मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने

चितवन । मुग्लिन–मलेखु सडक स्तरोन्नतिका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतिको काम गरिएका थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर विजय दराईकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो । सो समयमा दिउँसो […]

Jan 9, 2025 - 07:48
 0
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने

चितवन । मुग्लिन–मलेखु सडक स्तरोन्नतिका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतिको काम गरिएका थियो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर विजय दराईकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो । सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको बिशालटार, खटौटी लगायतका क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो ।

उनले भने, ‘अहिले सवारी नरोकेरै हामीले काम गरिरहेका छौँ ।’

निर्माण कम्पनीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म २० प्रतिशत मात्र काम भएको जनाइएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । कुरिनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सववेसको काम भइरहेको छ ।

मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तारको काम भइरहेको हो । निकै साघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँमा दुई लेन अर्थात नौ मिटर फराकिलो सडक बनाइँदै छ । उकालो ठाउँहहरूमा तीन लेन अर्थात १२ मिटरको हुने छ । झण्डै एक दशमलब ५ किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ ।

बजार क्षेत्र कुरिनटार, चरौदी, बिशालटार, चुम्लिङ्टार, मझिमटारलगायतका करिब ६ किलोमिटर क्षेत्रमा चार लेन अर्थात १८ मिटर फराकीलो सडक बनाइँदै छ । मुग्लिन, बेनिघाट र मलेखु बजारमा छ लेन अर्थात २६ मिटर फराकिलो सडक बनाइँदै छ । एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा बिभाजन गरेर स्तरोन्नतीको काम गरिएको हो ।

बिश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो । निर्माण कम्पनीले चार अर्ब ८० करोड रपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । संघीय राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चाप रहेको छ । समयमा काम नहुँदा सो सडक हुँदै यात्रा गर्ने यात्रुले कठिनाइ भोग्नु परेको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register