्पाेटको परिचयसहित कच्छुलाई जानकारी गराएको थियो । त्यो वाक्यले कच्छु छाँगाबाट खसे झैँ भए । सपनाहरू भत्कायो ।

छिमेकीले सान्त्वना दिए । उनि आठदशजना छिकेकी जम्मा गरेर काठमाडौं आए । कच्छुले लिएर आएका थिए, छ वर्षे नाति रियान पनि । त्यो नाति जसले केही बुझ्दैनथ्यो—के भइरहेको छ ।

विदेशको सपना, घरको रहर

रमेश र शर्मिलाले दुई वर्षअघि क्यानडा जाने बेलामा त्यो बेलामा ४ वर्षे रियानलाई सुनसरीमै आमाबाबुका जिम्मा लगाएका थिए ।

‘क्यानडा गएर गएर राम्रो कमाइ गरेर फर्किन्छौँ हामी । सबैको भविष्य बनाउनेछौँ, पैसा पठाउछौँ, तपाई ठुलो घर बनाउनुस् ।’ तर त्यो सबैको भविष्य बनाउने सपना अब कहिल्यै पूरा हुने भएन ।

आइतबार घटनास्थल सिनामंगल पुगेका आफन्त र प्रहरीको नजरले देखेको दृश्य कहिल्यै बिर्सन सक्दैन ।

होटलको बरन्डाको रेलिङमा झुन्डिएको रमेशको जोडी, झट्ट हेर्दा आत्महत्या जस्तै लाग्ने दृश्य ।

रमेशको हातमा देखिएको घाउ, अनि घटनास्थलमा नभेटिएको सुसाइ नोटले पनि अनुसन्धान थप जटिल बनाएको छ । घटनास्थल देखेपछि आफन्तहरू भन्थे, ‘यो आत्महत्या नै हो कि ? अरू केही छ ?’

आफन्त आएर हेरेपछि घटनास्थल मुचुल्का गर्दै आइतबार शिक्षण अस्पतालमा शवको पोष्टमार्टम गरियो । रिपोर्ट भने सार्वजनिक हुन बाँकी छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । तर, रमेशको हातमा धारिलो हतियारले काटेको चोट देखिएको आफन्तले बताएका छन् ।

आफन्त भन्छन्, ‘केटाको हातमा चोट पनि थियो । अनि केटाकेटी दुवैजना झुन्डिएको देखिएको छ ।’

अनुसन्धानको क्रममा खुल्यो, रमेश र श्रीमती शर्मिला शनिबार नै क्यानडाबाट आएका थिए । आएलगतै बसेको होटेलमै मृत भेटिए । तर, नेपाल आउँदै गरेको खबर नपाएको सुनसरीबाट काठमाडौं आइपुगेका उनका बुबा कच्छु बताउँछन् ।

परिवारलाई थाहै नदिई नेपाल आएका दम्पतीको मृत्युले घटना रहस्यमय बनेको छ ।

कच्छु भन्छन्, ‘छोरा बुहारीसँग कुरा नभएको एक हप्ता जति भइसकेको थियो । उनीहरूले नेपाल आउने कुनै गरेका थिएनन् । एक्कासि हिजो प्रहरीले घटनाबारे बताएपछि छाँगाबाट खसेको जस्तो थियौँ ।’

दुवही ८ का वडाअध्यक्ष तारिकचन्द सरदार पनि रमेश दम्पती मृत भेटिएपछि झसङ्ग भएको बताउँछन् ।

उनी भन्छन्, ‘माझी समुदायको अगुवा मान्छे थियो । यो ठाउँमा त्यो समुदायबाट त्यत्तिमाथि कोही गएकै छैन । त्यत्रो लक्ष्य लिएर क्यानडा गएको मान्छेका त्यो घटना सुन्दा पत्याउनै सकिएन ।’

***

मृतक दम्पतीले २ वर्षअघि २०८९ भदौ ८ गते क्यानडा जाँदा ४ वर्षीय छोरा बाबुआमाको साथमा सुनसरीमै छाडेर गएका थिए । रमेश पढाई सकेर अलि अघि क्यानडा गएका थिए ।

उनी २ वर्षअघि नेपाल आएर पत्नी शर्मिलालाई डिपेन्डेन्ट भिसामा लगेका थिए । छोरा रिहान भने सानै रहेका कारण लगेनन् ।

परिवार भन्छन्, ‘छोरा विदेश जाँदा केही जग्गा जमिन बेचेर खर्च जुटाएका थियौँ । ऋण भने केही लिनु परेन । घर राम्रै चलिरहेको थियो । छोरा बुहारीसँग फोनमा नियमित कुरा भइरहेको थियो । तर के भयो, कसरी आकस्मिक नेपाल आएँ ? कसरी मृत्यु भयो केही सोच्ने सकिएको छैन ।’

घटनास्थलमा कुनै सुसाइड नोट समेत फेला नपरेकाले घटनाको यकिन कारण भने खुल्न सकेको छैन । उनीहरूको पासर्पाेट हेर्दा थाहा भयो, अघिल्लो दिन शनिबार मात्रै क्यानडाबाट काठमाडौं फर्केका रहेछन् ।

घटनाको जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ । फरेन्सिक विज्ञसहितको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

क्यानडाबाट फर्किएर ‘आत्महत्या’

सिनामंगलको जन्मभूमि नामको होटलमा शनिबार साँझ साढे ७ बजेतिर समयमा रमेश दम्पती पुगेका थिए । होटलको चौथो तलाको १२० नम्बर कोठा बुक गरेर उनीहरू बसे ।

उनीहरूले भोलिपल्ट आइतबार बिहानसम्म ढोका खोलेनन् । केही पनि अर्डर गरेनन् । त्यसपछि शंका लागेर होटलवालाले तलबाट उनीहरूको कोठातिर हेर्दा बरन्डाको रेलिङमा कोही झुन्डिएको जस्तो देखे । फोन गर्दा उठेन । माथि गएर ढोकामा ढकढक गर्दा ढोका खुलेन, कोही बोलेन ।

पछि प्रहरी बोलाइयो । ढोका फोडेर हेर्दा होटलको बरन्डाको रेलिङमा कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरू मृत भेटिए ।

उनीहरु ‘थारु माझी’ हुन् । थारुको पहिरन सेतो सल (गोनिया) लिएर आएका रहेछन् । त्यही गोनिया (सेतो कपडाको सल)ले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा दुवै जनाको शव भेटिएको थियो ।

त्यसपछि परिवारलाई खबर गरिएको थियो । यसरी विदेशी भविष्यको खोजीमा गएको परिवारको कथा, अब बिछोड र पीडाको सम्झनामा सीमित रह्यो ।

सम्बन्धित समाचार

सिनामंगलको गेष्टहाउसमा युवायुवतीको रहस्यमय ढंगले मृत्यु

क्यानडाबाट फर्किएका थिए सिनामंगलको गेष्टहाउसमा मृत भेटिएका जोडी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register