कुम्भ मेलाका चार विषयमा विश्व रेकर्ड दाबी

काठमाडौँ । प्रत्येक १२ वर्षपछि भारतको उत्तरप्रदेशमा हुने कुम्भ मेलालाई केन्द्र र प्रदेश सरकारले ठूलै उत्सवका रूपमा लिएका छन् । उत्तर प्रदेशले मेलाका लागि लक्षित गर्दै ७० अर्ब भारतीय रूपैयाँ विभिन्न पूर्वाधार निर्माणमा खर्चिएको थियो । उत्तर प्रदेशको प्रयागराजमा भएको कुम्भ मेलामा विभिन्न गतिविधिलाई आधार मानेर चारवटा विषयमा विश्व रेकर्डको दाबी पेश गर्ने तयारी भएको […]

Feb 4, 2025 - 14:54
 0
कुम्भ मेलाका चार विषयमा विश्व रेकर्ड दाबी

काठमाडौँ । प्रत्येक १२ वर्षपछि भारतको उत्तरप्रदेशमा हुने कुम्भ मेलालाई केन्द्र र प्रदेश सरकारले ठूलै उत्सवका रूपमा लिएका छन् ।

उत्तर प्रदेशले मेलाका लागि लक्षित गर्दै ७० अर्ब भारतीय रूपैयाँ विभिन्न पूर्वाधार निर्माणमा खर्चिएको थियो । उत्तर प्रदेशको प्रयागराजमा भएको कुम्भ मेलामा विभिन्न गतिविधिलाई आधार मानेर चारवटा विषयमा विश्व रेकर्डको दाबी पेश गर्ने तयारी भएको छ ।

कुम्भ मेला विश्वकै ठूलो धार्मिक जमघट रहेको, सबभन्दा ठूलो विद्युतीय सवारीसाधनको परेड, सबभन्दा विशाल सरसफाइ अभियान, सबभन्दा ठूलो नदी सफाइ अभियान र सबभन्दा धेरै हातेछाप चित्र बनेको दाबी गर्दै गिनिज वर्ल्ड रेकर्डमा दाबी पेश गर्ने तयारी भएको हो ।

दाबी पेशका लागि राज्य सरकारले छुट्टै अख्तियारी निकाय गठन गर्ने भएको छ । त्यसले प्रयागराज मेला आयोजक कमिटीसँगको समन्वयमा गिनिज बुकका लागि पहल गर्ने भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

उक्त प्राधिकरणले दाबी पेश गर्न लागिएका हरेक विषयमा गिनीज बुकका टोलीसँग त्यसको मापदण्ड र नियम अन्तर्गत रहेर आवश्यक समन्वय गर्नेछ ।  सहायक जिल्ला मेजिस्ट्रेट विवेक चर्तुवेदीका अनुसार १५ हजार मानिसले धार्मिक क्षेत्रको व्यवस्थित सरसफाइ सम्हालेकाले त्यसलाई रेकर्डका रूपमा पेश गर्न खोजिएको हो ।

यस्तै मेलामा १० हजार विद्युतीय रिक्सा तथा सवारीसाधनको परेड भएकाले मेला पर्यावरणमैत्री तरिकाले आयोजना गरिएको भन्दै रेकर्डका लागि जिकिर पेश गर्न खोजिएको उनले बताए । मेलामा १० हजार सहभागीले हातेछाप चित्र बनाएकाले सहभागीहरूको विविधिता र एकतालाई प्रतिविम्बित गर्ने उक्त चित्रमा रेकर्डको दाबी पेश गर्न लागिएको उनले टाइम्स अफ इण्डियासँग बताएका छन् । साथै, दैनिक ३०० जनाले नदी सरसफाइ गरेकाले त्यसलाई सबभन्दा ठूलो नदी सरसफाइ अभियानका रूपमा विश्व रेकर्डको लागि दाबी पेश गर्न लागिएको चुर्तुवेदीले जानकारी दिएका छन् ।

रेकर्ड लागि आवश्यक प्रमाणिकरणको व्यवस्थित प्रणालीअनुसार काम भइरहेको बताइएको छ । त्यसका लागि विस्तृत कार्यसञ्चालन प्रक्रिया बनाइएको छ । उक्त प्रक्रियाका विषयमा गिनिज बुकका टोलीसँग पनि परामर्श भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारत सरकारले कुम्भ मेलालाई लगानीकर्ता भित्र्याउने मौकाका रूपमा पनि लिएको थियो । त्यसकै लागि प्रदेश सरकारले ७० अर्ब रूपैयाँ पूर्वाधार निर्माणका क्षेत्रमा खर्च गरेको थियो । मेलामा ४० करोडभन्दा बढी सहभागी हुने आकलन गरिएको थियो ।

कुम्भ मेलाका मुख्य दुई पौराणिक किम्वदन्ती 

कुम्भ मेलाका मुख्य दुई पौराणिक किम्वदन्ती छन् । दुबै बैकुण्ठबाट अमृत हरण र समुद्र मन्थनसँग जोडिएका छन् । पहिलो कथाअनुसार ऋषि कश्यपका दुई पत्नी थिए । कद्रु र वनिता । कद्रुले पतिसँग १ हजार सन्तानको माग गरिन् । उनले हजार अण्डा पाइन र ती बाट हजार प्रकारका विषालु सर्प निस्किए । उनी ‘नागमाता’ को नामले प्रख्यात भइन् ।

वनिताले थोरै र सामर्थ्य सन्तानको अपेक्षा गरिन । उनले दुई अण्डा पाइन् । अरुण र गरुड उनका दुई छोरा भए । तर, कद्रुले ईर्ष्यावश वनितालाई छलले दासी बनाइन् । माताको दासमुक्तिका लागि गरुडलाई बैकुण्ठबाट अमृत चोरेर ल्याउन भनियो ।

गरुड बैकुण्ठ गए । भगवान् विष्णुको अगाडिबाट अमृतको घडा उठाएर ल्याए । गरुड आफ्नो बाहन बन्ने शर्तमा विष्णु अमृत घडा दिन राजी भए । जब गरुडले घडा बैकुण्ठबाट लिएर आउँदै थिए, ४ ठाउँमा अमृतको केही थोपा पोखियो । ती ४ स्थानमा कुम्भ स्नान र मेलाको प्रारम्भ भयो ।

दोस्रो कथाअनुसार दैत्य र दानवले समुद्र मन्थन गर्दा निस्किएका १४ रत्नमध्ये एक अमृत घडा थियो । अमृत घडा वैद्यराज धन्वन्तरीको हातमा थियो । तर, जब अमृत कसले खाने भन्ने विषयमा सुर र असुरबीच विवाद भयो, दैत्यराज बलीको एक सेना स्वरभानु घडा खोसेर आकाशमा उड्यो ।

देवराज इन्द्रका छोरा जयन्तसँग पनि आकाशमा उड्ने क्षमता थियो । इन्द्रले जयन्तलाई स्वरभानुबाट अमृत घडा खोस्न आदेश दिए । आकाशमै स्वरभानु र जयन्तबीच अमृत घडा खोसाखोस हुँदा ४ स्थानमा अमृतको थोपा चुहियो । र, ती ४ स्थानमै कुम्भ स्नान र मेला प्रारम्भ भयो । यी दुवै किम्वदन्तीमा कुम्भ स्नान र मेलाको उत्पतिको कथा ‘अमृत घडा’सँग जोडिन्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register