बैंकको सफ्टवेयर बनाउने कम्पनीकै खाताबाट साढे ३ करोड ‘चोरी’, २४ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं । सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने ‘एफवान सफ्ट कम्पनी’को बैङ्क खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेको घटनामा २४ जनाविरूद्ध मुद्दा दायर भएको छ । कम्पनीको सिटिजन्स् बैङ्कको खातामा रहेको रकम अनलाइन बैङ्किङ प्रणाली ह्याकिङ गरी पैसा चोरी भएको घटनामा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको […]

Jan 3, 2025 - 12:32
 0
बैंकको सफ्टवेयर बनाउने कम्पनीकै खाताबाट साढे ३ करोड ‘चोरी’, २४ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं । सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने ‘एफवान सफ्ट कम्पनी’को बैङ्क खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेको घटनामा २४ जनाविरूद्ध मुद्दा दायर भएको छ ।

कम्पनीको सिटिजन्स् बैङ्कको खातामा रहेको रकम अनलाइन बैङ्किङ प्रणाली ह्याकिङ गरी पैसा चोरी भएको घटनामा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार २४ जनालाई प्रतिवादी बनाएर जिल्ला मुद्दा दायर गरेको छ । अहिले ९ जना मात्रै प्रहरीको नियन्त्रणमा छन् । १५ जना फरार छन् ।

पक्राउ पर्नेमा ललितपुरका ४० वर्षीय त्रिगुण रत्न बज्राचार्य, सिराहाका २० वर्षीय राहुल ठाकुर, १९ वर्षीय पुरुषोत्तम साह, सप्तरीका २१ वर्षीय कृष्ण रमण राउत, ३१ वर्षीय सञ्जीव कुमार शर्मा र उदयपुरका कमल थापा मगर छन् ।

त्यस्तै, उदयपुरकै दीपक थापा मगर, सुनसरीका २४ वर्षीय सन्देश राई र सुनसरीकै सागरकुमार साहलाई प्रतिवादी बनाइएको हो । उनीहरूमध्ये केहीबाहेक १८ देखि २४ वर्ष उमेर समूहका छन् ।

एफ–वान इन्टरनेशनल प्रालि कम्पनीबाट कसैको जानकारीबिना गत अक्टोबर १ देखि अक्टोबर ४ सम्म पटक–पटक गरी ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ ९० पैसा झिकिएको थियो ।

‘अनधिकृत’ रूपमा खाताबाट निकालिएको भन्दै गत असोज २० गते कम्पनीको तर्फबाट धिरजकुमार भुजेलले जाहेरी दिएका थिए । सरकारी वकिलको अभियोग पत्रमा कसरी अनधिकृत रूपमा पहुँच पुर्‍याएर रकम झिकिएको भन्ने खुलेको छैन ।

सन् २०२४ अक्टोबर १, २, ३, र ४ तारिखमा एफ–वान इन्टरनेशनल प्रालि कम्पनीको खाताबाट विभिन्न व्यक्तिहरूको खातामा पैसा रकमान्तर भएको थियो ।

‘राहुल ठाकुरसमेतका विपक्षीहरूको खातामा रकमान्तर गरी निजहरूले रकम झिकिलिएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरी रकमान्तर गरिलिएको सम्पूर्ण रकमसमेत निज विपक्षीहरूबाट दिलाई भराइपाउँ’, कम्पनीले दिएको उजुरीमा उल्लेख छ ।

कम्पनीको खाताबाट चोरी भएको पैसा नेपालमै विभिन्न व्यक्तिको खातामा लगेको देखिएको छ । एफवान सफ्टले फोन पे र ईसेवा जस्ता वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्दै आएको छ ।

अहिले प्रतिवादी बनाइएकाहरूको पनि रकम ट्रान्सफर गर्नका लागि खाता प्रयोग भएको देखिएको उनले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरू १२ कक्षा पढ्ने विद्यार्थीदेखि पसलमा काम गर्नेसम्मका छन् ।

‘अहिले पक्राउ परेका प्रविधिबारे धेरै ज्ञान भएका व्यक्ति छैनन् । उनीहरूको नागरिकता दुरुपयोग गरेर बैङ्क खाता खोलेर ह्याकरले पैसा झिकेको हुनसक्ने देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।

कर्पोरेट बैङ्किङ प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याएर खाताबाट रकम चोरी भएको घटना सम्भवत: पहिलो हो । बैङ्क खाता कसरी ह्याकिङ भयो भन्नेमा प्रहरी, बैङ्क तथा सो कम्पनीका अधिकारी तीन महिनासम्म अन्योलमा छन् ।

यस्तो खालको बैङ्किङ ह्याकिङ नयाँ खालको भएकाले समग्र बैङ्किङ क्षेत्रकै लागि समेत चुनौती बनेको छ । ह्याकिङ कसरी भयो भन्नेमा अझै पत्ता लगाउन नसकिएको प्रहरी स्रोत बताउँछ ।

प्रतिवादी बनाइएका राहुल ठाकुर गोलबजार-१० डण्डाटोलमा फलामको औजार बनाउने पसलमा काम गर्छन् । तीन महिनाअघि उनलाई आफ्ना साथी पुरुषोत्तमले बैङ्क खाता नम्बर मागेको बयान दिएका छन् ।

पुरुषोत्तमले भनेपछि उनले बैङ्क खाता र मोबाइल बैङ्किङ खोलेका थिए । मोबाइल बैङ्किङ खाता भने पुरुषोत्तमले दिएको नम्बरअनुसार चलाएका थिए । त्यसरी नै अरू दुई वटा खाता खोल्न लगाएर प्रयोग गर्न दिएको अभियोग पत्रमा उल्लेख छ ।

राहुलले प्रहरीलाई दिएको बयानमा आफूले कुनै रकम नपाएको भनेका छन् । तर उनको खातामा पटक–पटक गरी आठ लाख ४५ रुपैयाँ जम्मा भएको अनुसन्धानमा देखिएको हो ।

पुरुषोत्तमले पनि प्रहरीलाई दिएको बयानमा आफ्ना अर्का साथी अविनाशले सेयर कारोबार गर्नका लागि बैङ्क खाता चाहिएको भन्दै माग गरेको बताएका छन् । अविनाश भने फरार छन् । पुरुषोत्तम भने कक्षा १२ मा पढिरहेका विद्यार्थी हुन् ।

अन्यलाई भने जागिर दिने प्रलोभनमा पारेको पनि देखिएको छ । जागिरकै नाममा बैङ्क खाता प्रयोग गरी एकबाट अर्को खातामा रकमान्तर गरेको देखिएको हो ।

उनीहरूमाथि मुलुकी अपराधसंहिता २०७४ अनुसार ठगी गर्न नहुने कसुरमा सजायको मागदाबी गरेको छ ।

प्रतिवादीमध्ये एक राहुल ठाकुरको बयान

अर्का प्रतिवादी पुरुषोत्तम साहको बयान

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register