च्याम्पियन्स लिग : समग्रमा म्यानचेस्टर सिटी हाबी, पछिल्लो समय रियल म्याड्रिड

काठमाडौं । विश्व क्लब फुटबलका दुई महारथी रियल म्याड्रिड र म्यानचेस्टर सिटीमध्ये एक युरोपियन च्याम्पियन्स लिगको प्लेअफ चरणबाटै बाहिरिने निश्चित भएको छ । हालै भएको प्रतियोगिताको ड्रबाट यी दुई क्लब प्लेअफ चरणमै एकअर्काविरुद्ध भिड्ने निश्चित भएको थियो । यसले गर्दा क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित मानिने च्याम्पियन्सको रोमाञ्चकता थपेको छ । आगामी फेब्रुअरी १२ र २० […]

Feb 2, 2025 - 03:18
 0
च्याम्पियन्स लिग : समग्रमा म्यानचेस्टर सिटी हाबी, पछिल्लो समय रियल म्याड्रिड

काठमाडौं । विश्व क्लब फुटबलका दुई महारथी रियल म्याड्रिड र म्यानचेस्टर सिटीमध्ये एक युरोपियन च्याम्पियन्स लिगको प्लेअफ चरणबाटै बाहिरिने निश्चित भएको छ । हालै भएको प्रतियोगिताको ड्रबाट यी दुई क्लब प्लेअफ चरणमै एकअर्काविरुद्ध भिड्ने निश्चित भएको थियो । यसले गर्दा क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित मानिने च्याम्पियन्सको रोमाञ्चकता थपेको छ ।

आगामी फेब्रुअरी १२ र २० मा हुने यस खेलको विजेता अन्तिम १६ मा पुग्नेछ । पहिलो लेग सिटीको घरेलु मैदान तथा दोस्रो रियलको मैदानमा खेल हुनेछ । च्याम्यिन्स लिगका खेलमा विगतमा इंग्लिस क्लब सिटी रियलमाथि थोरै हाबी छ । यी दुईबीच आलसम्म १२ वटा खेल भएका छन् । जसमा सिटीले चार खेल जित्दा रियलले तीन खेल जितेको छ । पाँच खेल भने बराबरीमा सकिएका छन् ।

पछिल्लो समय भने सिटीमाथि रियल हाबी देखिन्छ । पछिल्ला तीन खेलका नतिजामा रियल हाबी देखिएको हो । सन् २०२१–२२ को सेमिफाइनलमा रियलले सिटीलाई समग्रमा ६–५ गोलअन्तरले हराएको थियो ।

पहिलो लेगमा घरेलु मैदानमा सिटीले ४–३ ले हराएको थियो । दोस्रो लेगमा भएको खेलमा भने घरेलु मैदानमा रियलले कमब्याक गरेको थियो । सो खेल रियलले ३–१ ले जितेको थियो । सिटीलाई हराएर फाइनलमा पुगेको रियलले लिभरपुललाई हराएर सो वर्ष उपाधि नै जितेको थियो ।

यस्तै सन् २०२२–२३ मा रियल र सिटीबीच फेरि सेमिफाइनलमै भेट भएको थियो । जहाँ भने सिटी समग्रमा ५–१ गोलअन्तरले विजयी भएको थियो । रियलको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमान भने सिटी ४–० ले विजयी भएको थियो । यो वर्ष इन्टर मिलानलाई हराउँदै सिटीले उपाधि जितेको थियो ।

यसैगरी यी दुई टोलीबीच अघिल्लो संस्करणको प्रतियोगितामा पनि भेट भएको थियो । सो खेलमा रियल पेनाल्टीमा सुटआउटमा विजयी भएको थियो । यी दुईबीचको पहिलो लेग ३–३ तथा दोस्रो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । पहिलो लेग सिटीको मैदान तथा दोस्रो रियलको मैदानमा भएको थियो । यो वर्ष रियलले बोरुसिया डर्टमन्डलाई हराएर उपाधि जितेको थियो ।

सर्वाधिक १५ पल्टको च्याम्पियन रियल र पछिल्ला केही वर्षयता च्याम्पियन्स लिगको दाबेदार मानिँदै आएको सिटीबीचको भिडन्त रोचक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको शुक्रबार निकालिएको ‘ड्र’ अनुसार सेल्टिकले बायर्न म्युनिकसँग भिड्नेछ । अन्य प्लेअफमा ब्रेस्टले पेरिस सेन्ट जर्मेन (पीएसजी), क्लब ब्रुगले एटलान्टना, युभेन्ट्सले पीएसभी आयनहोभन, मोनाकोले बेनफिका, स्पोर्टिङ लिस्वनले बोरुसिया डर्टमुन्ड र फायनउडले एसी मिलानको सामना गर्नेछ ।

नयाँ ढाँचाको प्रतियोगिताअनुसार सहभागी कुल ३६ टिममध्ये शीर्ष आठमा रहेका टिमले स्वतः अन्तिम १६ मा प्रवेश गरेका छन् । यी आठ टिममा लिभरपुल, बार्सिलोना, आर्सनल, इन्टर मिलान, एट्लेटिको म्याड्रिड, बायर लेभरकुजन, लिल र एस्टन भिल्ला रहेका छन् । अंक तालिकाको अन्तिम आठ स्थानमा रहेका टिम भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अंक तालिकाको नवौंदेखि २४ औं स्थानमा रहेका २४ क्लबबीच हुने प्लेअफका लागि अहिलेको ड्र निकालिएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register