कैलालीमा माघीको रौनक

घोडाघोडी । कैलालीका विभिन्न स्थानमा सोमबारदेखि नै माघे सङ्क्रान्ति (माघी) पर्वको रौनक सुरु भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् । थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसो भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन् । पुसको अन्तिम दिनदेखि […]

Jan 14, 2025 - 02:02
 0
कैलालीमा माघीको रौनक

घोडाघोडी । कैलालीका विभिन्न स्थानमा सोमबारदेखि नै माघे सङ्क्रान्ति (माघी) पर्वको रौनक सुरु भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् ।

थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसो भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन् ।

पुसको अन्तिम दिनदेखि माघी सुरु हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले बताए । उनका अनुसार पुसको अन्तिम दिन हरेक थारू बस्तीमा सामूहिक सुँगुर, बङ्गुर काटिने प्रचलन छ । यसलाई ‘जिता’ मार्ने भनिन्छ ।

पर्वसँगै थारू समुदायमा बरघर, भलमन्सा, चिराकी, चौकीदार फेरबदल गर्ने वा पुरानालाई राख्ने भन्नेबारे छलफल सुरु भइसकेको चौधरीले जानकारी दिए । ‘गाउँघरमा आगोको मुढाहरू ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतहरू पनि गाइने गरिन्छ । पुसको अन्तिम दिन रातभरि आगो तापेर आज (मङ्गलबार) बिहानै स्नान गर्ने प्रचलन छ,’ उनले भने ।

अध्यक्ष चौधरीका अनुसार आज नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्ना आफन्त, इष्टमित्रलाई भेटघाट गर्ने, ठूलाबाट आर्शीवाद लिने र सानालाई आर्शीवाद दिने प्रचलन रहिआएको छ । माघेसङ्क्रान्तिका दिन नुहाउनाले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको उनले बताए ।

पर्वको अवसरमा कैलालीका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना हुन्छन् । घोडाघोडी नगरपालिकास्थित बुट्का बाबा मन्दिरमा माघी मेलाको आयोजना गरिएको छ । ‘भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिकस्थल बुटका बाबाको संरक्षण’ भन्ने मूल नाराका साथ माघेसङ्क्रान्ति तीर्थ मेला सुरु भएको मेला व्यवस्थापन समितिका संयोजक रामबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार गत पुस २९ गतेदेखि सुरु भएको मेला यही माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै थारू संस्कृति झल्कने परम्परागत नृत्य, वेषभूषा तथा खानाको प्रदर्शन गरिनेछ । बुटका बाबा मेला भर्न कैलाली जिल्लासहित बर्दिया, दाङ, कञ्चनपुरबाट हजारौँ मानिस आउनुका साथै भारतको तिकुनिया, पलियालगायत ठाउँबाट भारतीय नागरिक आउने उनले जानकारी दिए ।

बुटका बाबा मन्दिरको पौराणिक किंवदन्तीअनुसार भगवान् शिवको शक्तिपिठका रूपमा रहेको बुट्का बाबा मन्दिरमा माघ महिनामा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने मन्दिरका पुजारी रोमन दासले बताए ।

यसैगरी आजै जिल्लाको गौरीगङ्गास्थित नुक्लीपुर घरबास ‘होमस्टे’मा मघौटा नाचका साथै घैँटो फोर कार्यक्रमको आयोजना गरिएको घरबास सञ्चालक दिनेश दहितले जानकारी दिए । कैलालीको बर्दगोरिया धाममा पनि माघी मेलाको आयोजना गरिएको छ । जिल्ला धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने स्थानमा मेलाको आयोजना गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register