स्वयम् हेरचाह तालिमले बन्दैछ दैनिकी सहज

सन्तोष शर्माझापा, १२ मंसिर । झापाको झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश करिब तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुनुहुन्छ । उहाँको खुट्टाको घुँडादेखि मुनीको भाग सुन्निएको छ । दुई दिने स्वयम् हेरचाह तालिम लिएपछि उहाँको दैनिकी केही सहज बन्दै गएको छ । सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उहाँलाई स्वयम् हेरचाह तालिम दिएपछि आफ्नो स्याहार [...] The post स्वयम् हेरचाह तालिमले बन्दैछ दैनिकी सहज appeared first on Jhapa Online.

Nov 27, 2024 - 04:36
 0
स्वयम् हेरचाह तालिमले बन्दैछ दैनिकी सहज

सन्तोष शर्मा
झापा, १२ मंसिर ।
झापाको झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश करिब तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुनुहुन्छ । उहाँको खुट्टाको घुँडादेखि मुनीको भाग सुन्निएको छ । दुई दिने स्वयम् हेरचाह तालिम लिएपछि उहाँको दैनिकी केही सहज बन्दै गएको छ ।

सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उहाँलाई स्वयम् हेरचाह तालिम दिएपछि आफ्नो स्याहार आफैँ गर्न सक्ने हुनुभएको छ । “२५–३० वर्ष भयो रोग लागेको”, बाटाको पानीमा दुवै खुट्टा डुबाएर सरसफाइ गर्न बस्नुभएकी उहाँले भन्नुभयो, “खुट्टा कसरी सफा गर्ने थाहा भएको छ ।”

उहाँजस्तै हात्तीपाइले रोगपीडित झापा गाउँपालिका–५ पन्थापाडाकी बिनादेवी गणेशलाई अहिले उठबस गर्न समस्या हुन्छ । स्वयम् हेरचार तालिम लिएपछि आफ्नो दैनिकी केही सहज भएको उहाँको अनुभव छ । आफूलाई शौचालय जान–आउन असहज भएको बताएपछि उहाँलाई ‘ट्वाइलेट चियर’ समेत प्रदान गरिएको छ ।

झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपाने हात्तीपाइले रोगले सुन्निएको ठाउँको उचित सरसफाइ हुनुपर्ने बताउनुहुन्छ । “रोग प्रभावित अंगलाई थप बिग्रिन नदिन उचित सरसफाइ हुनु पर्छ”, उहाँले भन्नुभयो, “हात्तीपाइले रोगीलाई वर्षमा एक–दुई पटक धेरै ज्वरो आउँछ, त्यसलाई यसले रोक्न मद्दत गर्छ ।”

तालिमसँगै हात्तीपाइले र कुष्ठरोगीको मागको आधारमा सहायक समग्री प्रदान गर्ने गरिएको करुणा फाउण्डेशनका कार्यक्रम अधिकृत अंकित पाठकले बताउनुभयो । “हात्तीपाइले रोगीलाई दुई दिने स्वयम् हेरचाह तालिम दिने गरिएको छ”, उहाँले भन्नुभयो, “माग अनुसार सहायक सामग्री पनि दिन्छौं ।”

करुणा फाण्डेशनमार्फत् सन् २०२२ देखि हालसम्म तीन सय ८७ जनालाई स्वयम् हेरचाह तालिम, एक सय २३ जनालाई आय आर्जन तालिम, एक सय ५५ जनालाई सहायक सामग्री, ४८ जनालाई उपचारमा सहयोग र १६ जनालाई रू १२ हजारका दरले व्यवसायका लागि बिऊ पँुजी प्रदान गरिएको कार्यक्रम अधिकृत अंकित पाठकले जानकारी दिनुभयो ।

सहारा नेपालको विश्वास परियोजनाका कार्यक्रम संयोजक पवन राईले परियोजना अन्तरगत झापाका १० वटा पालिकामा १० प्रकारका उपेक्षित उष्णप्रदेशीय रोगहरु कुष्ठरोग, हात्तीपाइले, जुकाहरु, डेंगी र चिकनगुनिया, कलाजार, सर्पदंश, रेबिज, लुतो, फित्तेजुका र खस्रेको क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।

“मुलुकबाट यी रोग निवारणका लागि सरकारले तय गरेको लक्ष्यमा पुग्न सहयोगी काम गरिरहेका छौं”, उहाँले भन्नुभयो, “स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य भइरहेको छ ।” परियोजनामार्फत् सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने कार्यहरु भइरहेको उहाँले बताउनुभयो ।

विपन्न समुदायमा यी रोगहरु बढी मात्रामा देखिएको कार्यक्रम संयोजक राईले सरकारले उनीहरुको स्वास्थ्य बीमा गर्नुपर्नेमा जोड दिनुभयो । “सरकारले हात्तीपाइले र कुष्ठरोगीको स्वास्थ्य बिमा गरे राम्रो हुने थियो”, पैसा नहुँदा उपचार नगरी रोग पालेर बस्न बाध्य भएको बताउँदै उहाँले भन्नुभयो, “हात्तीपाइले र कुष्ठरोगका कारण अंगभंग भएकाहरुलाई सरकारले अपाङ्गताको परिचय पत्र दिइएको छैन, उनीहरुलाई पनि परिचय पत्र दिनुपर्छ ।”

विश्वास परियोजना अन्तरगत ३६ जना कुष्ठ तथा हात्तीपाइले रोगीलाई आयआर्जन तालिम, ३९ जनालाई सहायक सामग्री, १९ जनालाई उपचारमा सहयोग, चार सय २७ जना स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि, पाँच सय ३५ जना महिला स्वास्थ्य स्वयम्सेविकाको क्षमता अभिबृद्धि, सात जना स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम, छ जना स्वास्थ्यकर्मीलाई प्रयोगशालाको तालिम, दमकमा एनटीडी रेफरल रेन्टर स्थापना, छ जना नर्सिङ कर्मचारीलाई एसबीएन तालिम लगायत गरिएको छ ।

परियोजना शुरु भएपछि झापा गाउँपालिकामा कुष्ठरोगीको संख्या घटेको छ । पाँच वर्ष १९ जना कुष्ठरोगी फेला परेकामा सो संख्या घटेर चार जनामा झरेको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

झापा गाउँपालिका जिल्लामा सबैभन्दा धेरै हात्तीपाइले रोग प्रभावित क्षेत्र हो । यहाँ १६९ जना हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् । यो पालिकाको पनि सबैभन्दा बढी हात्तीपाइले रोग प्रभावित स्थान पन्थापाडा हो । यहाँ हाल २५ जना हात्तीपाइले रोगी छन् ।

झापामा नयाँ तथा पुराना गरी हाल दुई हजार तीन सय तीन जना हात्तीपाइले रोगी छन् । जसमध्ये लिम्फोडिमा भएका आठ सय ४७, हाइड्रोसिलका एक हजार तीन सय ५६ र दुवै भएका ७१ जना छन् ।

The post स्वयम् हेरचाह तालिमले बन्दैछ दैनिकी सहज appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register