इसेवामा हप्तामा तीन पटक समस्या, करोडौँ जोखिममा, कर्णालीजस्तै समस्याग्रस्त घोषणा गर्न माग

काठमाडौँ । इसेवा वालेटको सिस्टममा एक हप्तामै तीनतीन पटक समस्या देखिएको छ । डिसेम्बर २१ (पुष ६ गते) देखि डिसेम्बर २६ (पुष १२ गते)सम्म इसेवा वालेटमा तीन पटक समस्या देखिएको हो । यो हप्तामा पहिलो पटक इसेवामा पुष ६ गते (शनिबार) समस्या देखिएको थियो । शनिबार इसेवाबाट पेमेन्ट नहुने, पेमेन्ट भए पनि पैसा नदेखाउने, क्युआर […]

Dec 27, 2024 - 04:14
 0
इसेवामा हप्तामा तीन पटक समस्या, करोडौँ जोखिममा, कर्णालीजस्तै समस्याग्रस्त घोषणा गर्न माग

काठमाडौँ । इसेवा वालेटको सिस्टममा एक हप्तामै तीनतीन पटक समस्या देखिएको छ । डिसेम्बर २१ (पुष ६ गते) देखि डिसेम्बर २६ (पुष १२ गते)सम्म इसेवा वालेटमा तीन पटक समस्या देखिएको हो ।

यो हप्तामा पहिलो पटक इसेवामा पुष ६ गते (शनिबार) समस्या देखिएको थियो । शनिबार इसेवाबाट पेमेन्ट नहुने, पेमेन्ट भए पनि पैसा नदेखाउने, क्युआर स्क्यान नहुने लगायतका समस्या देखिएको थियो । ग्राहकको व्यापक गुनासोपछि इसेवाले सामाजिक सञ्जाल फेसबुकमा सूचना नै जारी गर्दै फोनपेले डिजास्टर रिकभरी ड्रिल सम्बन्धी कार्य गर्ने भएकाले फोनपेका सबै सेवा र अस्थायी रुपमा इसेवाको क्युआर पेमेन्ट पनि नहुने जानकारी गराएको थियो ।

त्यसपछि इसेवमा पुनः पुष ८ गते (सोमबार) समस्या देखियो । त्यसबेला पनि इसेवाले सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्दै प्राविधिक कारणले इसेवाको विभिन्न सेवा अस्थायी रुपमा अवरुद्ध भएको जानकारी गराएको थियो ।

दिनहुँजसो समस्या देखिइरहेको इसेवामा पुष ११ गते (बिहीबार) पुनः समस्या देखिएको थियो । बिहीबार इसेवामा कारोबार नहुने, भएको पैसा पनि नदेखाउने र विभिन्न अप्सनहरुले काम नगर्ने समस्या देखिएको थियो । लगत्तै इसेवाले फेरि पनि सेवा अवरुद्ध हुनुमा प्राविधिक कारण देखाउँदै पन्छिने काम गर्यो । इसेवाले प्राविधिक कठिनाईका कारण सेवाहरु अस्थायी रुपमा अवरुद्ध भएको सूचना फेसबुकमार्फत सेयर गरेको छ । अझ इसेवाले सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाको लागि क्षमासमेत मागेको छ ।

नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएर पनि प्रयाप्त नियमन नगर्दा इसेवाका प्रयोगकर्ताहरुले दुःख पाइरहेका छन् । अझ यो हप्ता इसेवामा तीनतीनपटक समस्या देखिएपछि इसेवाका प्रयोगकर्ताले दुःख मात्र पाएका छैनन् बरु कर्णाली डेभलपमेन्ट बैंकलाईजस्तै समस्याग्रस्त घोषणा गर्न पनि माग गरेका छन् ।

यसो त इसेवामा यो भन्दा अघि थुप्रै पटक यस्ता समस्या देखिइसकेका छन् । तर, हरेक पटक इसेवा प्राविधिक समस्या भन्दै पन्छिदै आएको छ । केही समयअघि इसेवामा मालवेयर अट्याक भएको विषय पनि बाहिरिएको थियो । हाल इसेवा वालेटमै समस्या देखिँदा इसेवामा लिंक भएका बैंक खाताहरुमासमेत समस्या देखिएपछि कतै इसेवामा ठूलै समस्या त छैन ? भन्ने प्रश्न गम्भीर बनेको छ । यसरी पटकपटक सिस्टममा समस्या देखिनु र बेलाबेलामा मालवेयर अट्याक भएका खबरहरुले इसेवा प्रयोगकर्ताको करोडौँ रकम जोखिममा रहेको शंकालाई थप बल दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register